भरतपुर । नारायणगढको पुलचोकदेखि भरतपुरको केन्द्रीय टर्मिनल केन्द्रसम्मको पूर्व–पश्चिम राजमार्गलाई ‘ट्राफिक जाम मुक्त क्षेत्र’ बनाउने अभियान सुरू भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, भरतपुर नगरपालिका र डिभिजन सडक कार्यालय भरतपुरको संयुक्त पहलमा राजमार्गलाई ट्राफिक जाम मुक्त क्षेत्र बनाउन लागिएको हो ।
‘नारायणगढदेखि केन्द्रीय टर्मिनल केन्द्रसम्म नै सजिलै सवारीसाधन चल्न सकोस् भन्ने उद्देश्य हो’, जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरका निमित्त प्रमुख रामचन्द्र घिमिरेले भने, ‘अहिले यो सडकमा निक्कै जाम भएको छ । यसलाई सहज बनाउनु अभियानको उद्देश्य हो ।’
अभियानअन्र्तगत् नारायणगढमा पुल्चोकदेखि लायन्सचोकसम्म विभिन्न स्थानमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ । तोकिएको पार्किङ क्षेत्रभन्दा बाहिर सवारीसाधन रोके कडाभन्दा कडा कारबाही गरिने रणनीति पनि ट्राफिक प्रहरीले लिएको छ । ‘देशकै मध्य र केन्द्र भागमा रहेकाले पनि पुलचोक अहिले सबैभन्दा बढी जाम हुने क्षेत्रका रुपमा रहेको छ’, उनले भने, ‘पुलचोकसँगै सबै क्षेत्रमा जाम हटाउनुपर्ने दायित्व सबैको हो ।’
लायन्सचोकदेखि केन्द्रीय बस टर्मिनलसम्म सडक क्षेत्रमा डोजर लगाएर सर्वसाधरणलाई पैदल हिंड्नका लागि सहज बनाउने कार्य पनि सुरू गरिएको छ । ‘पहिलो प्राथमिकता पैदल यात्रुलाई राजमार्गको छेउबाट सहज हिँड्डुल गर्न दिनु हो भने राजमार्गमा पनि रेखाङ्कन गरेर सवारीसाधनलाई समेत व्यवस्थित गराउने कार्यक्रम छ ।’
अभियानअन्र्तगत् राजमार्ग क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरटहरा पनि हटाउने कार्यक्रम छ । ‘अतिक्रमण हटाउनुसँगै सडकको पेटी विस्तार गर्न लागेका छौँ’, भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले भने ।
ट्राफिक प्रहरीले यो सडकमा ट्राफिक संकेतयुक्त साइन बोर्डहरु राख्ने तयारी गरिरहेको छ । अहिले ४० वटा साइनबोर्ड रहेकोमा त्यसलाई बढाएर ७० वटा बोर्ड राख्ने तयारी ट्राफिक प्रहरीको छ ।
पुलचोकदेखि केन्द्रीय बस टर्मिनलसम्मका क्षेत्रहरुमध्ये पुलचोक, सहिदचोक, लायन्सचोक, वीरेन्द्र क्याम्पसचोक, चितवन मेडिकल कलेज अगाडि, चौबीसकोठी, हाकिमचोक र केन्द्रीय टर्मिनल केन्द्रको चोकमा बढी ट्राफिक जाम हुने क्षेत्रका रुपमा लिएर विशेष कार्यक्रम त्यही क्षेत्रलाई तोकेर बनाइएका छन् । यो क्षेत्रलाई ट्राफिक जाम मुक्त क्षेत्र बनाउनका लागि नारायणी अञ्चल प्रहरी कार्यालयको पनि चासो देखिएको छ । सोमबार भरतपुरमा पत्रकार सम्मेलन नै गरेर प्रहरीका अञ्चल इन्चार्ज सवेन्द्र खनालले ट्राफिक जाम मुक्त क्षेत्र बनाउन सबैले सहयोग गर्न आग्रह पनि गरे ।
Discussion about this post