भरतपुर । ६ महिना देखि पाँच बर्ष मुनिका बालबालिकाहरुलाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै छ । चितवनका सात वटै पालिकाहरुमा स्वास्थ्य स्वयमसेवीकाहरुले बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रम आज सकिँदै छ । स्वयमसेवीकाहरुले हिजो पनि बालबालिकाहरुलाई औषधी खुवाएका थिए । कार्तिक र बैशाखमा गरी बर्षको दुई चरणमा ६ महिना देखि पाँच बर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने बार्षिक कार्यक्रम रहेको छ ।
यस बर्ष कोभिड–१९ का कारण बैशाखमा हुने कार्यक्रम पछाडि धकेलिएर असारमा पुगेको थियो । कार्तिकमै हुनपर्ने दोस्रो चरणको कार्यक्रम केहि पछाडि धकेलिएर हिजो र आज भइरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले बताए । दोस्रो चरणमा करिब ६१ हजार बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईने आंकलन गरिएको छ ।
बालबालिकालाई एक पटक भिटामिन ‘ए’ खुवाउँदा त्यो भिटामिन बच्चाको कलेजोमा ६ देखि ८ महिनासम्म बस्ने तिवारी बताउँछन् । भिटामिन ‘ए’ ले रोगप्रतिरोधात्मक क्षमता बढाउने, आँखा र शरीरको न्युकोजल (छालाको भित्री पत्र फेरिने क्रम)को स्वास्थ्यलाई मद्दत गर्ने उनले बताए । भिटामिन ‘ए’ ले बाल मृत्युदर २५ प्रतिशतसम्म घटाउने उनले बताए ।
Discussion about this post