रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा रोजगारउन्मुख सीपमुलक तालिम शुक्रवार उद्घाटन गरिएको छ । ब्रिलियण्ट मेनपावर ट्रेनिङ सेन्टर प्रा.लि.काठमाडौं सञ्चालन गरेको दींगो रोजगारीका लागि पर्यटन क्षेत्रका तालिम परियोजनाले आयोजना गरेको सो तालिमको रत्ननगरका मेयर नारायण वनले उद्घाटन गरेका थिए ।
सो अबसरमा उनले दक्ष जनशक्तिको अभावका कारण पर्यटन क्षेत्रको सेवा गुणस्तरीय हुन नसकेको बताए । उनले पर्यटकीय क्षेत्रको महत्व बढाउन पनि दक्ष जनशक्ति र स्तरीय सेवा आवश्यक रहेको उनको भनाई छ । कार्यक्रममा क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले कोरोना महामारीका कारण पर्यटन क्षेत्रका दक्ष जनशक्ति पलायन भएको भन्दै परियोजनाले सञ्चालन गर्ने तालिमले आवश्यक जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे ।
रत्ननगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष राजन भट्टले तालिम लिएपछि प्रमाणपत्र सिरानीमा राखेर सुत्ने प्रबृतिका कारण सीपमुलक तालिममा गरिएको लगानी खेर गइरहेको बताए । रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले परियोजनाबाट सञ्चालन भएको तालिमले उत्पादन गरेको जनशक्तिलाई सौराहामा रोजगारी दिने प्रतिबद्धता जनाए । कार्यक्रममा सीटीइभीटीइका निर्देशक तथा काठमाडौं युनिर्भसिटीका प्रोफेसर डा.कुस्माकर भट्टले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।
शुक्रवार उद्घाटन भएको तालिमको पहिलो चरणमा ४० जना र दोश्रो चरणमा ४० जनाको सहभागिता रहने परियोजनाका टिम लिडर करुणानिधि ज्ञावलीले जानकारी दिए । ६ महिने तालिममा अप्रेण्टिसीप मोडलमा होटल तथा पर्यटन सम्बन्धी कुक,बेटर,हाउसकिपिङ र फ्रन्ट अफिसको तालिम दिइने छ ।
निशुल्क रुपमा दिइने सो तालिममा सहभागीका लागि आवेदन खुल्ला गरिएको छ । शुक्रवार उद्घाटन गरिएको सो तालिमको औपचारिक काम एक महिनापछि सुरु हुने छ । परियोजना समन्वय समितिका संयोजक तथा क्षेत्रीय होटल संघ चितवनका महासचिव गुणराज थपलियाको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । युरोपियन युनियनको आर्थिक लगानी,ब्रिटिस काउन्सिलको व्यवस्थापन तथा दक्षता परियोजनाको सहयोगमा तालिम आयोजना गरिएको हो ।
Discussion about this post