पर्सा । वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको एक्स–रे मेसिन एक सातादेखि बन्द भएपछि बिरामी मारमा परेका छन् ।
अस्पतालमा एक्स–रे मेसिन प्लेट अभावको कारण एक सातादेखि बन्द भएपछि उपचार गराउन आएका बिरामी मारमा परेका हुन् ।
अस्पताललाई कच्चापदार्थ तथा औषधि पूर्ति गर्ने ठेक्का पाएको सिटी सर्जिकल वीरगन्जले एक्स–रे प्लेट उपलब्ध नगराएकै कारण बिरामीलाई सेवा दिन नसकिएको एक्स–रे फाँटका प्रमुख प्रदीप साहले बताउनुभयो ।
दैनिक एक सयभन्दा बढी बिरामीको चाप थेग्दै आएको एक्स–रे सेवा बन्द भएपछि महँगो दरमा अस्पतालबाहिर एक्स–रे गराउन बिरामी बाध्य भएको शाखा प्रमुख साहले जानकारी दिनुभयो ।
सो सन्दर्भमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट रामाशङ्कर ठाकुरसँग बुझ्दा उहाँले ठेकेदार कम्पनीलाई अस्पतालले तिनुपर्ने करिब रु १२ लाख बक्यौता भएको कारण एक्स–रे प्लेट उपलब्ध नगराएको जानकारी दिनुभयो ।
“अस्पतालका लागि स्वास्थ्य मन्त्रालयबाट रु एक करोड ६४ लाख अनुदान रकम माग गरिएको छ, आउने वित्तिकै एक्स–रे सुरु हुने”–मेसु ठाकुरले बताउनुभयो । रासस
Discussion about this post