रत्ननगर । पोल्ट्री व्यवसायको विकासको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । सरकारसँगको सहकार्यमा पोल्ट्री नीतिको प्रभावकारी कार्यान्वयन गर्न सकेमात्र व्यवसायमा सफलता हात पार्न सकिने उनीहरुको भनाइ थियो ।
रत्ननगर उद्योग वाणिज्य संघको सहयोगमा कुखुरा व्यवसायी संघ पूर्वी चितवन र रत्ननगर नगरपालिकाले सोमबार आयोजना गरेको जैविक सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रममा उनीहरुले पोल्ट्री व्यवसायको विकास र विस्तारको लागि सरकारसँगको सहकार्यमा जोड दिएका हुन् ।
कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रमान श्रेष्ठले लागत मूल्य घटाउन नसक्दा व्यवसायीहरुले घाटा बेहोर्न बाध्य भएको भन्दै सरकारी निकायको सहकार्यमा दाना, औषधिको मूल्यमा समायोजन गर्नुपर्ने बताउनुभयो । उहाँले पोल्ट्री नीतिको कार्यान्वयन गर्न सके मात्र व्यवसायीले राहत पाउने बताउनुभयो ।
कार्यक्रममा अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुराललगायतले बोल्नुभएको थियो । डा.होमबहादुर बस्नेत र रेवन्त भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष रघुनाथ भट्टको अध्यक्षतामा कार्यक्रम भएकोे थियो ।
Discussion about this post