नारायणगढ । बेपत्ता भएका थाइल्याण्डका मानवअधिकारकर्मी पोलाची राकचोडचारियोनको अवस्था सार्वजनिक गर्न बुधबार नारायणगढमा हस्ताक्षर संकलन गरिएको छ ।
गत अप्रिल १७ गतेदेखि बेपत्ता भएका ‘बिल्ली’ भनिने पोलाचीको अवस्था सार्वजनिक गर्ने प्रक्रिया तुरून्त अगाडि बढाउन थाइ सरकारलाई अनुरोध गर्दै हस्ताक्षर संकलन अभियान आयोजना गरिएको हो ।
एम्नेस्टी इन्टरनेशनल नारायणी समूह ३३ ले आयोजना गरेको कार्यक्रममा विभिन्न सर्वसाधारण एवम् सरोकारवाला गरी २ सय भन्दा बढीले हस्ताक्षर गरेको एम्नेस्टी इन्टरनेशनल नेपालका प्रेस विभाग सदस्य अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
एम्नेस्टी इन्टरनेशनलले ३० वर्षका बिल्लीलाई तुरून्तै छाड्नुपर्ने र कानुनी रुपमा कुनै कसुर गरेको प्रमाण भए थाइल्याण्डको स्वतन्त्र कानुनी निकायमार्फत अभियोजन गर्न वकिल र परिवारका सदस्यलाई भेट्न दिन र मानवीय व्यवहार गर्न आह्वान गर्दै अभियानको प्रारम्भ गरेको सदस्य अधिकारीले बताउनुभयो ।
बिल्लीलाई अन्तिम पटक थाइल्याण्डको सेन्टर पेटचाबुरी प्रोभिन्सकोे कायकार्चन राष्ट्रिय निकुञ्जका अधिकारीहरुको हिरासतमा देखिएको थियो ।
उनलाई राष्ट्रिय निकुञ्जका अधिकारी वा राष्ट्रिय निकुञ्ज विभाग, वन्यजन्तु र बोटविरुवा संरक्षणको विरूद्धमा आवाज उठाएकोले जबर्जस्ती बेपत्ता पारिएको हुन सक्ने आशंका गरिएको छ ।
त्यसैगरी एम्नेस्टी इन्टरनेशनल स्थपनाको ५३ औं दिवसका अवसरमा बुधबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । कार्यक्रममा पूर्व संयोजकहरु कमल कँडेल, महेश पौडेल, अर्जुन अधिकारीलगायतले बोल्नुभएको थियो ।
Discussion about this post