यतिबेला देशविदेशमा म्याग्दीको मंगला गाउँपालिका–४, बुकेनीकी १९ वर्षीया सपना रोका मगरको चर्चा छ । चर्चा यस कारण कि उनी अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले सार्वजनिक गरेको विश्वका प्रेरणादायी र प्रभावशाली एकसय महिलाको सूचीमा परेकी छन् । उनले पशुपति आर्यघाटमा हरेक दिन बेवारिसे शव जलाउने असाधारण काम गरिन् । यद्यपि, उनले त्यो काम चर्चाका लागि गरेकी थिइनन् । तर, त्यही कर्मले नै उनलाई संसारमा चिनायो । उनी बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आबद्ध भएर उक्त मानवीय कार्र्य गर्दै आएकी छन् । केन्द्रले तीन सय बढी बेवारिसे शव जलाइसकेको छ । बेवारिसे शवको व्यवस्थापन खासगरी राज्यले नै गर्नुपर्ने हो । तर, राज्यले गर्नुपर्ने काम उनले गरिन् अनि सम्मानको हकदार बनिन् । जेजस्तो कारणले सडकमा पुगेर मर्नुपरे पनि इज्जतका साथ जल्न पाउनुपर्छ भन्ने उद्देश्यले उनले बेवारिसे शवको दाहसंस्कार गर्दै आएकी छिन् । आफन्तको पहिचान नभएका शवको व्यवस्थापनका लागि अहिले प्रहरी, सरकारी निकाय तथा अस्पतालहरुले सपनालाई खबर गर्छन् । उनको पवित्र कार्यले नै उनलाई विश्वभर चिनायो । चौतर्फी क्षेत्रबाट उनको कामको प्रशंसा भयो ।
नेपाली समाजमा अझै पनि महिलाहरु मलामी जान हुँदैन भन्ने चलन व्याप्त छ । त्यसमाथि महिलाले दागबत्ती दिन हुँदैन भन्ने संस्कार पनि विद्यमान छ । पछिल्लो समय महिलाहरु पनि समानरुपमा मलामी जान थालेका छन् । बाबुआमाको दाहसंस्कार कार्य छोरीले पनि गर्दै आएका छन् । गलत संगत र सहरी वातावरणले सडकमै आइपुगेकी सपनाले सडकमा निकै दुःखकष्ट र हण्डर खाइन् । सडकमा भौंतारिने बालबालिकाको नियति नजिकबाट बुझिन् । तर, उनको दृढ आत्मविश्वास, काम गर्ने अठोट र लगनशीलताले आज उनलाई सफलता मिलेको छ । देशकै शिर उँचो भएको छ । मानवता बचाइराख्न पनि उनको सफलताले थुप्रै महिलालाई प्रेरणा प्रदान गरेको छ । जीवनमा हरेस खाएर भौंतारिइरहेका सयौँ मानिसको लागि उनी एक प्रेरणादायी पात्र भएकी छन् । सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यहाँको संस्कारलाई विश्वव्यापी बनाउन उनले पु¥याएको योगदान अनुकरणीय छ । असल कर्म गर्न सकियो भने एकदिन कहीँकतैबाट मूल्याङ्कन अवश्य हुँदो रहेछ भन्ने दृष्टान्त बनेकी छन् उनी । १९ वर्षको किशोरी उमेर केही सिक्ने र जान्ने उमेर हो । तथापि यति सानो उमेरमै विश्वका प्रभावशाली महिलाको सूचीमा समावेश हुनु असामान्य कुरा हो । सपनाको सफलताले सबै नेपालीलाई सम्मान दिलाएको छ ।
सपनाको हिम्मतिलो कार्यको प्रशंसा भइरहँदा राज्यको आँखामा भने उनी पर्न सकिनन् । एउटी ग्रामीण परिवेशमा जन्मेहुर्केर देशकै असल छोरीको रुपमा प्रेरणादायी पात्र बनेकी उनलाई राज्यले जेजसरी सम्मान गर्नुपर्ने थियो, त्यसमा सरकार चुकेकै हो । पहुँच र प्रभावका भरमा विभिन्न र पदक र विभूषणहरु बाँड्दैआएको सरकारले सपनाजस्ता सत्कर्ममा लागेका किशोरीहरुको योगदानको कदर गर्दै यस्ता पात्रहरुलाई थप हौसला प्रदान गर्न सक्नुपर्छ । सपनाजस्ता सन्तानको सार्थक कर्मलाई प्रभावकारी बनाउन सबै क्षेत्रबाट साथ र सहयोग गर्नुपर्छ । हाम्रो समाजमा राज्यको आँखा नपुगेका थुप्रै सपनाहरु छन्, जसलाई हौसला र सहानुभूतिको खाँचो छ । आफ्नो स्वार्थभन्दा माथि उठेर समाज र राज्यको लागि गरिमा बढाउन योगदान गर्ने थुप्रै मानवताका पूजारीहरु धन्यवादका पात्र छन् । सपना आबद्ध रहेको संस्था ‘बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र’ पनि बधाईको पात्र भएको छ । आगामी दिनमा सपना र उनको संस्थाले गर्दै आएको सत्कर्मको सम्मान गर्न संकुचित सोच र कुरीतिहरुको अन्त्य गर्दै सपनाले अंगालेको मार्गमा लाग्न सक्नुपर्छ । यस्ता सत्कर्म उजागर गर्न सकिए सामाजिक विकृति र विसंगतिहरु पनि चाँडै अन्त्य हुने विश्वास गर्न सकिन्छ । साहसिक महिला सपनाको सत्कर्मलाई सलाम !
Discussion about this post