गुन्डा तह लगाएर सर्वसाधारणमा सकारात्मक चर्चा कमाएका एसएसपी रमेश खरेललाई काठमाडौँ प्रहरी प्रमुखबाट हटाउने निर्णयले शुभेच्छुकहरुलाई दुःखी बनाएको छ । एसएसपी खरेलले शनिबार महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रममा डिआईजीहरु एआईजीमा बढुवा हुन पैसाको चलखेल भइरहेको प्रतिक्रिया दिएपछि उनी कारबाहीमा परेका हुन् । यसअघि एक टेलिभिजन अन्तर्वार्तामा केही सीमित प्रहरी अधिकृतलाई स्वच्छ र अरुलाई भ्रष्टका रुपमा चित्रण गरेपछि उनी संगठनभित्र आलोचित भएका थिए । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले विवादित अभिव्यक्ति दिएको निहुँमा खरेललाई हटाउन निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशन नियोजित रुपमा आएको अनुभव गरिएको छ । प्रहरी संगठनभित्र बढुवामा लेनदेन हुने सार्वजनिक अभिव्यक्ति दिएपछि गृह मन्त्रालय र प्रहरी नेतृत्व खरेलप्रति असन्तुष्ट बनेको थियो ।
एउटा जिम्मेवार प्रहरी अधिकृतले हचुवाका भरमा मात्रै डिआईजीहरु एआईजी बन्न बिफ्रकेस बोकेर मन्त्री र नेताको घर धाइरहेको अभिव्यक्ति दिन सक्दैन । उनको भनाइले प्रहरी संगठनभित्र पैसाको चलखेलबाट सरूवा र बढुवा हुने प्रचलन भइरहेको संकेत गरेको छ । खरेलको गम्भीर प्रतिक्रियापछि छानबिन गर्न डिआईजी विज्ञानराज शर्माको तीन सदस्यीय समिति बने पनि प्रतिवेदन कुर्नेसम्मको साहस गृहमन्त्रीले गर्न नसक्नु दुर्भाग्य हो । केही महिनाअघि काभ्रेमा आयोजित एक कार्यक्रममा केही गुन्डा नाइकेहरुको उक्साहटमा गृहमन्त्री गौतमले एसएसपी खरेल सेलिब्रेटी बन्न खोजेको र आफूलाई एकपटक पनि भेट्न नआएको भन्दै आपत्ति जनाएका थिए । त्यतिबेलै खरेलमाथि कारबाही गर्न खोजिए पनि आईजिपी अर्यालले उनले प्रहरीको चेन अफ कमान्ड उल्लंघन नगरेको भन्दै खरेलको बचाउ गरेका थिए । तर, यसपटक उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन आउनुअघि नै खरेललाई हटाउने निर्णय गर्नु गृहमन्त्रीको हतास मनस्थितिको उपज मान्न सकिन्छ ।
रमेश खरेल परिसर प्रमुखमा नरहनु ठूलो कुरा होइन । यस्तो निर्णयले गुन्डाहरुको पक्षपोषण गर्छ भन्ने कुरा प्रमुख हो । राम्रा कामका कारण खरेल सञ्चारमाध्यममा चर्चामा आइरहन्छन् । सर्वसाधारणले खरेलको कामप्रति प्रशंसा गर्दै आएका छन् । केही वर्षयता प्रहरी हुनु त रमेश खरेलजस्तो भनेर उदाहरणका रुपमा उनको नाम उच्चारण गर्ने गरिएको छ । उनको कामको सम्मान गर्दै एसपी खरेल नामक चलचित्रसमेत निर्माण गरियो । लाखौँ जनताका आशाको केन्द्र बनेका खरेलबाट विद्यालयका कलिला बालबालिकाले समेत भविष्यमा रमेश खरेलजस्तो योग्य प्रहरी बन्ने लक्ष्य बोकिरहेका छन् । आर्थिक लाभ र कर्तव्यबाट कहिल्यै विचलित नहुने एसएसपी खरेलले काठमाडौँका गुन्डा तह लगाउन अपरेसन सुरू गरेलगत्तै नेता तथा प्रहरीभित्रकै उच्च अधिकारी उनीविरूद्ध खनिँदै आएका थिए । खरेलले वीरगन्ज र काठमाडौँ प्रमुख भएर काम गर्दा गुन्डागर्दी र आपराधिक गतिविधि नियन्त्रण गरेर प्रसिद्धि कमाएका थिए । गृहमन्त्रीले आफूअनुकूल काम नगरेको रोष साधेर कारबाही गर्नु अन्याय हो ।
Discussion about this post