गुञ्जनगर । पश्चिम चितवनको गुञ्जनगरमा रहेको श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरूकुलको शैक्षिक उन्नति र भौतिक संरचना निर्माणका लागि यही मंसिर ६ गतेबाट सञ्चालनार्थ एकमहिने महायज्ञ सुरू भएको छ । महायज्ञका कथावाचक पण्डित ईश्वर रेग्मी रहेका छन् ।
२०५४ सालमा स्थापना भएको गुरूकुल विद्यालयमा ३० जना विद्यार्थीहरुले अहिले हिन्दुधर्मअनुसार मर्दापर्दा गरिने कर्मकाण्डदेखि वेद, संस्कृतिका साथै अन्य विषयहरु समेत पढ्ने गरेका छन् । धर्म र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले स्वामी परमानन्दको नाममा खोलिएको विद्यालयमा अहिले ती बालबालिकाहरु पठनपाठन गरिरहेका छन् । चितवनसहित नवलपरासी, तनहुँ, कास्कीलगायतका जिल्लाबाट विद्यार्थीहरु पढ्न आउने गर्छन् ।
मध्यमासम्मको पढाइ हुने भनिए पनि आर्थिक समस्याले अवरोध भएको कारण आठ कक्षासम्ममात्रै पढाइ हुँदै आएको छ । विद्यार्थीलाई खुवाउन, पढाउन र नित्य कक्षा सञ्चालनमा पनि समस्या भएको प्रधानाध्यापक ज्ञानप्रसाद भूर्तेलले बताए । गुरूकुललाई नेपाल सरकारले निमाविको अध्यापनका लागि स्वीकृतिसमेत दिएको छ । धार्मिक संस्कृति बचाइराख्नका लागि यस विद्यालयमा यस्ता किसिमका पठनपाठन गराउने गरेको विद्यालयका प्रधानाध्यापक भूर्तेलले बताए ।
धार्मिक गुरूकुलको नामले चिनिने यस विद्यालयमा वेद, व्याकरण, कर्मकाण्ड, ज्योतिषीलगायतका विषयमा पठनपाठन हुने गर्दछ । विभिन्न सहयोगदाताहरुको सहयोगमा निर्माण भएको २८ लाख रूपैयाँको अक्षयकोषको व्याजबाट विद्यालय सञ्चालन भइरहेको बताउँदै प्रधानाध्यापक भूर्तेलले सो अक्षयकोष एक करोड पु¥याउने लक्ष्य रहेको बताए ।
गुरूकुलका अध्यक्ष मुक्तिनाथ ढकालले गुरूकुल सञ्चालनका लागि तत्कालीन गुञ्जनगर गाविसले ५ कट्ठा जमिन गुरूकुलका लागि उपलब्ध गराएको र पछि महानगरले ५ कट्ठा थप गरेको बताए । भौतिक निर्माणका लागि भने महायज्ञ कार्यक्रम गरी सहयोग जुटाउन लागिएको छ ।
Discussion about this post