खैरहनी । खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार गरिएको छ ।
गत आर्थिक वर्षको अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ कोरोना भाइरस संक्रमणका कारण आयोजना गर्न नसकिए पनि यस वर्ष भने स्वास्थ्य सुरक्षा अपनाएर कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपस्थित नगरवासीहरुले नदीजन्य पदार्थ तस्करी नियन्त्रण गर्नुपर्ने विषयलाई बढी प्राथमिकता दिए । खैरहनी ८ का बाबा पराजुलीले रातको समयमा तस्करी भइरहेको भन्दै नियन्त्रणका लागि नगरपालिका र प्रहरी प्रशासनले कडाइ गर्नुपर्ने बताए । ‘केही ट्याक्टर व्यवसायीले ट्याक्टर थन्काएर राखेको महिनौँ भइसक्यो’, पराजुलीले भने, – ‘कतिपय रात बिहान चोरीमा सलग्न हुँदासमेत सम्बन्धित निकायले नियन्त्रणको काम गर्न सकेन् ।’
जवाफमा इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले चोरी, तस्करी नियन्त्रणमा प्रहरी एक्लैले नसक्ने भएकाले समाजको पनि भूमिका हुनुपर्ने औँल्याए । तस्करी नियन्त्रणमा निरन्तर काम भइरहे पनि शून्यमा झार्न सक्ने अवस्था छैन’, प्रहरी निरीक्षक मगरले भने – ‘चोरी भएको सूचना नदिने तर नियन्त्रणमा लिँदा छुटाउन सिफासिस गर्ने परिपाटी छ, त्यसलाई हटाउनु पर्छ ।’ नियन्त्रणमा लिइएको सवारी छुटाउन राजनीतिक दलका नेताहरुबाट सिफारिस हुने गरेको उनको भनाइ थियो ।
नदीजन्य पदार्थ चोरीकै विषयमा खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले सबैले जिम्वेवारी लिनु पर्नेमा जोड दिए । प्रहरीबाट पनि सूचना चुहिएका छन्, त्यसलाई सुधार गर्नुपर्छ मेयर चौधरीले भने – ‘नियन्त्रणमा लिएपछि छुटाउन पनि कसैले सिफासिस गर्नु हुँदैन, कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
उपस्थितमध्येका उद्योग संघ खैरहनी इकाइ अध्यक्ष प्रतिभा श्रेष्ठले उद्योगहरुलाई नगरपालिकामा दर्ता गर्न प्रेरित गर्नु पर्ने, उद्योगको विस्तार भइरहेका क्षेत्रमा औद्योगिक कोरिडोर बनाउनुपर्नेमा जोड दिइन् । नेकपा खैरहनी नगर इन्चार्ज हीराबहादुर गुरुङले जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका नगर अध्यक्ष राजकुमार बर्तौला, लक्ष्मण बर्तौला, रामचन्द्र तिवारी, केशवराज भट्टराई, ग्रेट एफएमका अध्यक्ष रामेश्वर रिजाललगायतले आआफ्नो जिज्ञासा तथा सुझाव दिएका थिए । सहभागीहरुले राखेका जिज्ञासाको मेयर चौधरीले जवाफ दिएका थिए । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले नगरपालिकाले प्रथम चौमासिकमा गरेका प्रगति विवरण प्रस्तुत गरे ।
Discussion about this post