आज डिसेम्बर २ अर्थात् अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९४९ देखि यो दिवस मनाइँदै आएको छ । नेपालमा आजभन्दा ९४ वर्षअघि अर्थात् विसं १९८३ मा श्री ३ चन्द्रशमशेर जबराले दासप्रथा उन्मूलन भएको घोषणा गरेका थिए । विश्व एक्काइसौँ शताब्दीमा प्रवेश गरिसक्दा दासदासीको प्रथाको अन्त्य भए पनि त्यसको परिवर्तित स्वरुप भने कायमै रहेको पाइन्छ । अझै पनि बालबालिकालाई जोखिमपूर्ण र गैरकानुनी कार्यमा लगाइने, श्रमिकका रुपमा घरायसी काममा लगाउने, होटल÷लजहरुमा जबर्जस्ती यौन व्यवसायमा लगाइने, मनोरञ्जन क्षेत्रका डिस्को, डान्सबार र दोहोरी साँझहरुमा बालबालिकालाई संलग्न गराउने, यौन शोषण गर्ने, वैदेशिक रोजगारका नाममा मानव तस्करी गर्ने, मानव अङ्गको तस्करी गर्नेजस्ता अनेक स्वरुपहरु अद्यापि कायम छन् । सरकार तथा गैरसरकारी संस्थाले जतिसुकै अभियान चलाए पनि कुनै न कुनै बहानामा गैरमानवीय क्रियाकलाप चलिरहेका छन् । आज पनि अधिकांश होटल÷रेस्टुरेन्टहरुमा कुनै न कुनैरुपमा बालबालिकाको प्रयोग हुँदै आएको छ । कलिला बालबालिकालाई रोजगारका नाममा शोषण गर्ने प्रवृत्ति रोकिएको छैन । आजको दिन यही प्रवृत्तिविरूद्ध आवाज बुलन्द गर्ने विशेष दिन हो ।
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार दुई करोड १८ लाख बालबालिका अझै पनि श्रममा संलग्न छन्, जसमा एक करोड ५२ लाख जोखिमपूर्ण काममा संलग्न छन् । जसमध्ये ७३ लाख बालबालिका १० वर्षमुनिका छन् । नेपालमा प्रतिवर्ष एक लाख बालश्रमिक थपिने गरेको तथ्याङ्क छ । अहिले करिब १६ लाख बालश्रमिक ५ देखि १७ वर्ष उमेरका छन् । जसमध्ये जोखिमपूर्ण काममा ६ लाख २० हजार बालश्रमिक संलग्न छन् । त्यसमा बालिकाको संख्या करिब ६० प्रतिशत अर्थात् ३ लाख ७३ हजार छ । नेपालमा हातमा किताब बोकेर विद्यालय जाने उमेरका बालबालिका विभिन्न उद्योग, होटल, रेस्टुराँ, इँटाभट्टा, यातायात क्षेत्रमा संलग्न छन् । आधुनिक दासतालाई प्रतिनिधित्व गर्ने घटनाहरु नेपालजस्ता विकासोन्मुख देशमा कायम रहँदै आए पनि राज्यले प्रभावकारीरुपमा काम गर्न सकेको छैन । नेपालमा दसवर्षे सशस्त्र द्वन्द्वपश्चात् दण्डहीनताका घटना बढ्दै गएका हुन् । सशस्त्र द्वन्द्वका कारण विस्थापित हुनु परेका परिवारका बालबालिका हुन् वा विनाशकारी महाभूकम्प तथा प्राकृतिक विपत्तिका कारणले बिचल्लीमा परेका नै किन नहून्, रोजगारी र दैनिक जीवनयापनका लागि थुप्रै बालबालिका श्रम शोषण, यौन शोषण तथा मानव बेचबिखनको सिकार भए ।
नेपालमा अनेक खालका व्यवधान र विवशताले हरेक दिन १६ सयको संख्यामा युवा विदेश जाने गरेका छन् । त्यसमा पनि अधिकांश नेपाली थ्रिडी अर्थात् डर्टी, डेन्जरस र डिफिकल्टी काम गर्न बाध्य छन् । जोखिमपूर्ण र कठिन काममा जानेहरु काठका बाकसमा बन्द भई आउनु परेका नियतिबारे पनि राज्य बेखबर छैन । आफ्ना नागरिकहरुको सुरक्षामा ध्यान दिन र जोखिमपूर्ण श्रम गर्न बाध्य भएकाहरुलाई न्याय प्रदान गर्न संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र हुनुका नाताले सरकारले नैतिक सहमति र साझा धारणाहरुलाई कार्यान्वयनमा ल्याउनु अपरिहार्य भएको छ । मानिस गरिब भएर बाँच्न सक्छ, विपन्नता पनि सहन सक्ला तर दासता कदापि सह्य हुँदैन । कुनै नेपाली विदेशमा श्रम गर्न जानुको अर्थ उसको दासत्व स्वीकार्नु होइन । रोजगारीका लागि विदेश जानेहरु नै बढी शोषणमा परिरहेको परिप्रेक्ष्यमा विश्वभरका सरकारप्रमुखहरुलाई दासता उन्मूलन र श्रम शोषणविरूद्ध प्रतिबद्धता जनाउन यस दिवसले मह¤वपूर्ण भूमिका खेल्न सक्छ । नेपालमा दासताविरूद्ध अभियानको दुई दशकमा १३ हजार बढी थारु चेली कमैया, कमलरीको दासत्वबाट मुक्त भए । हिजोका दिनमा मालिकबाट शोषित भएकाहरु आज संसद्देखि अन्तर्राष्ट्रिय मञ्चहरुमा दासताविरूद्ध खबरदारी गरिरहेका छन् । आधुनिक दासतालाई प्रश्रय दिने सबै खाले दासताको अन्त्यका लागि सबैको उत्तिकै प्रतिबद्धता जरूरी देखिएको छ ।
Discussion about this post