शारदानगर । भरतपुर–१९, लक्ष्मीमार्ग शारदानगरमा रहेको गढीमाई ब्याडमिन्टन कभर्ड हलमा प्रथम भूपू डबल र सिङ्गल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको सिङ्गलतर्फ सुरनबहादुर आलेमगर विजेता भई ८ हजार प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् भने प्रतियोगिताको ५० वर्ष उमेर समूहभन्दा माथि धनवीर गुरूङ र प्रेम गुरूङको समूहले विजेता भई १० हजार प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् ।
यस्तै, ५० वर्षभन्दा तल उमेर समूहका विजेता बुद्धि चौधरी र खुशबहादुर गुरूङको समूहले २० हजार प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । भूपू सैनिकहरुको एकआपसमा सद्भाव, आपसी समझदारी, एकता, मेलमिलाप र भाइचाराको नाता कायम राख्नका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई उक्त कार्यक्रम सञ्चालन गरिएको संयोजक लेखबहादुर गुरूङले बताए ।
७० जना खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा डबलतर्फ ५० वर्ष उमेर समूहभन्दा माथि र तल खेलाडी समूह र सिङ्गल समूहअन्तर्गतका प्रतियोगिता भएको थियो । प्रतियोगितामा काठमाडौँ पोखरा, बागलुङ, पूर्वी चितवन, पर्सा, भैरहवा, चोरमारा, गैँडाकोट, नवलपरासी र चितवनका भूपू सैनिक खेलाडीहरुको सहभागिता रहेको थियो ।
Discussion about this post