रत्ननगर । पूर्वी चितवनका दुई वटा नगरपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ८८३ जनाको परीक्षण गरिएको छ ।
आँखा अस्पताल भरतपुरको सहयोगमा मदन भण्डारी फाउन्डेसन क्षेत्र नं १ क्षेत्रीय समिति, मदन भण्डारी फाउन्डेसन खैरहनी नगरपालिका, राप्ती नगरपालिका तथा साना किसान वीरेन्द्रनगरको संयुक्तरुपमा आयोजन गरेको शिविरका परीक्षण गराएकामध्ये ९० जनाको मोतीबिन्दुुको शल्यक्रियाको लागि आँखा अस्पतालमा रिफर गरिएको छ ।
खैरहनी नगरपालिका वडा नं ११ मा रहेको आधारभूत निम्न माध्यमिक विद्यालयमा गरिएको शिविरमा १२४ जना, वडा नं १३ मा रहेको गवै माध्यमिक विद्यालयमा गरिएको शिविरमा १६७ जना, राप्ती नगरपालिका वडा नं ६ मा रहेको पडरिया स्कुलमा गरिएको शिविरमा ३५० जना र वडा नं ७ मा रहेको जनआदर्श बहुमुखी क्याम्पस वीरेन्द्रनगरमा गरिएको शिविरमा २४२ जनाको आँखा परीक्षण गरिएको मदनभण्डारी फाउन्डेसनअन्तर्गतको स्पोर्टस एकाडेमी राप्तीका संयोजक केदार आचार्यले जानकारी दिए ।
चारवटै शिविरमा आँखा जाँच गराएका बिरामीहरुलाई निःशुल्क औषधिसमेत वितरण गरिएको छ । मोतीबिन्दु तथा आँखाका जटिल समस्या भएका ५० वर्षभन्दा माथिका वृद्धवृद्धा तथा अतिविपन्न समुदायलाई मध्यनजर गरी खैरहनी र राप्ती नगरपालिकाका चार वटा स्थानमा शिविर आयोजना गरिएको क्षेत्रीय समितिका अध्यक्ष गोविन्द कँडेलले जानकारी दिए । शिविरको स्थानीय संयोजकमा तारकेश्वरनाथ सिंह रहेका थिए ।
Discussion about this post