माओवादी युद्धका दुर्दिनहरु (ती दिनहरु–३)

अन‌ि यो पनि

कालिका बोर्डिङ स्कुलको कार्यालय कक्ष । भर्खरै टिफिन सकिएर विद्यार्थीहरु कक्षाकोठाभित्र प्रवेश गर्दै गरेको अवस्था । ट्वाइलेट र पानीको धारातिर केही विद्यार्थीहरु छिटफुट देखिँदै पनि थिए । घण्टीको ‘टिङ्ग..टिङ्ग. आवाजसँगै सेकेन्ड पनि यताउति नगरी कक्षाहरु चल्नुपर्छ भन्ने मेरो मान्यता रह्यो । ‘घण्टी’ जीवन—बोधक निर्देशन हो । विद्यालयले ‘घण्टी’को निर्देशनलाई पालना गर्नमा लापर्बाही ग¥यो र सेकेन्ड पनि ढिलाइ भयो भने मेरो प्रशासनिक नियममा त्यो अमङ्गलको सङ्केत थियो । जीवनका सर्वत्र अवस्थाहरु ठीक—ठीक सञ्चालन हुनुमा विद्यालयको ‘घण्टी’ले ‘महागुरू’को आदर्शलाई पछ्याएको हुन्छ ।
म टिफिनको समयमा सदा सचेत भैरहेँ । एउटा नियमबद्ध पहरेदारको रुपमा उभिइरहेँ । त्यतिबेलाका मेरा विद्यार्थीहरुले टिफिन—समयको मेरो पहरालाई अवश्य स्मरण गर्दा हुन् ।
टिफिन सकिएपछि कार्यालयमा भर्खरै प्रवेश गरेको थिएँ । एक जना नौजवान २७ र २८ वर्षको जस्तो लाग्ने उत्साही युवा पनि झुलुक्क आइपुगेको थियो । उसको आँखामा सपना झुलेको थियो । उसको निजी विचारले उसलाई धरतीको कर्तव्य परायण छोरो हुनुको गौरव गराएको थियो । बोलीचाली नरम थियो । मैले उसलाई नजिकैको मेचमा बस्न अनुमति दिएपछि ऊ नहत्पताईकन सौम्य तरिकाले कलात्मक बसाइँ बस्यो ।
‘जीवन खोक्रो वस्तु रहेछ तर हर पाइलाहरुलाई सुन्दर इशारा दिई निर्देशनको कलात्मक पालना गर्न सके बल्दो दीपक’ रहेछ भन्ने लाग्यो । मैले यस प्रसङ्गमा त्यस युवाको प्रशंसा गर्न खोजेको होइन । उसलाई अदम्य उत्साहको बाटोमा हिँड्न प्राप्त भएको उसभित्रको तत्कालीन निजी प्रेरणालाई शब्दमा टिप्न मात्र खोजेको हुँ ।
कुराको प्रसङ्ग चल्दै जाँदा थाहा भयो कि ऊ माओवादी जनयुद्धको अनुयायी मात्रै नभएर एक जना ‘लडाका’ सिपाही पनि रहेछ ।
बसेको ठाउँबाट नुहेर जमिन छुँदै त्यसले भन्यो, ‘मैले यो देशको निम्ति जिउँदै आफूलाई बलिबेदीमा चढाएको छु सर । म यहाँबाट निक्लिँदै गर्दा स्कुलको गेटसम्म पनि पुग्न नपाउँदै शहादत पनि हुन सक्छ । मृत्यु स्वीकार्य छ मलाई, यो देशको निम्ति, यो माटोको निम्ति । अन्यायमा पिल्सिएर, तड्पिँदै लाचार जीवन कहिलेसम्म बाँच्ने यो देशका सन्तानहरुले सर ? म न्यायको निम्ति मर्न उत्सुक छु ।’
उसभित्र ‘आदर्श’ उम्रिएको थियो । उसलाई मृत्यु स्वीकार्य थियो । मानवीय भय र त्रासलाई जितेको थियो, उसले ।
विसंं २०५१ सालदेखि नेपालमा माओवादी विद्रोह सल्केको थियो । धेरै नेपाली छोराछोरीहरु विद्रोहमा कुर्बान हुँदै थिए । राज्यपक्षका र विद्रोही माओवादीहरु दुवैले सकेको ठाउँमा मार्दै र नसकेका ठाउँमा मर्दै गरेका थुप्रै घटनाहरु समाचारबाट सुनिन्थे । अवस्था सबैका निम्ति त्रासदी र भयपूर्ण थियो ।
पर्साढाप प्रहरी चौकीका हबलदार दिवा समयमा दैनिकजस्तै मेरो कार्यालय कक्षमा उपस्थित हुने गरेका थिए । उनको एक्लो उपस्थितिले भैपरी आउने सम्भाव्य सङ्कट समाधान गर्न त सक्दैनथ्यो, बरू उनी सजिलै विद्रोहको त्यो घडीमा माओवादीका सिकार बन्न सक्दथे । ‘किन आउनुहुन्छ, यसरी एक्लै ? डर लाग्दैन हबलदार साहेब ?’ जस्ता यथार्थपरक प्रश्नहरु गरिरहन्थेँ म उनीसँग । उनी ‘जागिरको कुरा हो सर, के गर्न सक्छु र ! माथिबाट यही निर्देशन छ’ भन्थे ।
उनको आउने–जाने काम अत्यन्त खतरनाक र प्रहरी प्रशासनको अव्यवस्थित खटनपटन थियो भन्ने कुरो मलाई प्रस्ट थियो । उनको आउने–जाने कामले मलाई पनि निकै अप्ठेरो बनाएको हुन्थ्यो, तर मूकदर्शक बन्नु मेरो बाध्यता थियो ।
त्यसदिन पर्साढाप चौकीका हबलदार आएर पनि फिर्ता भइसकेका थिए । हबलदारको रिक्ततालाई पूरा गर्दै थिए, त्यस समय ती माओवादी युवाले । हामीलाई सबैतिरबाट प्रेसर मात्र हुन्थ्यो । कसको नियम र निर्देशनलाई पालना गर्ने हो, द्विविधा व्यापक थियो । ‘युद्धको महामारीले कसैलाई पनि छोड्दैन’ भन्ने सिद्धान्त लागू भएको थियो । प्रशासनिक धरपकड, सरकारी पक्षबाट भएको आक्रमण र विभिन्न ठाउँहरुमा माओवादी लडाकाहरुको शहादतका विषयहरु उठान गरेका थिए ती युवाले ।
आक्रोश र प्रतिशोधले युवाको अनुहार धपक्क बलेको थियो । मान्छे कसैबाट परेको प्रभाव र त्यसबाट सृजित शृङ्खलाबद्ध विचार र व्यवहारबाट चल्ने प्राणी रहेछ । दैनिकझैँ भेट गर्न आएका हबलदार र माओवादी युवाबीचको जीवन—मूल्य र अन्तर पहिल्याउन निकै सोचिरहेँ, मैले । धरतीमा विज्ञानसम्मत इकोसिस्टम प्रक्रिया सर्वत्र लागू हुन्छ । हबलदार र माओवादी युवालाई पनि इकोसिस्टमले छोडेको थिएन होला । मर्ने र मार्ने, जित्ने र हार्ने संसारको खेल अथवा नियम हो । यो सबै प्राणी समूहमा निरन्तर छ । कसैको विजयले सत्यको मार्ग अवलम्बन नै गर्छ भन्ने निश्चित हुँदैन । हारले पनि सत्यको वकालत गरिरहन सक्छ । कुनै अवसरमा अनुकूल मौसम मिल्न गए सम्भावनाको गर्भाशयलाई विस्फोटन गरेर हरूवाले पनि भयानक जन्म प्राप्त गर्न सक्छ ।
युवासँग भएको आधा घन्टाको कुराकानीले मेरो मानसमा धेरै विचार तरङ्गहरु लहराए । युवा मेचबाट उठ्नै खोजेका थिए, खुत्रुक्क पिस्तोल भुइँमा झ¥यो । कार्पेटको नरम सतहमा झरेको पिस्तोलले कुनै क्षति व्यहोर्नु परेन होला । युवाले जानाजान पिस्तोलको रवाफ देखाउन चाहन्थे र पिस्तोल झारे अथवा भूलवश झरेको थियो, मलाई थाहा भएन ।
माओवादी युद्ध निकै उचाइमा पुगेको थियो । मसँग त्यसदिन भेट भएका ती युवक केही दिनपछि मात्रै भएको नारायणगढ कृषि विकास बैंक शाखा कब्जा गर्ने क्रममा मारिए रे भन्ने पनि सुन्नमा आयो । सङ्गठनले गोलबन्द गराएका सबै सदस्यहरु राम्रा मात्र पनि थिएनन्, होला । सङ्गठनमा मिसिएका कतिपय असन्तुलित सङ्ख्याहरुले व्यक्तिगत जीवनचर्या र निजी सम्पत्ति आदिमा समेत व्यक्तिगत रिसइष्र्याहरु साधे होलान् । युद्धका निम्ति आवश्यक पर्न जाने आर्थिक स्रोत जुटाउन व्यक्ति, सङ्घ, संस्था र व्यवसायीहरु खुबै उपयोग गरिए ।
टङ्क रेग्मी र शशी रेग्मीका दुई छोराहरु रिकेस र सविन दाजुभाइहरु थिए । ती दुवै माओवादी विद्रोहपूर्व नै कालिका बोर्डिङ स्कुलमा भर्ना भई अध्ययन गर्दै आएका थिए । बाबाआमा असाध्यै मेहनती थिए । तत्कालीन समाजका एक सृजनशील अगुवा थिए टङ्क रेग्मी । पुरानो मान्यताले उही ढर्रामा निरन्तर चलिरहनुपर्छ भन्ने मान्यताका विरोधी थिए । उनका अभिव्यक्ति र शब्दहरुमा समाजलाई सुन्दर मार्गमा रुपान्तरण गराउने विषयहरु रहन्थे । सुन्नमा निकै रूचि लाग्दथे । उनको लामो यात्रामा उनले दिएका अभिव्यक्तिहरुभैmँ तिनले व्यवहारहरुमा उत्रिनुपर्दा कति साकार रुप ग्रहण गरे, त्यो टङ्क रेग्मी नै जानून्, तर टङ्क रेग्मी र शशी रेग्मीको आदर्श जोडीले माटोसँग पसिना मिसाएर तरकारीहरु फलाउँथे । कालिका बोर्डिङको १२५ र १३० जनासम्मको होस्टल किचनलाई तरकारी लिन भनी म कयौँपटक तिनीहरुको घरमा पुगेको थिएँ ।
शशी रेग्मी मिलनसार महिला थिइन् । उनी मेहनती थिइन् र घरपरिवारको मुख्य प्रशासन तिनले चलाउँथिन् । माओवादी विद्रोहले ठूलो रुप लिन लागेपछि टङ्क रेग्मीकै साथ, सहयोग र सिङ्गो पार्टीकै सङ्गठनभित्र शशी रेग्मी पनि आबद्ध हुन पुगेकी थिइन् । रिकेस र सविन कालिका होस्टेलमा मेरा साथमा भए ।
त्यस ताका म अभौतिक युद्धको पक्षधर थिएँ । मनको विकारलाई विजय गर्ने युद्ध हाँकेको थिएँ । आफूभित्र रहेको ससानो विकारलाई पनि होसमा रहेर लेखाजोखा गर्दथेँ । मेरी अर्धाङ्गिनी मन्जुले पकाएको शुद्ध भोजन ग्रहण गर्थें । अन्यत्र घरहरुमा अन्य मानिसहरुले पकाएको खाने कुराहरुप्रति कुनै वैरभाव भएर होइन, स्वाद र सरसफाइमा कुनै कमजोरी भएर पनि होइन, तर निस्वार्थ भावले श्रद्धापूर्वक अरुबाट प्राप्त भोजनलाई ग्रहण गर्दिनँ भनी क्षमा माग्दथेँ । होटल—रेस्टुराँहरुमा त झन् खाने कुरै भएन । मेरो जीवनकालमा दश वर्षसम्मको त्यो एउटा रिसर्च, अनुसन्धान थियो ।
लसुन, प्याज, माछामासु वर्जित थियो । प्रातः तीन बजे ब्युँझनु, ध्यान–समाधि जगाउने दिनचर्या थियो ।
कतै भ्रमण आदिमा जानुपर्दा योजनाको किसिमले रसद—पानीको जोहोसहित जाने गर्दथें । म आफ्नो भोजन आफैँ बनाउँथेँ । कतै समयले अनुकूल नभए भोकै बस्न कुनै अप्ठेरो मान्दैनथेँ । मेरो अभौतिक युद्धले पनि दश वर्षको समय गुजा¥यो ।
त्यसैबखत टङ्क र शशी रेग्मीको जोडीले पनि युद्धको आरम्भ गरेको थियो । मेरो युद्ध अन्तरमनसँग मात्र सम्बन्धित थियो । रेग्मी दम्पतीको युद्ध बाह्य शरीर र अन्तर मनको पनि थियो । उनीहरुको युद्धले मान्छेको स्वभाव परिवर्तन गर्न आदेश गर्दथ्यो । स्वीकार गर्न नसकिए भौतिक सफायासम्मको कारबाही सुनाउँथ्यो ।
मान्छेहरुभित्र देखिएको विकृतिले ‘माओवादी’ विद्रोहको जन्म भएको थियो । कुनै निश्चित व्यक्तिको क्षणिक आवेश, इच्छा र चाहनाले ‘माओवाद’ जन्मिएको थिएन । तराईको चर्को गर्मीमा बस्ने मान्छेलाई आधा घन्टाको हेलिकप्टर उडान गराई हिमालको चिसो ठाउँमा पु¥याउँदा स्वाभाविकै त्यस मान्छेले जाडो महसुस गर्दछ । शरीरलाई न्यानो बनाउन दायाँबायाँतिरको लुगाफाटो तानतुन गर्छ । कतै केही उपाय सम्भव नभए आफ्ना दुईवटा हातहरु छातीमा बाँधेर जाडोसँग युद्ध लड्ने प्राकृतिक सामना गर्दछ । माओवादी विद्रोहले पनि त्यस्तै परिवेश प्राप्त गरेकाले हुर्किएको हो ।
अवश्य पनि फरक मत र फरक पक्षधरबीच रहेको तिक्तता र द्वन्द्वले युद्धलाई आमन्त्रण गर्दछ । भएको त्यही थियो । युद्ध भीषण चल्यो । युद्धको क्रममा ‘शशी रेग्मी’ले शहादत प्राप्त गरिन् रे भन्ने सुन्नमा आयो । मैले जे सुनेको थिएँ त्यो अत्यन्त दुःखद थियो । हातहतियारसहित ट्रकमा आएको आर्मीले पूर्वी चितवनको कुनै स्थान विशेषमा उनलाई फायरिङ गरेको थियो । घाइते शशी रेग्मीको शरीरलाई प्रहरीले भुकाइबाट टिपेर ट्रकमा कुनै निर्जीव वस्तुझैँ हुत्याएको थियो ।
माथि चर्चा गरिएझैंँ युद्धले कुनै एउटा निश्चित मण्डली र समूहको मात्रै हित गर्दैन । युद्धले मार्न जसरी हौसला दिलाउँछ त्यसरी नै मर्न पनि बाध्य गराउँछ ।
शशी रेग्मीको अवसानले मलाई व्यक्तिगतरुपमा निर्मम चोट पु¥यायो । उनका दुईवटा छोराहरु मेरो जिम्मामा थिए । मेरो भाषामा तिनीहरु टुहुरा भएका थिए । माओवादी क्रान्तिको भाषामा तिनीहरु अमर शहीदका अमर रत्न भएका थिए । माओवादी विद्रोह सकिएको पनि केही वर्ष भइसकेको छ । नेपाल आमाका सबै सन्तानहरु मेलमिलापको मूलधारमा उभिएका छन्, तर शशी रेग्मी र उनका ती दुईवटा छोराहरुलाई पटकपटक सम्झना गर्दछु । चनौलीबाट ज्योतिनगर मेरो घरसम्म आइपुग्दै गर्दा मिलनचोक पुग्नुअगावै ‘शशीपथ’ लेखिएको होर्डिङ बोर्ड देख्नमा आउँछ । त्यो सडक भएर हिंँड्दै गर्दा प्रत्येकपटकको आवतजावतले मेरो मानसलाई तरङ्गित गराउँछ । होर्डिङ बोर्डले ‘शशी रेग्मी’को स्मृति ताजा बनाएर उभ्याउँछ । राज्य र विद्रोही पक्षबाट व्यहोर्नु परेको त्यस भयानक र निर्मम युद्धबाट नेपाल देशले उन्नति गर्ने ऊर्जा कतिसम्म प्राप्त ग¥यो, समयले अवश्य पनि लेखाजोखा गर्ला । त्यस युद्धमा मेरो निकट रहेकी शशी रेग्मी माओवादी विद्रोहको आदर्श यज्ञाग्निमा जनता र देशको नाममा ‘स्वाहा’ भएकी थिइन् । मेरो स्मृतिमा भने उनी सधैँ अमर रहनेछिन् ।
विभिन्न कक्षाहरुमा पढ्दै गरेका विभिन्न विद्यार्थीहरुले प्रहरी र सेनामा रहेका आफ्ना बाबाहरु गुमाएका थिए । चनौली दद्रहनीबाट कालिका बोर्डिङ स्कुल पढ्न आउने अभिषेक र अनिमेशले प्रहरी सेवामा कार्यरत आफ्ना पिता आकाश महतोलाई गुमाएका थिए । सिसुवारबाट आउने कक्षा २ मा पढ्ने सुवास कँडेलले नेपाल सेनामा कार्यरत आफ्ना पिता चूडामणि कँडेललाई गुमाएका थिए ।
विद्रोही माओवादीले लगाएको भौतिक सफायाको निशानाले सही व्यक्ति छनोट गर्न नसक्दा मेरा स्कुले मित्र सिंहबहादुर भण्डारीले बिनाकारण मारिनु परेको थियो रे भन्ने सुन्नमा आएको थियो । मेरा अभिभावक आकाश महतो, चूडामणि कँडेल र हितैषी मित्र सिंहबहादुर भण्डारीहरुले मेरो जीवनकालसम्म हृदयको संंवेदनामा कुनै न कुनै किसिमले आफूलाई अमर छापको रुपमा स्थापित गरिरहने छन् । शशी रेग्मी, आकाश महतो, चूडामणि कँडेल र सिंहबहादुर भण्डारी त मेरा नजरकै सामुन्ने मृत्युवरण भएका केही प्रतिनिधि पात्रहरु मात्रै हुन् । हजारौंँ छोराछोरीहरुले त्यस ‘महायुद्ध’को महायज्ञमा आफूलाई स्वाहा गराए । मुलुकको सरकारी संयन्त्र र हरेक निकायमा रहेर शासन सत्ताको बाग्डोर हातमा लिई बसेका नेपाल आमाका देशप्रेमी सन्तानहरुले ती सबैसबैको स्मृतिलाई हृदयमा ससम्मान राख्न सक्नुपर्दछ । विकास निर्माणका हरेक कामहरुको थालनी गरिरहँदा र सम्पन्न हुँदासम्म कुनै न कुनै रुपले युद्धमा आहुति भएका ती सबैको स्मरण गर्न सक्नुपर्दछ ।
विकास निर्माणमा खर्च गरिनुपर्ने देशको बजेट आफ्नै बगलीमा जम्मा गर्न लागिपर्ने, न्यायको तराजु हातमा लिई बसेका न्यायमूर्तिहरुले अन्यायपूर्वक फैसला सुनाउने, सक्षम जनशक्तिलाई अपहेलना गरी अक्षम आफन्त र भ्रष्टहरुलाई देशका विभिन्न निकायहरुमा गलत नियत बनाई भर्ना गरी नै रहने हो र नेतृत्वमा रहेका राजनीतिकवृत्तिका मानिसहरुले आफ्नै झन्डा बोकी हिँड्ने र आसेपासेहरुलाई मात्र नेपाली ठान्ने हो भने विद्रोहको पुनर्जन्म अवश्य छ ।
त्यस्ता दुर्दिनहरु नेपाल धरतीले फेरि कहिल्यै व्यहोर्न नपरोस् । मेरो अखण्ड प्रार्थना छ ।

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया