–दिपेन्द्र अधिकारी
भरतपुर । कमाएको धन सुरक्षाको लागि बैंकमा लगेर राखिन्छ । तर, बैंकका कर्मचारीबाट तिनै ग्राहकको रकम हिनामिना हुन्छ भने बैंकमा पैसा जम्मा गर्नुको के अर्थ ! कर्मचारीबाट रकम हिनामिना भएपछि सम्बन्धित बैंक त बदनाम हुन्छ नै साथमा ग्राहकले पनि नपाउनु दुःख पाउँछन् । चितवनमा पछिल्लो समय यस्ता घटना हुन थालेका छन् ।
बैकिङ कसुरसम्बन्धी अपराधमा मुछिएका राइजिङ डेभलपमेण्ट बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) भानु कँडेल पुनरावेदन अदालत हेटौंडाको आदेशले हाल पुर्पक्षका लागि भीमफेदी कारागारमा छन् । यसै अभियोगमा कँडेलसँगै प्रबन्धक चुलराज पन्त पनि पुर्पक्षका लागि हाल थुनामा रहेका छन् । अर्का कर्मचारी भने फरार छन् ।
झण्डै ५ हप्ताको अनुसन्धानपछि प्रहरीले उनीहरुलाई अदालतसमक्ष पेश गरेको हो । उनीहरु उपर गत जेठ ७ गते यस्तो आदेश भएको हो । ४ वर्षअघि यस बैंकको सीईओ बन्दा ललितपुरस्थित हिमालयन फाइनान्समा सात करोड रूपैयाँ लगानी गरेको पाइएको छ । दिइएको रकममध्ये दुई करोड रूपैयाँ भने फिर्ता नभएको भन्दै कँडेलमाथि बैंकका अध्यक्ष मदनभक्त अधिकारीले मुद्दा हालेका हुन् । सावा र ब्याजसहित दुई करोड ६० लाख रूपैयाँ असुल गर्न बाँकी रहेको पाइएको छ ।
अघिल्लो वर्ष हिमालयन बैंक नारायगढका सुपरभाइजर शेरबहादुर थापा यसै अपराधमा पक्राउ परे । उनीसँगै अर्का कर्मचारी प्रकाश बराल पनि यस मुद्दामा तानिए । यी दुईमाथि फरक व्यक्तिको खाताबाट एक करोड रूपैयाँ भन्दा बढी रकम झिकेर आफ्नो र आफन्तको खातामा राखी चेक काटेर लिने गरेको अभियोग लागेको छ । थापा हाल अनुसन्धानका लागि कारागारमा छन् भने बराल धरौटी राखेर निस्किएको चितवन प्रहरीले जनाएको छ ।
नारायणगढ शाखाका सहायक प्रबन्धक शिवचन्द्र अधिकारीको जाहेरी र टुंगकुमारी घिमिरेको खाताको स्टेटमेण्ट अध्ययन पश्चात् प्रहरीले उनीहरुको अपराध ठहर गरेको थियो । थापाले टुंगकुमारी घिमिरेको खातामा रहेको ४४ लाख २२ हजार रूपैयाँ २०६६ फागुनदेखि २०६९ जेठ १८ सम्म पटकपटक नौ जना आफन्तको खातामा हालेको देखिएको थियो । थापा र बरालको मिलेमतोमा २०७० वैशाख ३ गतेसम्म बैंकको आन्तरिक रकम ५९ लाख ६८ हजार ८४० रूपैयाँ हिनामिना गरेको खुलेको थियो ।
थापाको यस सम्बन्धमा थप संलग्नता भेटिएपछि पुनः अर्को मुद्दा पनि दर्ता भएको छ । राइजिङ र हिमालयन बैंकमा देखिएका समस्या अदालतसम्म पुगेपनि अन्य बैंकको समस्या भने आन्तरिक रुपमा मिलाउने प्रयास भइरहेको छ ।
चितवनमा केन्द्रीय कार्यालय रहेको केही बैंक अहिले समस्यामा छन् । लगानी गरेको क्षेत्रबाट प्रतिफल नभएपछि बैंकहरु समस्यामा परेका हुन् । यस्ता बैंकले निक्षेपकर्ताको भार थाम्न नसक्ने भएपछि भित्रभित्रै आन्तरिक रुपमा निश्चित समयावधिमा ग्राहकको निक्षेप रकम फिर्ता गरेको बुझिएको छ ।
जुनकुनै बैंक पनि के कसरी अघि बढ्ने भन्ने सम्बन्धमा बैंकका प्रबन्धकहरु बढी जिम्मेवार देखिएका छन् । ऋण लगानीको क्षेत्र सुरक्षित नहुँदा बैंकहरु समस्यामा परेका हुन् । बैंकको सम्बन्धमा सानो मात्र पनि गल्ती भएमा ग्राहकप्रति नकारात्मक सन्देश जाने र समग्र कारोबारमा धक्का लाग्ने हुनाले सकेसम्म बैंङ्किङ अपराधलाई लुकाउने गरिएको पाइन्छ ।
Discussion about this post