गुञ्जनगर । पश्चिम चितवनको गुञ्जनगरमा रहेको श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरूकुलमा अध्ययनरत ब्राह्मण वटुकहरुको अभिभावकत्व ग्रहण तीव्ररूपमा भैरहेको छ ।
गुरूकुलको शैक्षिक उन्नति र भौतिक संरचना निर्माणका लागि यही मंसिर ६ गतेबाट सञ्चालन भएको एकमासीय श्रीमद्भागवत् कथामृत ज्ञानमहायज्ञ तथा गुरूकुल बचाऔँ महाअभियान–२०७७ का अवसरमा गुरूकुल सञ्चालन आजीवन अभिभावकहरुले गुरूकुलमा अध्ययनरत ब्राह्मण बटुकहरुको अध्ययनको अभिभारा बोकी धर्म मातापिता बनेका हुन् ।
महायज्ञको सातौँ दिन शुक्रबारका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेल रहेका थिए । गुरूकुल सञ्चालन आजीवन अभिभावकत्व ग्रहण गर्दै उनले पश्चिम चितवनको यस क्षेत्रमा रहेको गुरूकुललाई विश्वविद्यालय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले गुरूकुललाई संरक्षणमात्रै नभई सुधार गरेर सहयोग गर्न आह्वान गरे । महायज्ञका कथावाचक पण्डित ईश्वर रेग्मी रहेका छन् ।
गुरूकुल सञ्चालनार्थ रहेका १५१ जना आजीवन अभिभावकहरुमध्ये भरतपुर–१९, गुञ्जनगर निवासी डिल्लीप्रसाद रिजाल एवम् श्री गंगादेवी र कलावती रिजालले १ लाख ५ हजार ५ सय ५५ सहयोग गरेर अभिभावकत्व ग्रहण गरेका छन् ।
यस्तै भरतपुर–२०, वशिष्ठ आश्रम निवासी लीलाधर एवम् धर्मीदेवी भट्टराई, भरतपुर–१८ गुञ्जनगर, (हाल ः बेल्जियम) निवासी श्री हरिश्चन्द्र एवम् प्रभा सुवेदी अर्याल, सबाँसगढी नगरपालिका–४, बर्दिया निवासी राजगोपाल एवम् मीना अधिकारी, भरतपुर–२६, मिलनचोक निवासी कृष्णप्रसाद लामिछाने एवम् हरिकला लामिछाने, भरतपुर–२०, चन्द्रनगर निवासी श्री श्यामप्रसाद एवम् ओमकुमारी सुवेदी, भरतपुर–१८, गुञ्जनगर निवासी मोतीलाल एवम् स्व. कलावती ढकाल, भरतपुर–२१, पार्वतीपुर निवासी जगन्नाथ एवम् विष्णुमती कँडेललगायत सबैले गुरूकुललाई १ लाख ५ हजार ५ सय ५५ का दरले सहयोग गरेका छन् भने विद्यालय व्यवस्थापनका पूर्वअध्यक्ष एवं सर्वाधिक दानदाता भरतपुर–१८, गुञ्जनगर निवासी खेमनाथ सुवेदी शास्त्री एवम् राधाकुमारी सुवेदीले गुरूकुलमा २ वटा सदस्यता लिँदै नगद २ लाख ११ हजार १ सय १० रूपैयाँ सहयोग गरेर गुरूकुलमा अध्ययनरत ब्राह्मण वटुकहरुको अभिभावकत्व ग्रहण गरेका छन् ।
२०५४ सालमा स्थापना भएको गुरूकुल विद्यालयमा हाल ५० जना छात्रहरु आवासीय सुविधाका साथ अध्ययन गरिरहेका छन् । १० कक्षासम्म अध्यापन भइरहेको गुरूकुलमा आगामी दिनमा ११ कक्षा हुँदै अन्य कक्षा बढाउने प्राचार्य ज्ञानप्रसाद भूर्तेलले जानकारी दिए ।
उनले ५ कट्ठामात्रै जग्गा रहेको गुरूकुलमा अहिले महानगरबाट थप १० कट्ठा जग्गा गुरूकुललाई उपलब्ध गराएको र बागमती प्रदेश सरकारले गुरूकुलको छात्रावास निर्माणका लागि २० लाख उपलब्ध गराएको उनले बताए ।
Discussion about this post