क्रिकेट रङ्गशालालाई चितवन सेवा समाजको सहयोग

अन‌ि यो पनि

रामपुर । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन गत वर्षको माघ १९ देखि २७ गतेसम्म आयोजना गरिएको महायज्ञमा घोषणा गरिएको बोलकबोल रकममध्ये केही रकम आइतबार एक समारोहबीच हस्तान्तरण गरेको छ ।
धनधान्यान्चल महोत्सवमा बोलकबोल गरिएको ५१ लाखमध्येबाट चितवन सेवा समाज युएईबाट उठेको २ लाख १० हजार हस्तान्तरण गरिएको हो ।
एनआरएनएका सल्लाहकार तथा चितवन सेवा समाजका सद्भावनादूत सोम सापकोटाले यो राष्ट्रिय गौरवको आयोजना रहेको र यसलाई सफल बनाउन सम्पूर्ण नेपालीको दायित्व रहेको बताए । आयोजना निर्माणमा चितवनवासीको सबैभन्दा बढी अपनत्व हुनुपर्ने बताउँदै उनले सबैलाई सकेको सहयोग मन फुकाएर गर्न आग्रह गरे ।
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिले १० लाख रुपैयाँ यसअघि नै हस्तान्तरण गरिसकेको अध्यक्ष मुक्तिप्रसाद अधिकारीले बताए । बाँकी रकम चाँडोभन्दा चाँडो सङ्कलन गरिने प्रतिबद्धतासमेत उनले जनाए ।
फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले सोचेअनुसार सहयोग नउठेको गुनासो गरे । उनले भने, ‘१० करोडभन्दा बढी उधारो तिर्न बाँकी रहेको छ । बोलकबोल रकम दिन दायित्वबोध गरेकोजस्तो लागेको छैन ।’
‘व्यवसायीहरु सामान दिन हिच्किचाउन थालेका छन्, अहिलेलाई हाम्रो ठूलो आशा भरोसा भनेकै त्यही महायज्ञका बेला बोलेको रकम नै हो,’ अध्यक्ष कट्टेलले भने ।
‘आर्थिक, प्राविधिक तथा निर्माण सामग्रीसहित सम्पूर्ण स्रोत व्यवस्थापन भए अझै पनि समयमै रङ्गशाला निर्माण गर्न सक्छौँ भन्ने हाम्रो विश्वास हो’, धुर्मुस भन्छन्, ‘तर यसका लागि हामीलाई बोलकबोल भएको र उपलब्ध गराउँछु भनेको रकम तथा सरकारले गर्छु भनेको सहयोग समयमै गर्नुपर्नेछ ।’ कठिन परिस्थितिमा पनि काम भइरहेको हुँदा जनस्तरबाट निर्माण हुँदै गरेको राष्ट्रकै गौरवको परियोजना भएकाले पक्कै पनि सहयोग र साथ रहनेछ भन्ने विश्वास धुर्मुसको छ ।
अध्यक्ष धुर्मुसले क्रिकेट रङ्गशाला स्टाण्ड ‘ए’ र स्टाण्ड ‘बी’को सम्पूर्ण पिलरहरु ठडिएका बताए उनले भने, ‘अहिले स्टोन मेसिनरीको काम तीव्र गतिको साथ अगाडि बढिरहेको छ ।’ स्ट्यान्ड ‘बी’को पनि सम्पूर्ण पिलरहरुको जग ढलानको काम सम्पन्न भएको उनले जानकारी दिए । दुई वटा पेभेलियनमा ३० हजार दर्शक अट्ने क्षमता छ । यी दुई पेभेलियनलाई दुई वटा टावरले जोड्ने छ । जहाँ भिआइपी बक्स, मिडिया र प्रशासनिक क्षेत्र रहने छन् । अहिले पेभेलियनको प्लिन्थ लेभलको काम भइरहेको छ ।
हस्तान्तरण कार्यक्रममा चितवन सेवा समाज युएईका उपाध्यक्ष दीपक पौडेल, पूर्वअध्यक्ष मित्रलाल पाण्डे, सल्लाहकार रामु पौडेल, अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव निमकान्त पाण्डेलगायतको उपस्थिति थियो ।

 

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया