दिपेन्द्र अधिकारी
भरतपुर । भरतपुर विमानस्थलको पश्चिम र दक्षिणतर्फका २५७ वटा घरटहरा भत्काउनुपर्नेबारे सम्बन्धित निकायले प्रतिवेदन सार्वजनिक गरेपछि स्थानीय रूष्ट बनेका छन् । उनीहरुले मंगलबार पत्रकार सम्मेलन गरी प्रतिवेदनको विरोध गरेका छन् । यस क्षेत्रका विभिन्न १० वटा टोल सुधार समितिले संयुक्त रुपमा विज्ञप्ति निकाली विरोध गरेका हुन् । प्रतिवेदन कार्यान्वयन आएमा स्वतन्त्रताको हक हनन हुने उनीहरुको भनाइ छ ।
पत्रकार सम्मेलनमा उपस्थित स्थानीयले आफूहरु खबर थाहा पाउने बित्तिकै निकै निराश बनेको बताएका थिए । ‘विदेशमा भएका आफन्तले बारम्बार फोन गरेर सोधिरहेका छन्, एक महिलाले भनिन् । नगरपालिकाले स्वीकृति दिएभन्दा बढी घरमा तला थप्ने काम नगरेको स्थानीयको भनाइ छ ।
मापदण्डविपरीतका बारेमा आफूहरुलाई पूर्वजानकारी नदिनु र नगरपालिकाले पनि केही नभनी सहजै नक्सा पास गरिदिनुले समस्या आएको स्थानीय घनश्याम भट्टराइले बताए । भरतपुर विमानस्थल क्षेत्रमा निर्माण भएका कुल ३१३ मध्ये २५७ घर मापदण्डविपरीत पाइएको भरतपुर विमानस्थल प्रमुख बच्चुराम श्रेष्ठले बताए । स्थानीयले नगरपालिकाले समयमै ध्यान नदिँदा अहिले अप्ठेरो परेको बताएका छन् ।
स्थानीयवासीले यस विषयमा नागरिक उड्डयन प्राधिकरणलाई जिल्ला प्रशासन चितवनमार्फत मंगलबार विज्ञप्ति पठाएका छन् । हाल भरतपुर विमानस्थल वरपर धेरै नै अग्ला भवनहरु बनिसकेकाले उक्त भवनहरुले उडान तथा अवतरणमा गम्भीर असर पु¥याइ रहेको र भविष्यमा झनै अप्ठेरो अवस्था आउन सक्ने देखिएकाले मापदण्डविपरीतका भवन तत्काल हटाउन समितिले सुझाव दिएको थियो ।
विमानस्थलको पश्चिमतर्फ ५० मिटरभित्र रहेको ८८ वटा स्थायी र १ वटा अस्थायी भवन मापदण्डविपरीत रहेको प्राविधिक समितिले जनाएको छ । त्यस्तै दक्षिणतर्फ २५९ मिटरभित्र ५९ वटा स्थायी र ८ वटा अस्थायी भवन मापदण्डविपरीत निर्माण भएको पाइएको छ । यस क्षेत्रको २६० देखि ४५९ मिटरसम्म ९७ वटा स्थायी र ४ वटा अस्थायी घर मापदण्डविपरीत रहेको समितिले ठहर गरेको छ । कुल २४४ स्थायी र १३ वटा अस्थायी संरचना मापदण्ड विपरीत रहेका पाइएको छ ।
भरतपुर विमानस्थल वरपर विमानस्थल मापदण्डविपरीत बनेका स्थायी संरचनाहरुको लगत संकलन गरी प्रतिवेदन पेश गर्न ३ सदस्यीय प्राविधिक गत फागुन ९ गते गठन भएको थियो । नेपाल नागरिक उड्यन प्राधिकरण ऐन २०५३ को दफा ७ को उपदफा १ र २ को भावनाविपरीत रहेको समितिको ठहर छ ।
यस क्षेत्रफल साना विमानका लागि उपयुक्त भएपनि हाल संचालित विमानहरुका लागि धावनमार्ग नपुग भएको कार्यालयले जनाएको छ । यसै समस्यालाई ध्यानमा राखी गत मंसिर महिनाबाट विमानस्थलको दक्षिण क्षेत्रमा भवनका लागि नयाँ नक्सा पास गर्ने काम रोकिएको भरतपुर नगरपालिकाका प्रमुख नारायण सापकोटाले बताए ।
Discussion about this post