रत्ननगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालको पर्यटनले द्रुतगतिमा अगाडि बढ्ने बताएका छन् ।
रत्ननगर नगरपालिका–५, जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘दी फरेष्ट फ्रन्ट’ नामक होटलको सोमबार शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले कोरोनाले शिथिल भएको नेपालको पर्यटनले सन् २०२२ सम्ममा गति लिने बताए । ‘सन् २०२० को अन्तिममा नेपालको पर्यटन ब्युँझिन्छ, २०२१ मा उठ्छ’, पर्यटनमन्त्री भट्टराईले भने, ‘सन् २०२२ मा दौडिन्छ ।’ सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउने तयारी गरिएको उनले बताए ।
‘कोरोनाका कारण पर्यटन वर्ष सफल हुन सकेन’, मन्त्री भट्टराईले भने, ‘अब सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउने तयारी गरिएको छ ।’ कोरोना महामारीको बीचमा पनि पर्यटकीय क्षेत्रमा पर्यटकहरुको आगमन सुरू भइसकेको भन्दै उनले अबको केही समय आन्तरिक पर्यटकलाई प्राथमिकता दिनुपर्ने बताए । कोरोनाको विश्वव्यापी प्रभावका कारण विदेशी पर्यटकहरु तत्काल नेपाल आउने वातावरण नभएको उनको भनाइ थियो । ‘कोरोनाले गर्दा घुम्ने आत्मविश्वास पैदा भइसकेको छैन’, मन्त्री भट्टराईले भने, ‘त्रास कायम रहेका कारण अहिले आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिनुपर्छ ।’
नेपालीहरुले आर्थिकरुपमा मध्यम र त्योभन्दा माथि हैसियत बनाइसकेको भन्दै पर्यटनमन्त्री भट्टराईले परिवारसहित पर्यटकीय गन्तव्यमा जाने वातावरण सृजना भइसकेको बताए । नेपालमा आन्तरिक पर्यटनको सशक्त अङ्ग तयार भइसकेको भन्दै उनले आन्तरिक पर्यटकहरुले अब नेपालको पर्यटन क्षेत्रमा भएको लगानी सुरक्षित गर्ने बताए । कोरोनाले पर्यटन विकासको काममा असर गरेको भए पनि सरकारले भारतसँगको हवाई सम्बन्ध फेरि जोड्ने, पर्यटकीय क्षेत्रहरु खुल्ला गर्ने निर्णय गरेको उनले बताए ।
कृषि, ऊर्जा र पर्यटन आर्थिक समृद्धिको आधार रहेको बताउँदै मन्त्री भट्टराईले पर्यटन नै आर्थिक विकासको मेरूदण्ड भएको बताए । ‘आर्थिक विकासको मह¤वपूर्ण हिस्साको रुपमा रहेको पर्यटन क्षेत्र अहिले सुस्ताएको अवस्था छ’, उनले भने, ‘यसलाई सरकार र निजी क्षेत्रको सहकार्यमा माथि उठाउनुपर्छ । नेपालमा जस्तो प्रकृति, संस्कृति र भौगोलिक विविधता अन्त छैन, यसलाई प्रमुख माध्यम बनाएर नेपालको पर्यटनको विकास गर्नुपर्छ ।’ उनले प्रतिकूल समयको बीचमा पनि नेपालका व्यवसायीहरुले पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने अभियान चलाएको भन्दै खुसी व्यक्त गरे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले नेपालमै सम्भावनाको खोजी गर्ने बेला आएको बताए । कोरोनाले विश्वको श्रमबजारमा पारेको असरका कारण विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किएको भन्दै अब नेपालमै सम्भावनाको खोजी गर्नुपर्ने उनले बताए । ‘विदेशमा बगाउने पसिना नेपालमै बगाऔँ’, उनले भने, ‘नेपाल अरुले बनाइदिँदैन, नेपालीले नै बनाउने हो ।’
वार्षिक ६०० वटा शव नेपालमा विदेशबाट आउने कारूणिक अवस्था रहेको भन्दै उनले यस्तो स्थितिको अन्त्यका लागि पनि स्वदेशमै श्रम गर्नुपर्ने बताए । नेपालमा रहेको सांस्कृतिक विविधतालाई माटोसँग जोडेर आम्दानीको आधार बनाउनुपर्ने उनले बताए । ‘संस्कृतिसँग पर्यटन जोडिएको छ’, उनले भने, यसको सदुपयोग गरौँ र स्वदेशमै काम गरौँ ।’
कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, नेपाल बंगलादेश बैंकका कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईलगायतले मन्तव्य राखेका थिए ।
हस्पिटालिटीका प्रमुख रामेश्वर शाहले २५ करोडको लगानीमा सौराहामा बुटिक रिसोर्ट निर्माण सुरू गरिएको जानकारी दिए । ३४ कोठामा ६५ बेडको सो रिसोर्ट सन् २०२२ बाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । १२ कट्ठा क्षेत्रफलमा रिसोर्ट निर्माण गर्न लागिएको हो ।
Discussion about this post