रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले रत्ननगर–१० मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षणमा आश्रित चेपाङ बालबालिकाहरुका लागि शुक्रबार खाद्यान्न सहयोग गरेको छ ।
गणतन्त्र दिवसको अवसर पारेर संघले १५ हजार बराबरको खाद्यान्न सहयोग गरेको हो । संघका अध्यक्ष ज्ञानबहादुर विसुराललगायत संघका पदाधिकारीहरु केन्द्रमै पुगेर सो सामग्री केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।
संघले चामल, दाल, आलु, तेल, भुजालगायतका खाद्यान्न सहयोग गरेको हो । सीमान्तकृत समुदायका बालबालिकाहरुलाई खाद्यान्नको अभाव रहेको जानकारी पाएपछि सहयोग गरेको संघका अध्यक्ष विसुरालले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक केदार पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी, संघका महासचिव देवेन्द्रकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम संघका अध्यक्ष विसुरालको अध्यक्षतामा सम्पन्न भएको थियो । केन्द्रमा हाल चितवन र मकवानपुरका गरी ६५ जना चेपाङ बालबालिका आवासीय रुपमा अध्ययन गरिरहेका छन् ।
यसैबीच पूर्वी चितवन कुखुरा व्यवसायी संघले शुक्रबार रत्ननगर–१ मा रहेको साहाराको घरमा रहेका बालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको छ ।
संघले गणतन्त्र दिवसको अवसर पारेर औपचारिक कार्यक्रम गरी करिब हजार बराबरको शैक्षिक सामग्री र खाद्यान्न सहयोग गरेको हो ।
Discussion about this post