शान्ता अधिकारी
जिन्सको पाइन्ट, माथि सर्ट र सर्टबाहिर कालो ज्याकेट, स्पोर्टस् सुजमा बाइकमा कतै महिलाजस्तै लाग्यो भने तपाईं नझुक्किनु भए हुन्छ । सधैँजसो यस्तै पहिरनमा हिँड्ने व्यक्ति हुनुहुन्छ, सरिता केसी । महिला नेतृ एवं समाजसेवी सरिताको यस्तो पहिरन लगाउनु रहर मात्रै होइन, आफ्नै बाध्यता पनि छ ।
नेपाली कांग्रेस चितवन महिला विभाग संयोजक केसीले निकै आरोह–अवरोह पार गरेर यो स्थानसम्म आइपुग्नु भएको छ भने आफ्ना रोजाइका पहिरनलाई पनि पाखा लगाउनु परेको छ । विभिन्न आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै बाल्यकालदेखि नै कांग्रेसमा निरन्तर रुपमा लागिरहनुभएकी केसीले जेल जीवनदेखि साधारण महिला सबैको भूमिका निर्वाह गर्नुभएको छ ।
आफ्नो मह¤वाकांक्षालाई भन्दा पार्टीको एजेन्डा पहिलोे मान्ने सरिता १२–१३ वर्षको उमेरदेखि नै कांग्रेसमा सक्रिय मामाघरको हजुरबुबालाई लुकीलुकी बसेको ठाउँमा खाना लगिदिने गर्नुहुन्थ्यो ।
‘२०४५ साल वैशाख ६ गते नेविसंघ दिवस मनाउन शिवनगर स्कुलमा जाँदा बीचबाटोबाटै पुलिसले पिट्दै लिएर गयो, त्यो मेरो पहिलो सहभागिता थियो ।’ आफ्नो बाल्यकालको अवस्था सम्झँदै उहाँ भन्नुहुन्छ– ‘सायद त्यो नै मेरा लागि जीवनलाई नजिकबाट नियाल्ने दूरबीन बनेको थियो । हामी धेरै साथीहरु थियौँ, पछि पुलिसको आँखा छलेर कार्यक्रम सम्पन्न ग¥यौँ ।’
विद्रोही स्वभावकी सरितामा दिनदिनै पुलिसले नेताहरु पिट्ने र नेताहरु भागीभागी हिँडेको देखेर राजनीतितिर झुकाव बढ्दै गयो । मामाघरमा बाल्यकालीन अवस्था बिताएको बताउने उनी मामाघरको हजुरबा पञ्चायतकालमा वडा अध्यक्ष, मामाहरुको राजनीतिमा संलग्नता अनि आमामा पनि केही रस पसेको अवस्था थियो ।
‘हजुरबुबा म सात वर्षको हुँदा बीपीको घर जानुभएको थियो । आउने–जाने क्रम भइरहन्थ्यो । अन्य नेताहरु पनि चितवनमा आउँदा हजुरबुबासँग भेट हुन्थ्यो । अनि, भेटमा आफ्ना संघर्Èका कुराहरु सुनाउ“दा आफू दह्रो भएको अनुभूति हुन्थ्यो । हजुरबुबालाई हेर्दा दरिलो खम्बाजस्तो लाग्थ्यो’– सरिता दिदी भन्नुहुन्छ ।
विशेषगरी आमालाई आफ्नो राजनीतिक प्रेरणाको स्रोत मान्ने सरिता २०४६ सालको जनआन्दोलनमा घरबाट भागेर सहिदचोकसम्म आएको र सहिदचोकबाट निस्किएको जुलुसमा सहभागी हुँदै गर्दा भागेर ज्यान बचाएको सम्झँदै भन्नुहुन्छ ः
‘त्यो समय सायद मेरो नयाँ आकांक्षा र सपना पलाउने तरखरमा थियो । मेरो जिन्दगीमा त्यही बेलादेखि केही काम गर्ने चाह र त्यसलाई कार्यान्वयन गर्ने जुझारूपन थियो ।’
प्रसंग कोट्याउँदै उहाँ भन्नुहुन्छ– ‘टाउको कस्नका लागि आमाले घरमा सिलाएको चारतारे झन्डा लिएर साइकलमा सहिदचोकसम्म आएको थिएँ ।’
ती दिनको सम्झना गर्दै गर्दा उहाँमा युवा जोश कस्तो थियो होला भन्ने अनुमान लगाउन गाह्रो भएन मलाई । सरिता, महिलाहरु पितृसत्तावादको बच्चा उत्पादन गर्ने साधन मात्र नभएर, सिङ्गो समाज निर्माण गर्ने सक्ने संघर्षका वाहक हुन् भन्नुहुन्छ । अहिलेसम्म आफ्नो व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि कुनै पनि नेताको घरदैलो चहारेको छैन भन्ने केसी जिब्रोलाई हल्लाउँदै, चपाउँदै राम्रा–राम्रा शब्द प्रयोग गरेर मात्रै राजनीति गर्न नसकिने बताउनुहुन्छ ।
सरल जीवनशैली छ । त्यस्तो जीवन पार्टीका लागि सुम्पिएको छु । जवानी र लगानी सम्पूर्ण खर्च भयो । यस्तो अवस्थामा पछि आएकालाई पार्टीले स्थान दिने र पुरानालाई
उपेक्षा गर्न खोज्दा कताकता चित्त मात्रै दुख्दैन, किन पार्टीमा आफ्नो सम्पूर्ण जीवन खर्चें भन्ने पनि सरितालाई लाग्दोरहेछ ।
‘आठ कक्षामा पढ्दै गर्दा विवाहको प्रस्ताव तीन पटकसम्म
आयो । दाइ आर्मीमा, दिदीको विवाह भइसकेको थियो, बहिनी सानै, आमाबुवा रोगी, त्यसमाथि पारिवारिक जिम्मेवारी थियो । त्यसपछिका दिनहरुमा पनि थुप्रै प्रस्ताव आए’– ३९ वर्षकी अविवाहित सरिता भन्नुहुन्छ, ‘विवाह भनेको सन्जोग, समय र शनियोग रहेछ सायद, सबै नजुरेर होला ।’ अहिले विवाह समयमा नै नगरेकोमा केही खड्किए पनि पश्चात्ताप नै उहाँलाई छैन ।
२०४९ सालदेखि नेपाली कांग्रेस चितवनमा सक्रिय रुपमा लागेकी सरितालाई चितवनमा हुन लागेको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर चारमा भाग लिन प्रधानमन्त्री सुशील कोइरालाले आग्रह गरे पनि टिकट नपाएको कुरा बताउँदै केसी भन्नुहु्न्छ– ‘अग्रजहरुमा लडाइँ भइरहँदा युवा, महिला सबैलाई मिलाएर लैजान
आग्रह गरे पनि त्यसो हुन नसकेको अवस्था छ ।’
अहिले सबैभन्दा बढी आलोचना गरिने क्षेत्र राजनीति नै हो । त्यसैमा आफ्नो भविष्य खोज्ने सरिताको युवा अवस्थाले ३९ दिन जेल जीवन बिताइसकेको छ । जेल आफैँमा कष्टकर हुन्छ, त्यसमा पनि देशमा संकटकाल लागेको समयमा रातको बेला प्रहरीको नियन्त्रणमा पर्दा आफ्नो स्वाभिमानबाहेक केही सोच्न नपाएको बताउँदै गिरफ्तार भएको दिन सम्झँदै उहाँ भन्नुहुन्छ ः
सात पार्टीको संयुक्त आन्दोलन थियो । काठमाडौँमा सहभागिता जनाउनका लागि टेकप्रसाद गुरूड दाइ, एकनाथ रानाभाट, म लगायतका नेताहरु काठमाडौँमा गएका थियौँ । रत्नपार्कबाट मलाई पुलिसले गिरफ्तार ग¥यो । देशमा संकटकाल थियो । मन कताकता डराइरहेको थियो । राति नौ बजे दरबारमार्गको प्रहरी बिटमा लग्यो । त्यहाँ असुरक्षा छ भनेर बानेश्वर महिला वृत्तमा लैजाने भनेर गाडीमा हाल्यो । १५–१६ जना जवानहरुका बीचमा एक महिला थिइन् । लामो श्वास फेरेर भगवान् सम्झँदै आफ्नो चरित्रमाथि कुनै दाग नलागोस् भनी कामना गर्न थालेँ । एक घन्टाजति गाडीमा घुमाएपछि एक जना प्रहरी भाइलाई घर कहाँ हो भनेर नजिक हुने कोसिस गरेँ । दुई घन्टापछि बानेश्वर वृत्तमा पुगेपछि अब त बाँचिन्छ कि भन्ने आशा पलायो । घरपरिवार सबै सम्झिएँ, सँगै आएका दाजुहरु सम्झिएँ । त्यो रात मेरो जीवनकै सबैभन्दा अविस्मरणीय
रात थियो ।’
उहाँ थप भन्नुहुन्छ– ‘१५ दिनसम्म वानेश्वर वृत्तमा राखियो, पछि महेन्द्र पुलिस क्लबमा लगियो । महेन्द्र पुलिस क्लबमा कांग्रेस र एमालेनिकट महिलाहरु ८५ जना हुनुहुँदो रहेछ । अनि, ममा फेरि केही साहस पनि बढ्यो । आत्मबल प्रबल भयो भने जस्तोसुकै समस्यालाई पनि चिर्न सकिने रहेछ ।’
सरिता आफ्नो राजनीतिक यात्राका कुरा गरिरहँदा उहाँ राजनीतिमा विकृति आउनु र यसबाट सृजना भएका सामाजिक मूल्य र मान्यता अवमूल्यन हुनुमा राजनीतिक निकायहरु मात्र जिम्मेवार हुन नसक्ने भन्दै त्यसलाई प्रयोग गर्ने र बिगार्ने अरु असामाजिक निकाय वा व्यक्तिहरु पनि त्यत्ति नै जिम्मेवार हुनुपर्ने बताउनुहुन्छ ।
आजको अवस्थामा आइपुग्दा नेपालका महिलाहरुले आफ्नो साहस र विवेक प्रयोग गरी चौतर्फी क्षेत्रमा विकास गर्दै निरन्तर अगाडि बढिरहेका छन् । त्यस्तो राजनीतिका अलावा सामाजिक कार्यमा समेत सक्रिय सरिता आदर्श नारी विकास केन्द्रकी संस्थापक सदस्य हुँदै अहिले आदर्श बचत तथा ऋण सहकारी संस्थाकी सचिव, आदर्श गृहकी कार्यसमिति सदस्यलगायतका संघसंस्थामा रहेर सामाजिक कार्यमा अगाडि बढिरहनुभएको छ ।
उहाँ भन्नुहुन्छ– ‘हामीहरु क्षति र उपलब्धिका बीचबाट अगाडि बढ्ने गरेका छौँ । हो, जीवनमा केही गुमाए पनि राजनीति र सामाजिक कार्यमा लाग्न पाउँदा आफूलाई आत्मसन्तुष्टि भने मिलेको छ ।’
सरिताको युवा लगाव देख्दा यस्तो लाग्यो, नेताहरु केही हदसम्म ऐनाजस्तै हुँदा रहेछन् । उनीहरुबाट राम्रो काम पनि पाउन सकिने रहेछ भने नराम्रा पनि । सरिता दिदी, तपाईं आफ्नो क्षमता र सक्रियतालाई राम्ररी प्रयोग गर्दै नेपाली महिलाहरुको आवाजका रुपमा गुन्जिँदै जानू र अन्यायमा परेकालाई न्याय दिँदै जानू है । आगामी दिनमा सफल नेतृत्वदायी भूमिकाका लागिसमेत शुभकामना !
¨¨
Discussion about this post