भरतपुर । चितवनमा पछिल्लो २४ घण्टामा ३०३ जना कोरोनाका संक्रमित निको भएका छन् । २४ घण्टामा ५७ जना संक्रमित थपिएका छन् । जिल्लामा बिहिबार सक्रिय संक्रमितको संख्या पाँच सय भन्दा पनि मुनि झरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
बिहिबारसम्म चितवनमा ४८१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले बताइन् । हिजो बुधबार जिल्लामा सक्रिय संक्रमितको संख्या ७८४ रहेको थियो । एक हप्ता अगाडि चितवनमा सक्रिय संक्रमित एक हजार १०९ जना थिए ।
सक्रिय संक्रमितको तथ्यांक हेर्दा चितवनमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दर कम हुँदै गएको छ । सक्रिय संक्रमित ४८१ जनामध्ये ४२७ जना होम आइसोलेसन र ५४ जना संस्थागत आइसोलेसनमा छन् । हालसम्म चितवनका पाँच हजार ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच हजार ११४ संक्रमित निको भएर घर गएका छन् । बिहिबारसम्म ८८ जना संक्रमितको मृत्यु भएको छ ।
Discussion about this post