मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–२ को वडा कार्यालय भवन बनाउन स्थानीयवासीले जग्गादान गरेका छन्। स्थानीय तोपबहादुर बुढाथोकीले वडा कार्यालय भवन बनाउन एक कठ्ठा जग्गादान गरेका छन् ।
उनले मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ, वडाध्यक्ष पञ्चबहादुर चेपाङलगायत स्थानीयवासीको रोहवरमा निःशुल्क जग्गा उपलब्ध गराएको घोषणा गरेका हुन् । उक्त दान गरिएको जग्गा सम्बन्धमा गाउँपालिका र बुढाथोकीबीच मङ्गलबार नै एक सम्झौतासमेत भएको वडाध्यक्ष चेपाङले जानकारी दिए ।
वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्त भएसँगै अब कार्यालय भवन निर्माणको प्रक्रिया छिट्टै शुरु गरिने उनले बताए । यस्तै जग्गा उपलब्ध गराउने दाता बुढाथोकीलाई गाउँपालिका अध्यक्ष गुरुङ, वडाध्यक्ष चेपाङलगायत स्थानीयवासीले सम्मानसमेत गरेका थिए ।
Discussion about this post