रमा घिमिरे
हामी आज सातौँ गणतन्त्र दिवस मनाउन आइपुगेका छौँ । सामन्तवादी राजसंस्थालाई हटाएर जनताको छोरो राष्ट्रपति बनाएर शासन गरेको पनि ६ वर्ष पूरा भएर सातौँ वर्ष लागेको छ । यो अवधिमा हामीले दुईवटा संविधानसभाको निर्वाचन गरिसकेका छौँ । विश्वमा बिरलै हुने संविधानसभा चुनाव नेपालमा दुई पटक भइसकेको छ । अघिल्लो संविधानसभामा ठूलो पार्टी बनेको एमाओवादी पछिल्लो निर्वाचनमा तेस्रो स्थानमा आइपुगेको छ । हिंसा, हत्या, डर, त्रास देखाएर हैन, जनतालाई रोजगार दिएर शान्तिपूर्ण तरिकाले राजनीतिक यात्रा गर्नुपर्दछ भन्ने आमनागरिकले बुझिसकेका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक हो । आज मुलुकमा बस्ने जनजातिलाई लागेको छ, हाम्रो पहिचान छैन । उत्पीडित समुदायलाई लागेको छ, हामी त राज्यको कुनै पनि ठाउँमा छैनौँ । मुस्लिमलाई लागेको छ, हामी त आफ्नै मुलुकमा बिरानो छौँ । हाम्रो देशमा यसरी जातजाति, भाषाभाषीलाई शोषण तथा दमन गरेर बसेकाले यो समाप्त पार्नुपर्छ भनी लोकतान्त्रिक राज्य पुनर्संरचनाको कुरो चलिरहेको छ । उग्र वामपन्थी र दक्षिणपन्थी सोचले देशमा लोकतन्त्र बलियो हुँदैन । जुन पार्टीले लोकतान्त्रिक दृष्टिकोण र विचारमा जनतालाई परिचालन गर्दछ, त्यही पार्टीका युवाहरुले नै राष्ट्रनिर्माण गर्दछन् ।
आज हामीकहाँ जातिका नाममा विभाजित मानसिकता लिएर तँछाडमछाड गरिएको छ । अहिलेको अवस्था घरको जग हाल्ने बेला हो । जगमा पिल्लर बलियो हाल्न सके घर बलियो हुन्छ, नत्र टिकाउ हुँदैन । जसले जति हुन्छ, राज्यकोषबाट आफ्नो खातामा पैसा सार्न आतुर छन् । राज्यलाई कसरी छल्न सकिन्छ भनी व्यापारी भन्दछन् । कर्मचारी भ्रष्टाचार गर्दछन् । न्याय दिने निकायले पैसा हेरी फैसला गर्दछ । देश यस्तो गर्नाले बन्दैन ।
नेपालीले लामो समयदेखि संघर्ष गर्दै रहँदा लाखौँले ज्यान गुमाएका, कति बेपत्ता भएका, कति घरबारविहीन भएका छन् । बीपीले चाहेको नेपाल, प्रगतिशील, बहुलवादी, लोकतान्त्रिक, आत्मनिर्भर, समावेशी स्वरुपको मित्रभावको देश नै हो । आजसम्म पनि आफ्ना नागरिकलाई नोकर बनाउन विदेश पठाएर तिनका रगत, पसिनाको कमाइको आर्जित धनमा बाँच्न पुगेको समाजमा परिवर्तन ल्याउनुछ । हाम्रो मुलुक सुन्दरताले भरिएको छ, यहाँ के छैन र ? सुनको थालरुपी देशले सुकाको भीख मागेर गरिबी देखाएको छ । अहिलेको हाम्रो शिक्षाले जागिर खान बाहिर जान सिकाएको छ । उद्यमशील मानसिकता, सोचविचार आजको आवश्यकता हो ।
आजको शिक्षाले बेरोजगार उत्पादन गरेको हुँदा काम नपाएर युवाहरु राजनीतिमा हाम फालेका छन् । यसले देशलाई अनुत्पादक बनाएको छ । राजनीतिलाई सबैले अधिकारमुखी बनाए, कर्तव्यमुखी बनाएनन् । रोजगारका लागि वेदतिर भौँतारिने युवाहरुलाई यही काम गर्ने वातावरण बनाउनुपर्दछ । हाम्रो देशमा सबै नागरिकले सजिलै गर्न सक्ने पेसा कृषि नै हो । कृषिलाई विकास गर्न सके जमिन पनि टुक्रिँदैन, खेतीयोग्य जमिन मासिँदैन । हाम्रो प्रारम्भिक रोजगार कृषि नै हो । कृषि क्षेत्रलाई प्राथमिकतामा नराख्नाले दुःख भइरहेको छ । भोकमरी बढिरहेको छ, जमिन बाँझा छन् । स्थिति झन्झन् खस्केको छ । बेलैमा युवाहरुलाई टिकाउने नीति नल्याउने हो भने देशमा बूढाबूढी र केटाकेटीबाहेक अरु कोही हुँदैनन् ।
आज हाम्रो राजनीतिक, सामाजिक, आर्थिक जीवन बिग्रेको छ । मानिस मानसिक पीडाले छटपटिएको छ । स्वस्थ शरीर भएका नागरिक देशका सम्पत्ति हुन् । बुद्धि, विवेक नयाँनयाँ योजना ल्याएर सबैलाई रोजगार बनाई व्यस्त बनाउने पनि राष्ट्रको सोचले गर्दा मुलुकले फड्को मार्न सकेको छैन । विदेशमा चना चटपट बेचेर कपाल काटेर बसेका छन् । हामीकहाँ दिनभरि हल्लिएर हिँड्ने र बेलुका रक्सी पिउन त्यसका लागि चोर्ने, अपहरण गर्ने र कमजोरलाई लुट्ने गलत प्रवृत्ति हाबी छ ।
ठीक तरिकाले बाँच्न काम सानो–ठूलो नभनी गर्नुपर्दछ । काम जताततै छिरलिएको छ । कामलाई सम्मान गर्न सके भोकै मर्नुपर्दैन । गरिब, किसान र गाउँको हित गर्ने योजना ल्याउन सके नै सबैलाई काम पुग्दछ । हामीले सामन्तवादको मूल जरा नै उखालिसकेका छौँ । अब देशमा शान्ति स्थापना गरेर औद्योगिक क्रान्तिले देश समृद्ध पार्नुछ । गणतन्त्र दिवसले सबैमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रप्रति एक हुने सोच पलाओस् । एक वर्षमा संविधान बनाउने सोच संसद्मा आओस् ।
Discussion about this post