डुबानले स्थानीयको खुलेन चेत : फेरि पुरे नहर

अन‌ि यो पनि

भरतपुर । बर्खाको पानीले यसवर्ष भरतपुर महानगरपालिकाका विभिन्न वडाहरु डुबानमा परे । भरतपुर–५, ७, ९, १०, ११ र १२ लगायत विभिन्न वडाहरुमा घरटहरा, सडक र सरकारी कार्यालय नै डुबानमा परेपछि महानगरले डोजर लगाएर खोलेको अतिक्रमित नहर स्थानीयहरुले फेरि पुरेका छन् ।

डुबान भएको एक महिना पनि नपुग्दै स्थानीयहरुले फेरि पानीको निकास पुरेका हुन् । जसले डुबान भयो भनेर गुनासो गरेको थियो उसैले पानीलाई निकास दिन खोलिएको नहर पुरेको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बताए । उनले शुक्रबार फेसबुकमा स्टाटस राख्दै भने, ‘हिजो जो मान्छे ठूलो स्वरमा डुबान भयो भनेर कराएका थिए आज तिनैले खोलिएका ठाउँ पुरेका छन् । यस किसिमको कामको घोर निन्दा गर्न जरूरी छ ।’

अर्काे वर्ष पनि डुबानको समस्या आए निकास पुर्नेलाई सार्वजनिक अपराधमा मुद्दा दायर गर्नुपर्ने उनले बताए । वर्षाको पानीले जलमग्न भएपछि महानगरले असोज ६, ७ र ८ गते भरतपुर–५, ७ र १० मा अतिक्रमित नहर खोलेको थियो । अन्य वडामा भन्दा भरतपुर–७ का स्थानीयले धेरै ठाउँमा पानीको निकास पुरेका छन् ।

सिर्जनाचोक हुँदै बुद्धचोक र क्यान्सर १ नम्बर गेटअगाडि खोलिएको नहर पुरिएको छ । अहिलेको वर्षामा यही क्षेत्र बढी डुबानमा परेको थियो । ‘भरतपुर–७ का धेरै ठाउँमा नहर पुरेको जानकारी आएको छ’, महानगरका प्रवक्ता अरूण पीडित भण्डारीले भने, ‘अर्काे वर्ष फेरि डुबान हुन्छ, त्यो आफैँले बुझ्ने कुरा हो ।’

महानगरले अब निकाससहितको विकासलाई अगाडि बढाउने उनले बताए । पानीको निकास दिन खोलिएका नहर पुर्नेहरुलाई कारबाही गर्नुपर्ने केही स्थानीयको सुझाव छ । ढल कुलो मास्ने र पानी जाने निकास बन्द गर्नेलाई कारबाही गर्नुपर्ने नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्का बताउँछन् । त्यस्तै, गलत काम गर्नेलाई कारबाही गर्न प्रशासन पछि हट्न नहुने युवा सामाजिक अभियन्ता सागर कार्कीले बताए ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया