–बसन्त पराजुली
भरतपुर । अष्ट्रेलियामा रहेका नेपालीहरुको सहयोगमा चितवनको पहाडी क्षेत्रका चेपाङ समुदायलाई चामल वितरण गरिएको छ । अष्ट्रेलियाको नेपाली अनलाइन सेवा हिमाल नेपाल डटकमको अग्रसरतामा संकलन गरिएको चामल चितवनको पहाडी क्षेत्र चण्डीभञ्ज्याङमा रहेका चेपाङहरुलाई वितरण गरिएको हो ।
हिमाल नेपाल डटकमले चेपाङहरुका लागि खाद्यान्न संकलन गर्न अभियान थालनी गरेको थियो । हिमाल नेपाल डटकमका हेमन्त पौडेलले सो संकलन कार्यको संयोजन गरेका थिए । तनहुँ खैरहनीका पौडेल हाल अष्टेलियामा कार्यरत छन् । चण्डीभञ्ज्याङमा रहेका १५० चेपाङ परिवारलाई कालीखोलामा एक कार्यक्रम आयोजना गरेर ३० किलोका ३३० बोरा चामल वितरण गरिएको हो । चेपाङ परिवारलाई चामलसँगै नुन पनि उपलब्ध गराइएको थियो ।
‘परिवार संख्याका आधारमा चामल वितरण गरिएको छ’, हिमाल नेपाल डटकमका प्रतिनिधि एवम् राष्ट्रिय वाणिज्य बैंक नारायणगढका प्रबन्धक ऋषिराम ढकालले भने, ‘तीन जनासम्मको परिवारलाई एक बोरा र सोभन्दा बढी संख्या रहेको परिवारलाई दुई बोराका दरले चामल वितरण गरिएको छ ।’
चामल वितरण कार्यक्रमलाई यहाँ मानव विकास केन्द्र नेपाल र रुङ्गटा वेलफेयर सोसाइटीले सहयोग गरेका
थिए । कार्यक्रममा चामल लिनका घण्टौँ हिँडेर चेपाङहरु कालिखोला झरेका थिए ।
‘दुई घण्टा पैदल झरेर आएको हुँ’, १० महिने काखे छोरो च्यापेर चामल लिन झरेकी भरिमाया चेपाङले भनिन्, ‘घरको उत्पादनले छ महिना पेट भर्न मुस्किल पर्छ । अहिले पाएको चामलले केही दिन भए पनि सजिलो हुने भो ।’
चण्डीभञ्ज्याङ चारघरेका तिलकबहादुर चेपाङको बारीमा फलेको कोदो र मकै सकिएका बेला चामल आएपछि फुरुङ्ग पर्दै उनले थपे, ‘चामल नभएको भए हामी कि त भोकै बस्नु पथ्र्याे । कि गिट्टा भ्याकुर खाएर जीवन निर्वाह गर्नुपथ्र्यो ।’
चामल वितरण कार्यमा नेपालमा संयोजन गरेकी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं मानव विकास केन्द्रका अध्यक्ष सुष्मा पौडेलले मानवको सेवाका लागि सहयोग गरिएको बताइन् ।
‘हामीले चामल वितरण गरिब भनेर हैन । आत्मीयताले वितरण गरेको हो’, उनले भनिन् । पछिल्लो समय चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङहरुलाई विभिन्न सहयोग आउने क्रम जारी छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले नै चेपाङलाई लक्षित गरी सहयोगका कार्यक्रमहरु जारी राखेका छन् । चितवनको नौ पहाडी गाविसमा रहेका चेपाङ समुदायको आर्थिक अवस्था कमजोर रहेकाले पनि उनीहरुलाई सहयोग जारी राखिएको हो । हिमालय नेपाल डटकमका प्रतिनिधि ऋषिराम ढकाल भन्छन्, ‘पहाडी क्षेत्रका चेपाङहरुलाई सहयोगसँगै अब सरकारी तथा गैरसरकारी संस्थाको पहलमा आयआर्जनका कार्यक्रमहरु पनि सञ्चालन गरिनुपर्छ । जसले उनीहरुलाई जीविकापार्जनमा सहयोग पुग्ने छ ।’
यसैबीच, गामबेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाका लागि मंगलबार खाद्यान्न सामग्री सहयोग भएको छ । रत्ननगर–९ गुम्बाटोल चिसापानीमा रहेको तमु समाजले ६० किलो चामल र ५ किलो आलु सहयोग गरेको हो । समाजका हरिप्रसाद गुरुङ, कुलबहादुर गुरुङ र कुम्भसिंह गुरुङ केन्द्रमै सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
Discussion about this post