एक वर्षअघिदेखि अकल्पनीय ढङ्गले फैलिएको कोरोना भाइरसको महाव्याधि रोग, शोक र त्रासको पर्याय बनिसकेको छ । सम्पन्नशाली मुलुकहरुले जेनतेन यस महाव्याधिको सामना गरिरहे पनि नेपालजस्तो साना र गरिब देशका लागि यो एउटा दुर्भाग्य बनिरहेको छ । यो भाइरस रोगमात्र नभई आर्थिक संकटको कारक पनि बनिरहेको तथ्य कसैसामु छिपेको छैन । नेपालमा नौ महिनाअघि देखा परेको कोरोना भाइरसले २ लाख २५ हजार बढी मानिस सङ्क्रमित भएका छन् भने १ हजार ३७० जनाको मृत्यु भएको छ । यस महाव्याधिले सबै वर्गका मानिसका उन्नति, प्रगतिका बाटाहरुमा अवरोध गरेको छ भने ३५ लाख मानिसको रोजीरोटी खोसिएको छ । दुःखजिलो गरेर गरिखाने वर्गको खुसी लुटेको छ । मानिसका बहुआयामिक क्षेत्र अवरुद्ध गरेको कोरोना भाइरसबारे अझै पनि आममानिसमा भ्रम यथावत् छ । रोगले भन्दा भोकले मर्ने अवस्था आउन थालेपछि अधिकांश मानिसले कोरोना भाइरसलाई बेवास्ता गर्दै गएका छन् । यसको त्रास अझै कति महिना वा वर्षसम्म कायम रहने हो कुनै टुङ्गो पनि छैन । विश्वभर दैनिक औसत पाँच लाख बढी मानिस सङ्क्रमित हुँदै जाँदा कोरोना भाइरस नियन्त्रणभन्दा अझै फैलिँदै गएको अनुभूति गरिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरससँगै बाँच्न अभ्यस्त हुनुपर्ने बताइरहेका छन् । यसको अर्थ हामी अब चाहेर पनि पुरानो अवस्थामा फर्किन सक्दैनौँ । कोरोना भाइरससँगै बाँच्न अभ्यस्त हुनु भनेको जनस्वास्थ्यमा ध्यान दिनु हो । सुरक्षित भएर आफ्नो दैनिकीमा लाग्नु हो । कोरोना महाव्याधिले व्यापार÷व्यवसाय, शैक्षिक क्षेत्र, मनोरञ्जनका क्षेत्रलगायतका समग्र अर्थतन्त्रमा ठूलो प्रभाव पारिसकेको छ । विद्यालय÷कलेजको शैक्षिक सत्र नै प्रभावित भइरहँदा स्थानीय तहले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय आफैँमा सकारात्मक छ । विगत नौ महिनायता देशभरका विद्यालय तथा कलेजहरु सञ्चालन हुन नसक्दा शैक्षिक क्षेत्रमै अन्योलको स्थिति बन्न पुगेको छ । यसले अभिभावक तथा बालबालिकाको मनोविज्ञान नै परिवर्तन हुन पुगेको छ । सरकारले शैक्षिक सत्र खेर जान नदिने प्रतिबद्धता जनाए पनि आगामी दिनमा के गर्ने भन्ने कार्ययोजना बनेको छैन । अब शैक्षिक वर्ष पाँच महिनाभन्दा थोरै रहेको अवस्थामा जनस्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्नु पहिलो आवश्यकता बनेको छ । कोरोना महाव्याधिपछि अभिभावकको चिन्ता छोराछोरीको पढाइभन्दा बढी उनीहरुको स्वास्थ्य नै हो । त्यसैले शैक्षिक संस्थाहरुको पहिलो प्राथमिकता पनि विद्यार्थीहरुको स्वास्थ्यप्रति नै हुनुपर्छ । कुनै विद्यार्थी सङ्क्रमित भए त्यसको समाधानको विकल्पका बारेमा पनि पूर्ण तयारी गर्नुपर्ने देखिन्छ ।
पछिल्लो समय कोरोना महाव्याधिले जनस्वास्थ्यप्रति सरकार र समुदायको दृष्टिकोणमा परिवर्तन ल्याएको छ । कोरोना सङ्क्रमणबाट कसरी सुरक्षित भएर अघि बढ्ने भन्ने पाठ पनि सबैले सिकिसकेका छन् । लामो समय अर्थतन्त्र प्रभावित हुँदा मानिसको दैनिकी नै प्रभावित भइसकेकाले अब यो क्षेत्र खोल्ने र यो नखोल्ने भनेर तोक्नुको अर्थ छैन । तथापि, सार्वजनिकरुपमा भीडभाड हुने र बढी जमघट हुने स्थानको सञ्चालन गर्न निकै सोचविचार र पूर्वतयारी गर्नुपर्छ । नखोली नहुने तर खोल्दा पनि जोखिम बढ्ने अवस्था भएकाले जनस्वास्थ्यको व्यवस्थापन गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ । कोरोना नियन्त्रणका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने देखाइसेको छ । यसका लागि सबै क्षेत्रका मानिसको सहयोग र सहकार्य भएमात्रै कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग पुग्छ । विभिन्न सामाजिक संघसंस्था, स्वयंसेवीहरुको योगदानले अझै बढी जनस्वास्थ्यको व्यवस्थापन सहज हुनसक्छ । सरकारले लकडाउनको समयमा बनाएको कार्यविधि र योजना सबै तुहिसकेको छ । कोरोनाको भ्याक्सिन तयार भइसके पनि नेपालको लागि सहजरुपमा उपलब्ध हुन केही समय लाग्ने पक्का छ । त्यसैले कोरोना भाइरसको जोखिम मनन गरी व्यक्तिगत सावधानी र सजगता अपनाउनु अपरिहार्य देखिन्छ ।
Discussion about this post