–बसन्त पराजुली
भरतपुर । तपाईंको घरअघि कतै पानी जमेको त छैन ? टायर, गमलालगायतका वस्तुहरुमा जमेको पानी नै तपाईंलाई डेङ्गु सार्ने लामखुट्टे जन्माउने थलो बन्न सक्छ । यो वर्षको वर्षात् सुरू भएसँगै चितवनमा फाट्टफुट्ट डेङ्गु रोगका बिरामी पनि देखिन थालेका छन् ।
‘पानी पर्न थालेसँगै डेङ्गु रोगी फाट्टफुट्ट देखिन थालेका छन्’, जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेन्टोलकन्ट्रोल निरीक्षक राम केसीले भने, ‘समयमा नै सतर्कता अपनाइएन भने डेङ्गुले महामारीको रूप लिन पनि सक्छ भन्नेतर्फ सबै सतर्क हुन जरूरी छ ।’
अघिल्ला वर्षहरुमा असार लागेदेखि डेङ्गुका रोगी भेटिने भए पनि यो वर्ष यस अघिदेखि नै भेटिन थालेका छन् । केही दिनयता डेङ्गु रोगकै कारण चितवनका विभिन्न अस्पतालहरुमा पाँच जना बिरामीले उपचार लिएका छन् । बिरामीमध्ये अहिले पनि तीन जना अस्पतालमै उपचारमा रहेका छन् ।
डेङ्गु एक किसिमको उच्च ज्वरो आउने रोग हो । डेङ्गुको जिवाणु भएको एडिस् एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेङ्गु रोग लाग्छ । यो लामखुट्टे सफा र जमेको पानीमा फूल पार्ने र बच्चा जन्माउने गर्छ । एक्कासि उच्च ज्वरो आउने र शरीर दुख्ने यो रोग सर्नबाट बचाउने हो भने लामखुट्टेको टोकाइबाटै बच्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
‘अहिले पानी पर्न थालेको छ । जथाभावी राखिएका टायर, गमलाजस्ता वस्तुहरुमा जमेको पानीमा नै लामखुट्टे बसेका हुन्छन्’, भरतपुर अस्पतालका फिजिसियन डा. शशीजङ्ग पाण्डेले भने, ‘विगतका वर्षहरुमा देखिने यो रोगको संक्रमण अहिले रोक्न समयमा नै सतर्कता जरूरी छ ।’
चितवनमा २०६७ सालदेखि डेङ्गुको संक्रमण देखिएको हो । २०६७÷०६८ मा तीन हजार २९८ ज्वरोका बिरामीको रक्त परीक्षण गरिएकामा ७३९ जनामा डेङ्गुको लक्षण देखिएको थियो । यो वर्ष उच्च ज्वरोबाट मरेका २३ मध्ये डेङ्गुको संक्रमण भएका पाँच जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनसँग तथ्याङ्क छ ।
यस्तै २०६८÷०६९ मा पनि डेङ्गुकै कारण चितवनमा एक जनाको मृत्यु भयो । यो वर्ष एक हजार १७४ जनाको रक्त परीक्षण गराएकामा ६८ जनामा डेङ्गु भेटिएको थियो । २०६९÷०७० मा जिल्लामा ९४६ जनाको रक्त परीक्षण गरिएको थियो । यो परीक्षणमा ५२ जनामा यो रोगको संक्रमण भेटिएको पाइएको थियो ।
अघिल्लो वर्ष २०७०÷०७१ मा एक हजार ८२३ को रक्त परीक्षण गरिएकोमा ३४१ जनामा यो रोगको संक्रमण भेटिएको थियो । असारदेखि कार्तिकसम्म चितवनमा डेङ्गुका रोगी भेटिए पनि यो वर्षअघि नै वर्षा सुरू भएपछि डेङ्गु रोगका बिरामी भेटिन थालेका छन् । डा. पाण्डे भन्छन्, ‘भोलि महामारी आएपछि चिन्ता गर्नुभन्दा अहिलेदेखि नै होसियारी अपनाउनु उचित छ ।’
Discussion about this post