केशव अधिकारी
धादिङ । धादिङ जिल्लाको राजमार्ग र त्रिशूली नदीको किनार क्षेत्रमा संचालित ७७ वटा बालुवा धुने (फिरफिरे) अवैध ढंगबाट बिजुली लाइन जोडेर संचालन भइरहेको पाइएको छ । नदी, खोला र राजमार्गको छेउमा संचालन भइरहेका अधिकांश फिरफिरेले मिल तथा अन्य व्यवसाय संचालनको लागि अनुमति लिएर बालुवा धुने उद्योग चलाइरहेको पाइएको नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाले जनाएको छ ।
जिल्लामा मिल दर्ताको अनुमति लिएर फिरफिरे संचालन भइरहेको विषयमा पटकपटक समाचार बाहिर आएपछि प्राधिकरणले स्थलगत अनुसन्धान समिति गठन गरेर फिरफिरेको अनुगमन सुरु गरेको थियो । प्राधिकरण टोलीले स्थलगत निरीक्षणमा जिल्लामा संचालित ७७ वटा अवैध फिरफिरे (बालुवा धुने उद्योग) ले विद्युत् दुरुपयोग गरेको भेटिएको जनाएको छ ।
नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी संचालित उद्योगहरुले एउटा प्रयोजनका लागि भनेर लिएको विद्युत् फिरेफिरेमा जडान गरेर अवैध धन्दा संचालन गर्ने गरेको भन्ने समाचार आएपछि प्राधिकरणले यस विषयमा अनुसन्धान सुरु गरेको थियो । धादिङको राजमार्ग र त्रिशूली नदी किनारमा संचालित अवैध बालुवा उद्योगका कारण त्रिशूली नदी प्रदूषित बन्दै गएको र सार्वजनिक जग्गा अतिक्रमणमा पर्दै गएको जनगुनासो छ ।
प्राधिकरणले गरेको छानविनको प्रतिवेदनमा गजुरी प्रशाखा अन्तर्गत गल्छीदेखि मलेखु बजार सम्म ५७ ग्राहकले ७७ वटा फिरफिरेहरु अवैध ढंगबाट बिजुली जोडेर संचालन गरेको बताइएको छ । प्राधिकरणको विद्युत् वितरण विनियमावली २०६९ परिच्छेद ६ को विनियम ३२ को ग्राहकले पालना गर्नुपर्ने सर्तमा एक किसिमको कामको लागि विद्युत् लिई अर्को काममा प्रयोग गर्न नपाइने व्यवस्था छ ।
Discussion about this post