कोरोनाको बढ्दो जोखिमका बीच स्वाब दिन ठेलमठेल

अन‌ि यो पनि

भरतपुर । जिल्लाका विभिन्न अस्पतालहरुले कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब संकलन गरिरहेको छ । तर, कोरोना भए/नभएको पत्ता लगाउन स्वाब लिनेदिने ठाउँमै सरकारी आदेशको धज्जी उडाइएको छ, त्यो पनि केन्द्रीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा ।

स्वाब दिनका लागि मानिसहरु लाइनमा बसेका हुन्छन् । त्यो पनि धकेलाधकेल र ठेलमठेल गरेर । सङ्क्रमण फैलिन नदिनका लागि नागरिक आफैँ सचेत भएर सामाजिक दूरी पालना गर्नुपर्ने, तर नागरिक नै गैरजिम्मेवार देखिएका छन् ।

‘सामान्य अवस्थामा पनि २ मिटरको दूरी एकआपसमा कायम राख्नुपर्ने भनी सचेत गराइएको छ । ‘तर मानिसहरु स्वाब दिने ठाउँमा आइयो, यहाँचाहिँ कोरोना सर्दैन भनेजस्तो गरेर भीडभाड गरेर बसेका हुन्छन्’, भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले भने, ‘सामाजिक दूरी कायम गरौँ, आलोपालोमा स्वाब दिऔँ भनेर अस्पतालले भनिरहनुपर्ने विषय होइन, तर पनि कतिपय अवस्थामा भन्न बाध्य भएका छौँ ।’

अस्पतालले पटकपटक सूचना तथा जानकारी गराए पनि नागरिक आफैँ असावधान हुँदा समस्या हुने गरेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । दैनिक एक सयदेखि एक सय पचास जनासम्म स्वाब दिने हुन्छन् । बढीमा एक घन्टासम्म पालो कुर्नुपर्ने हुन्छ ।

‘अस्पतालमा लाइन लाग्न, पालो कुर्न प्रशस्त ठाउँ छन्, सबैको पालोमै हुने हो, कसैले बलमिच्याइँ गर्न पाउँदैन । तर, अनावश्यक भीडले गर्दा ढुक्क भएर स्वाब दिनेहरु पनि कतै केही दिनपछि सङ्क्रमित देखिने हुन् कि भन्ने डर छ’, सूचना अधिकारी पौडेलले भने ।

‘हामी नागरिकहरु पनि नेतालाई, प्रशासकलाई, पुलिसलाई गाली गर्छौं, आफैँले गर्नुपर्दाचाहिँ सामान्य चेतना पनि प्रयोग गर्दैनौँ’, भरतपुर अस्पतालमा स्वाब दिन पुगेका राजेन्द्र शर्माले प्रश्न गरे, ‘स्वाब दिँँदै गर्दा कोरोना लिएर त घर फर्कदैनौँ ?’

क्यान्सरमा छैन समस्या

क्यान्सर अस्पतालमा भने फाराम भरेअनुसार रोलक्रममा स्वाब दिनेको नाम बोलाइने हुँदा समस्या नभएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले बताए । स्वाब दिने ठाउँ अन्य भीडभाड हुने ठाउँभन्दा केही टाढा रहेको र प्रशस्त ठाउँ भएकाले मानिसहरुलाई बस्न, पालो कुर्न कुनै समस्या छैन’, कार्यकारी निर्देशक गौतमले भने, ‘नत्र स्वाब दिन आउँदासम्म नेगेटिभ रहन सक्ने मान्छे नै स्वाब दिने अवस्थामा सङ्क्रमित भएर फर्किएला जस्तो जोखिम रहन्छ ।’

‘अन्य समयजस्तो सजिलो र स्वाभाविक छैन । यतिखेर के नागरिक, के स्वास्थ्यकर्मी, के पत्रकार जो जेजस्तो ठाउँमा रहे पनि सामाजिक दूरी कायम गर्नैपर्छ’, उनले भने । भरतपुर महानगरमा घुम्ती स्वाब संकलनको व्यवस्था छ । घुम्ती स्वाब संकलनमा भने थोरै मानिसहरु हुने भएकाले खासै भीडभाड नहुने गरेको महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया