बिर्खमानको असामयिक निधनपश्चात् फूलमाया साँच्चै एक्लिएकी थिइन् समाजमा । एकल महिलालाई जिउन त्यति सजिलो कहाँ छ र यहाँ ? आखिर हाम्रै समाज न हो !
ऐँचोपैँचो, सहयोग, सद्भाव सबै–सबै कुराबाट वञ्चित थिइन् उनी । समाजले उनीप्रति गर्ने भेदभावपूर्ण व्यवहारले उनलाई त्यस ठाउँ छाडेर अन्त कतै जाने मन नभएको भने होइन । तर पनि आफूले खनी–खोस्री खाई हुर्केको ठाउँ । आफ्नो पतिको चिनो (त्यो सानो पाटो बारी)लाई त्यति सजिलै चटक्कै माया मार्न कहाँ सक्थिन् र उनी । त्यस्तै, अर्कातिर पाँच वर्षीया छोरी उषालाई पनि पढाउनु, बढाउनु, बिहेदान गरिदिनु आदि ईत्यादि यस्तै यस्तै परिबन्धमा जकडिएकी थिइन् उनी । र त, त्यस ठाउँ छाडी नयाँ ठाउँ, नयाँ परिवेश कहीँकतै जान सकेकी थिइनन् फूलमाया ।
‘आमा, आज पूजाको बाबाको बिहे भनेको होइन ? सबैजना गइसके । हामी पनि जाऊँ न छिटो ।’
छोरी उषाको आवाजले पिँढीमा टोलाएर बसिरहेकी फूलमाया झसङ्ग झस्किइन् ।
फूलमायालाई बिहेमा जाने मन भने फिटिक्कै थिएन, तर पनि छोरीको जिद्दीपनको अगाडि लाचार भइन् । अनि, छोरीको हात समाउँदै लागिन् फूलमाया बिहे घरतिर ।
बिहे घरमा व्यापक चहलपहल थियो । फूलमायाका आमाछोरी पनि अल्लि पर बसेर बिहेको रमिता हेर्दै थिए ।
‘ए फूलमाया भाउजू ! तपाईं यहाँ किन आउनुभएको ? यस्तो शुभकार्यमा विधुवाको पहिरन (सेतो साडी) देख्यो भने अलच्छिन लाग्छ । तपाईं यहाँबाट तुरून्तै गइहाल्नुस् । गइहाल्नुस् यहाँबाट । फेरि अहिले हामीले जबर्जस्ती लखेट्न नपरोस् ।’
रमितेहरुको भीडबाट प्याट्ट एउटाले विष वमन गरिहाल्यो । बिस्तारै बिस्तारै सबै रमितेहरुले ‘हो’ मा ‘हो’ मिलाउन थाले । कतिले त आँखा राता–राता पार्दै फूलमायालाई खाऊँलाझैँ गरी घुरिरहेका पनि देखिन्थे ।
गाउँलेहरुको त्यस्तो अपमानजनक व्यवहारले एकछिन त आकासै खसी आफूलाई थिचेको आभाष भयो फूलमायालाई । ‘कति अभागिनी रहेछु म, यो समाजले मलाई कहिल्यै देखी सहेन…’ यस्तै–यस्तै कुराहरु मनमा खेलाउँदै उनी भक्कानिएर छोरीको हात समाई बाटो लागिन् त्यहाँबाट ।
‘समाजले एकल महिलाप्रति गर्ने व्यवहार साँच्चै क्रूर अनि अमानवीय छ । कहिले खुल्ला यो समाजको आँखा ? जति नैं नियम, कानुनका कुरा गरे पनि नारी–पुरूषबीचको भेदभाव यो समाजले देखाइहाल्छ’ यस्तै अनेकौँ तर्कनाहरुले बाटाभरि फूलमायालाई घोचिरह्यो । फलस्वरुप, उनका आँखाका डिलले पनि अहँ, भल थाम्नै सकेन ।
घरतिर जाँदै गर्दा अकस्मात् छोरी उषाले एउटा ‘आलो चिहान’तिर इशारा गर्दै प्रश्न गरी फूलमायालाई ः
‘आमा, उ त्यो ढुङ्गाको थुप्रो के हो ? त्यहाँ किन ढुङ्गा थुपारेको ?’
एक अबोध बालकको बालसुलभ प्रश्नले फूलमायाका रसाइरहेका आँखालाई थप ऊर्जा दियो । भन्न त उनलाई मन थियो ः ‘छोरी, यो तिनै अभागिनी महिलाको आलो चिहान हो, जसको मृत्यु भएको एक महिना पनि नपुग्दै उनका श्रीमान्ले आज भव्यरुपमा दोस्रो बिहे गर्दैछन् ।’ तर, फूलमायाले आफ्नो छोरीको कलिलो मस्तिष्कमा नकारात्मक असर नपरोस् भन्ने सोच्दै जवाफ यसरी दिइन् ः ‘छोरी, यो पूजाकी आमाको घर हो, उहाँ यही घरमा बस्नुहुन्छ ।’
khanalrajan90@gmail.com
Discussion about this post