प्राध्यापक डा. कृष्णप्रसाद पौडेल अर्थोपेडिक र स्पाइनल सर्जन हुन् । विसं २०५७ सालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्साशास्त्रमा स्नातक र २०६३ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट अर्थोपेडिकमा स्नातकोत्तर गरेका उनले यही क्षेत्रमा दुई दशक समय बिताइसकेका छन् । हाल भरतपुर अस्पतालमा कार्यरत प्राडा पौडेलले भरतपुर अस्पतालकै प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । हातखुट्टा र मेरूदण्डसम्बन्धी हजारौँ मानिसको कुशलतापूर्वक उपचार र शल्यक्रिया गरेको मूल्याङ्कनस्वरुप नेपाल अर्थोपेडिक सर्जनलाई प्रदान गरिने अशुमा नेसनल अवार्डमार्फत सम्मानित भइसकेका प्राडा पौडेल स्वास्थ्य क्षेत्रमा मात्र नभई नेपाली साहित्य क्षेत्रमा पनि सक्रिय छन् ।
२०७४ असोज ५ गते पहिलो कृतिको रुपमा ‘खुसीहरुको वनवास’ नामक कवितासंग्रह प्रकाशित गरेका प्राडा पौडेलले २०७७ कात्तिक ७ गते फूलपातीका दिन आफ्नो दोस्रो कृति ‘कम्मरीदेखि कोभिड कहर’ सार्वजनिक गरेका छन् । हाडजोर्नी, नसा र स्वास्थ्यसम्बन्धी जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरेका हुन् । कुल ३१ वटा शीर्षकमा हाडजोर्नी, स्वास्थ्यसम्बन्धी जानकारीका साथै वर्तमान सामाजिक परिवेशलाई पनि समेटेका छन् । प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर चितवन पोष्ट दैनिकका लागि लेखक एवम् हाडजोर्नी विषेशज्ञ डा. पौडेलसँग गरिएको कुराकानी :
१. सामान्यतया कम्मरी भनेर ढाडको दुखाइ भन्ने आमबुझाइ छ । पुस्तकको नाम पनि ‘कम्मरीदेखि कोभिड कहर’ छ, यसबारे बुझौँ न ।
— कम्मर दुख्ने समस्या धेरैलाई हुँदोरहेछ । विश्वमै रूघाखोकीपछि सबैभन्दा धेरै यही समस्याबाट मानिस पीडित बन्दारहेछन् । जनस्वास्थ्यको आँकडा हेर्दा पनि करिब ८० प्रतिशत मान्छेमा कम्मर दुख्ने समस्या हुँदोरहेछ । स्वास्थ्य क्षेत्रमा मेरो २० वर्षे अनुभवले अधिकांश बिरामीको मुखबाट कम्मरी शब्द सुनेँ । र, पुस्तकमा पहिलो लेख नै कम्मरीसम्बन्धी भएकोले पुस्तकको पहिलो र अन्तिम लेखबाट पुस्तकको शीर्षक जुराएको हुँ ।
२. कोभिडकै कारण पुस्तकको जन्म भएको हो भन्न मिल्छ ?
— पुस्तक निकाल्ने तयारी गरेको करिब एक वर्षअघिदेखि नै हो, फुर्सद मिलिरहेको थिएन । विश्व हल्लाएको कोभिड–१९ ले नेपालमा पनि लकडाउन भएपछि अस्पतालहरुमा बिरामीको चाप कम भएपछि पुस्तक निकाल्ने फुर्सद मिल्यो । र अर्को कुरा, हाडजोर्नीसम्बन्धी पुस्तक भएकोले अहिलेको समयमा मानिसहरुले हाडजोर्नीसम्बन्धी समस्या भएमा पुस्तकमार्फत सामान्य उपचार गर्न सक्छन् भन्ने उद्देश्यले पनि यही मौकामा पुस्तक निकालेको हुँ । स्वास्थ्यसम्बन्धी लेख समेटेको सामान्य अवस्थामा अस्पताल जान अझै पनि सहज वातावरण बनिनसकेकोले कतिपय समस्या पुस्तकबाटै समाधान गर्न सकिन्छ र आमपाठकलाई फाइदा पुग्छ भन्ने आधारमा यो समयमा पुस्तक प्रकाशन भएको हो ।
३. लेखक स्वयम् हाडजोर्नी विशेषज्ञ भएकोले सोहीसम्बन्धी विषयको पुस्तक लेखनमा सहजता त भयो नै । यही क्षेत्रमा विशेषज्ञता हासिल नगरेको भए यो पुस्तकको जन्म सम्भव थियो ?
— थिएन, किनभने पुस्तकमा समावेश ३१ वटा लेखमध्ये २२ वटा हाडजोर्नीसम्बन्धी नै छन् । मेरो २० वर्षे अनुभवमा हाडजोर्नीबाहेक अन्य क्षेत्रमा भएको भए पनि यो पुस्तक प्रकाशन हुने थिएन । मैले यो पुस्तक केही वर्ष पहिले नै लेखेको भए पनि सक्थेँ । तर, आफूलाई बढी निखारेपछि र विषेशज्ञता हासिल गरेपछि लेखिएका कुरा अझ बढी प्रभावकारी होला भन्ने लाग्यो । यही विषयको प्राध्यापक भएकोले पनि यसबारे मलाई थप ज्ञान भयो र अब पुस्तक निकाल्दा राम्रै हुन्छ भन्ने सोचेर पुस्तक प्रकाशनमा ल्याएको हुँ ।
४. यो पुस्तक पढेरै अर्थात् अस्पताल नै नगई हाडजोर्नीसम्बन्धी उपचार गर्न सक्ने सम्भावना कत्तिको छ ?
— पुस्तकको मुख्य उद्देश्य र लक्ष्य भनेकै अर्थोपेडिक विषेशज्ञसम्बन्धी जानकारी दिने र वर्तमान अवस्थामा पुस्तक पढेरै हाडजोर्नीसम्बन्धी जानकारी दिलाउने अनि प्राथमिक उपचार आफैँले गर्न सक्ने बनाउनु हो । सामान्य चोटपटकदेखि मेरूदण्ड दुख्ने, ढाड दुख्ने, बाथको समस्यालगायतका उपचारमा यो पुस्तक सहयोगी बन्नेछ भन्नेमा म विश्वस्त छु । अहिले कतिपय मानिसहरु सामान्य दुखाइ र समस्या सहेरै घरमा बसिरहेका छन् । सरकारले नै सामान्य अवस्थामा अस्पताल नजान सुझाव दिएकोले मानिसहरुले हत्तपत्त अस्पताल पुग्ने सोच बनाएका छैनन् । यस्तो अवस्थामा हाडजोर्नीसम्बन्धी समस्या भएमा प्राथमिक उपचार, रोग, शरीर र शरीरको संरचनाबारे बुझेर शरीरलाई तन्दुरूस्त राख्न सकियोस् भन्ने उद्देश्यले चित्रसहित जानकारी दिने प्रयास गरेको छु । नेपाली भाषामा बुझ्न र बुझाउन सकिने गरी लेखेको छु, जसले गर्दा पुस्तकमा भएका कुराहरुलाई राम्रोसँग लागू गरियो भने कतिपय उपचार आफैँ गर्न सकिन्छ ।
५. पुस्तकमा एक्सरेको विषयलाई पनि मह¤वका साथ उठान गर्नुभएको छ नि ?
— हाडजोर्नी दुख्ने वा हड्डी दुख्ने समस्या भएमा वा जुनसुकै अवस्थामा पनि एक्सरे गर्ने भन्ने आममानिसको बुझाइ छ, जुन गलत बुझाइ हो । किनकि, एक्सरेको फाइदा र बेफाइदाबारे हामीले अझै पनि राम्रोसँग बुझाउन सकेका छैनौँ । त्यसैले, यसबारे बुझाउन जरूरी ठानेरै विषय समावेश गरेको हुँ । कुन–कुन अवस्थामा एक्सरे गर्ने र कुन–कुन अवस्थामा एमआरआई गर्ने भन्ने कुरा डाक्टरले हेरिसकेपछिमात्रै भन्न सक्ने कुरा हो । तर एक्सरे, एमआरआई गरेपछि सबै समस्या देखिन्छ भन्ने आमबुझाइ छ, यो गलत हो । र, यसको प्रयोगले पर्न सक्ने नकारात्मक असरबारे धेरैलाई थाहा नभएकोले यो पुस्तक त्यस्ता पाठकका लागि एउटा मह¤वपूर्ण दस्तावेज बन्नेछ भन्ने लागेको छ ।
६. बेलाबेलामा डाक्टर र अस्पताल प्रशासनमाथि आक्रमण भएका घटनाहरु पनि सुनिन्छन् । हाम्रो देशमा अझै पनि डाक्टर र बिरामीबीचको दूरी कम हुन नसकेको हो ?
— कहिलेकाहीँ डाक्टर, स्वास्थ्यकर्मी र अस्पताल वा जोकोहीबाट किन नहोस् गल्ती र कमीकमजोरी हुन सक्छ । तर, उपचार गर्दागर्दै मानिसको मृत्यु हुन्छ भने मृत्यु हुनेको कारण के हो त भनेर बुझ्नुको सट्टा डाक्टरले नै मारेको हो भन्नेजस्ता आरोप लाग्ने गरेका छन् । तर, बिरामीको स्वास्थ्य अवस्था कस्तो थियो भन्नेतर्फ ध्यान गएको देखिँदैन, जसले गर्दा कोही बिरामी उपचारकै क्रममा मृत्यु भएमा अस्पतालमा हुलदङ्गा गर्ने, तोडफोड गर्नेजस्ता क्रियाकलाप दोहोरिरहेका छन् । गलत गर्नेलाई कसैले पनि बचाउन सक्दैन । तर, त्यसका लागि छानबिन गर्ने निकाय हुन्छ, न्यायालयहरु छन् भन्ने कुरा बुझेर बाटो खोज्नुपर्छ, सीधै डाक्टरमाथि नै आक्रमण गर्ने र अस्पताल नै तोडफोड गर्ने होइन । त्यसैले, यसबारे बुझाउन जरूरी ठानेरै यो विषयलाई पनि स्थान दिएको हुँ । किनकि, यो अति नै संवेदनशील विषय हो । बिरामी र डाक्टरबीचको दूरी कम गर्छ कि भन्ने उद्देश्यले यो विषय समेटेको हुँ ।
७. यहाँसँग भरतपुर अस्पतालमा प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट भएर काम गरेको अनुभव पनि छ । पुस्तक प्रकाशनमा आफू प्रमुख व्यक्ति भएर बस्दाको अनुभवले पनि सहयोग पुगेको हो ?
— भरतपुर अस्पताल र रत्ननगर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट भएँ । पर्वतमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएर पनि काम गरेँ । त्यसबाहेक, आफू कार्यरत अस्पतालहरुमा विभिन्न विभागको जिम्मेवारी पनि सम्हालेँ । अन्य संघसंस्थामा पनि विभिन्न भूमिकामा रहेर काम गर्ने मौका पाएँ । त्यसैको अनुभवले पनि मलाई यो पुस्तक लेखनमा सहयोग पुगेको पक्कै हो । र अर्को कुरा, स्वास्थ्य (हाडजोर्नी)सम्बन्धी क्षेत्रमा काम गरेको हुँदा यसबारे आमसर्वसाधारणलाई बुझाउनुपर्छ भनेरै यो पुस्तक लेखेको हुँ ।
८. आयुर्वेद चिकित्सासम्बन्धी विषय पनि समेट्नुभएको छ । हाडजोर्नीको उपचारमा आयुर्वेद चिकित्सा कत्तिको आवश्यक छ ?
— आयुर्वेद चिकित्सा हाडजोर्नीसम्बन्धी उपचारका लागि अति उपयोगी उपचार हो । कतिपय उपचार हामीले अप्रेसन गरेर पनि सफल नहुन सक्छ या कतिपय उपचारमा आयुर्वेदिक चिकित्सा नै चाहिन्छ । त्यसैले, आयुर्वेदिक चिकित्सक डा. कोपिला अधिकारीसँग मिलेर यो विषयलाई समेटेर जानकारी दिने प्रयास गरेको हुँ । किनकि, म त आयुर्वेदिक चिकित्सासम्बन्धी विज्ञ त होइन । तर, हाडजोर्नीको उपचारका लागि आयुर्वेदिक चिकित्सा पद्धतिमा दम छ ।
९. हाडजोर्नीसम्बन्धी पुस्तकमा कोभिड कहर समेट्नु उचित थियो र ?
— पुस्तकमा समावेश ३१ वटा शीर्षकमध्ये ९ वटा सामाजिक स्वास्थ्यसम्बन्धी रहेका छन् । हाडजोर्नीसम्बन्धी मात्र नभई प्रत्यक्ष समाजसँग जोडिएको विषय भएकोले पनि कोभिडलाई समेटेको हुँ । विश्वलाई नै महामारीको रुपमा आक्रान्त बनाइरहेको बेला यो विषय समेटेर महामारीबारे जानकारी दिनु आवश्यक थियो ।
१०. केही वर्षअघि ‘खुसीहरुको वनवास’ नामक कवितासंग्रह प्रकाशित गरिसक्नुभएको छ । दोस्रो पुस्तकले तताएको बजार नसेलाउँदै अर्को पुस्तक पनि तयार गरिसक्नुभएछ, त्यो पुस्तक पनि स्वास्थ्यसम्बन्धी नै हो ?
— पेसाले म डाक्टर भए पनि समग्र नेपाली साहित्यमा मेरो रूचि पहिलेदेखि नै थियो । त्यसैले, केही वर्षअघि कवितासंग्रह निकालेँ । पछिल्लो समय आफू पनि स्वास्थ्यसम्बन्धी क्षेत्रमा कार्यरत रहेकैले धेरै जनाले स्वास्थ्यसम्बन्धी पुस्तक लेख्न सुझाव दिनुभयो । सोही आधारमा मैले निबन्धात्मक शैलीमा हाडजोर्नी, नसा र स्वास्थ्यसम्बन्धी जानकारी दिने उद्देश्यले ‘कम्मरीदेखि कोभिड कहर’ लेखेको हुँ । कोरोनाका कारण केही फुर्सदिलो भएपछि तेस्रो पुस्तक लेखनको कार्य पनि करिब अन्तिम चरणमा पुगेको छ । प्रकाशन कहिले गर्ने भन्ने टुङ्गो नलागे पनि समय सदुपयोग गरेर मेडिकल सोसियोलोजीका विषय समेटेर पुस्तक लेखेको छु ।
मानिसको स्वास्थ्यमा देखिने हरेक समस्याका लागि औषधिमात्रै उपचार र समाधान होइन, जानकारी लिनु र अभ्यास गर्नु पनि उपचार नै हो । त्यसैले, ‘कम्मरीदेखि कोभिड कहर’ पुस्तक पढ्ने हरेक पाठकले कतिपय उपचार आफैँ गर्न सक्छन् । र, विश्वमै कोरोना भाइरस सङ्क्रमणको जोखिम कम नभएकोले सबैजना सुरक्षित भएर बस्न मेरो अनुरोध छ । कम्तीमा पनि दुई वर्ष यसको समस्या रहने अनुमान गरिएको हुँदा आधा समय अझै बाँकी भएकोले आफैँ जोगिनुको विकल्प छैन । र, मेरो पेसा र पुस्तकसम्बन्धी केही कुरा राख्ने मौका दिएकोमा चितवन पोष्ट दैनिक परिवारलाई पनि धन्यवाद । <tulmangurung1@gmail.com>
Discussion about this post