हेटौँडा । गाउँमा उद्योग छिरेपछि रोजगारी र अन्य सुविधा पाउने स्थानीयको अपेक्षा हुन्छ । तर, मकवानपुरको राक्सिराङ गाउँपालिका–४, गिडुङमा भने उद्योगले खानी सञ्चालनको प्रयास गर्दा स्थानीयहरु सुकुमबासी बनेका छन् । हेटौँडाको चुरियामाईमा सञ्चालित ऋद्धिसिद्धि सिमेन्ट उद्योगले खानी सञ्चालन गर्न बिचौलियामार्फत स्थानीयले बिक्री गरेको घरजग्गाको पैसा नपाएका हुन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–४, गिङुङका जीतबहादुर चेपाङले रोजगारी पाउने कमाइ पनि खान पाउने आश्वासनमा बिचौलियालाई घरबारी बिक्री गरेको एक वर्ष भयो । तर, उद्योगले जग्गा खाली गर्न ताकेता गरे पनि उनले अझै पूरा पैसा पाउन सकेका छैनन् ।
उनीजस्ता एउटा सिङ्गो गाउँ नै ऋद्धिसिद्धि सिमेन्टबाट पीडामा परेको छ । गिङ्गुडाँडामा सिमेन्ट उद्योगले विगत ३ वर्षदेखि खानी सञ्चालनको प्रयास गर्दै आएको छ । उक्त खानीको तल्लो क्षेत्रमा बसोवास गर्दै आएका ६४ परिवारले आफूहरुको उचित व्यवस्थापन नभएसम्म खानी सञ्चालन गर्न नदिने निर्णय गरेका हुन् । उद्योगले जबर्जस्ती खानी सञ्चालन गर्न खोजे त्यसको प्रतिवाद गर्ने निर्णय गरेको सरोकार समितिका अध्यक्ष गोपाल मुक्तानले बताए । उनका अनुसार खानीआसपासका २५ हेक्टर जमिन प्रभावित हुनेछ ।
स्थानीयहरुले चलनचल्तीको मूल्यमा उद्योग आफैँले स्थानीयको जमिन खरिद गर्नुपर्ने, जग्गा बिक्री गर्दा दस लाख रूपैयाँभन्दा कम रकम प्राप्त हुनेहरुलाई अन्यत्र पुनर्बास गराउनुपर्ने माग गरेका छन् । समितिले उद्योगका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिलाई बोलाए पनि उपस्थित नभएको भन्दै उनीहरुले आपत्तिसमेत जनाएका छन् ।
खानी विभागले भने हालसम्म गिङ्गुडाँडामा ऋद्धिसिद्धि सिमेन्टले उत्खनन अनुमति लिइनसकेको जनाएको छ । गिङ्गुडाँडादेखि गोराङ्दी खोलाकिनारसम्म भिरालो जमिनमा रहेको बस्ती खानी सञ्चालनपछि उच्च जोखिममा रहने भन्दै खानी विभागको अध्ययन टोलीले उक्त बस्तीलाई अन्यत्र सारेरमात्रै खानी सञ्चालन गर्न सकिने प्रतिवेदन विभागमा बुझाएको छ ।
Discussion about this post