भरतपुर । नेपाली कांग्रेसका महामन्त्री एवम् उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संविधान लेखन प्रक्रिया कार्यतालिका अनुरुप अघि बढिरहेको बताउनु भएको छ ।
उपप्रधानमन्त्री सिंहले संविधानसभा भन्दा बाहिर रहेका दलहरुको सुझावलाई पनि समेट्दै निर्धारित कार्यतालिका अनुरुप संविधान लेखन प्रक्रिया अघि बढिरहेकाले आगामी माघ ८ गते नै संविधान जारी हुने बताउनुभयो ।
नेपाल प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्रीसमेत
रहेका सिंहले नेकपा एमालेले सरकारको कामकारबाहीमा देखाएको असन्तुष्टि तर्कसंगत नभएको आरोप लगाउनुभयो ।
सिंहले प्रधानमन्त्री सुशील कोइरालाले नेतृत्व गरेको सरकार भए पनि सबै दलका सुझाव र भावनालाई समेटेर अघि बढेकाले एमालेले असन्तुष्टि जनाउनु पर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभयो ।
त्यसैगरी शुक्रबारै क्षेत्र नम्बर ४ को नेपाली काँग्रेसको वडा समिति भरतपुर नगरपालिकाको ८ ले गरेको कार्यकर्ता भेलालाई पनि मन्त्री सिंहले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै कांग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरले यसअघि यसै क्षेत्रबाट कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला विजयी भएकाले उहाँसँगै सहकार्य गरी आफू अगाडि बढ्ने भएकाले विकास निर्माणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गनुभयो ।
सो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङ, पूर्व जिल्ला सचिव देवेन्द्र गुरुङ, नेपाली कांग्रेस महासमिति सदस्य दिनेश कोइराला, विजय भुषाललगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post