भरतपुर । चितवनमा पछिल्लो १० महिनामा १६ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना पुरूष र छ जना महिला रहेको भरतपुर अस्पतालमा रहेको एचआइभी उपचार केन्द्र (एआरटी सेन्टर)ले जनाएको छ ।
एचआइभी सङ्क्रमित हुँदाहुँदै मदिरापान, कलेजो, क्यान्सर, रक्तअल्पता, क्षयरोग आदि समस्याका कारण उनीहरुको मृत्यु भएको एचारटी सेन्टरले जनाएको छ । १० महिनामा मृत्यु भएका १६ जनामध्ये एक जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको एआरटी सेन्टरका सम्पर्क व्यक्ति डा. युवानिधि बसौलाले जानकारी दिए ।
‘एआरटी सेन्टरमा कार्यरत दुई जना कर्मचारीसहित पाँच जनालाई कोरोना पुष्टि भएको थियो’, उनले भने, ‘तीमध्ये चार जना एचआइभी सङ्क्रमित हुन् । दुवै रोगको सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भयो ।’ यो समयमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सके एचआइभी सङ्क्रमितले लामो समयसम्म जीवन पाउने उनको भनाइ छ ।
गएको १० महिनामा अस्पतालको उपचार केन्द्र र समुदायस्तरमा पुगेर छ हजार ७०६ जनामा एचआइभी परीक्षण गर्दा ६७ जनामा एचआइभी पत्ता लागेको उनले बताए । उनका अनुसार एचआइभी सङ्क्रमितलाई क्षयरोगको जोखिम पनि उच्च हुने गर्दछ । यो दस महिनामा एचआइभी पत्ता लागेका ६७ जनामध्ये ११ जनामा क्षयरोग पनि देखा परेको छ ।
चितवनमा २०२० को हालसम्ममा अन्य जिल्लाबाट स्थानान्तरण भएर आएका बिरामीको संख्या ४० पुगेको छ । त्यसमा २१ जना पुरूष, १६ जना महिला र तीन जना बालबालिका छन् । सोही अवधिमा औषधि सुरू गरेका नयाँ बिरामीको संख्या भने ११६ छ । त्यसमा ६४ पुरूष, ४७ महिला र पाँच जना बालबालिका छन् ।
एआरटी सेन्टर स्थापना भएदेखि हालसम्मको तथ्याङ्क हेर्ने हो भने भरतपुर अस्पतालको एआरटी सेन्टरबाट उपचारका लागि नाम दर्ता गराउनेको संख्या एक हजार ९३ पुगेको छ । त्यसमा ९८९ पुरूष, ७६० महिला र १४५ जना बालबालिका छन् । यो तथ्याङ्क सन् २००७ देखि हालसम्मको हो । यस्तै, एआरभी औषधि लिनेको संख्या भने ९०० पुगेको छ । त्यसमा ४५८ पुरूष, ४४२ महिला र ५० जना बालबालिका छन् । चितवनबाट सेवा लिनेमध्ये १४२ जनाले भने मृत्युवरण गरिसकेका छन् ।
नेपालकै कुल तथ्याङ्क हेर्ने हो भने करिब ३० हजार जनामा एचआइभी सङ्क्रमण भएको अनुमान गरिएको छ भने एचआइभी पत्ता लाग्नेको संख्या २३ हजार १३७ पुगेको छ । औषधि सेवन गर्नेको कुल संख्या भने १८ हजार ६२८ जना रहेको एचआइभीको क्षेत्रमा काम गर्दै आएको एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) चितवनका संयोजक कृष्णहरि सापकोटाले बताए ।
नेपालमा नयाँ पत्ता लागेका एचआइभी सङ्क्रमितको संख्या ७९० र हालसम्म मृत्यु भएकाको संख्या ७४० जना रहेको उनले बताए । एचआइभी सङ्क्रमितले सतर्कता अपनाए आफ्नो आयु लम्ब्याउन सकिने भए पनि पछिल्लो समय देखिएको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनु निकै चुनौतीपूर्ण विषय बनेको उनले बताए ।
कोरोना सङ्क्रमणको जोखिम भएका कारण लकडाउनको समय अवधिभर भरतपुरको उपचार केन्द्रले सम्भव भएका स्थानहरुमा बिरामीको घरमै पुगेर परामर्श र औषधि दिने काम गरेको उनले बताए । कोरोना सङ्क्रमणको जोखिम उच्च भएकोले एचआइभी सङ्क्रमितले बढी सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । तैपनि, सरकारी निकायबाट एचआइभी सङ्क्रमितको क्षेत्रमा उल्लेख्य मात्रामा काम गरेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताए । यसलाई अझ विशेष तरिकाले सेवा दिन भरतपुर अस्पतालले पनि सक्दो सहयोग गर्ने अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।
Discussion about this post