भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माण सयोगार्थ चितवन क्षेत्र नंं ३ का सभासद कृष्णभक्त पोखरेलले ५० हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
सभासद पोखरेलले आइतबार महासंघको कार्यालय भरतपुरमा आयोजित एक भेटघाट कार्यक्रमको अवसरमा संसद विकास कोषमार्फत सो रकम उपलब्ध गराउनुभएको हो । उहाँले सो रकम उपलब्ध गराउने यसअघि नै सार्वजनिक प्रतिबद्धता जनाउनुभएको थियो ।
सभासद् पोखरेलले सो अवसरमा बोल्दै पत्रकार महासंघको भौतिक विकास तथा पत्रकारहरुको वृत्ति विकासमा आफू सधैँ चिन्तित रहेको बताउँदै आगामी बन्ने संविधान प्रेसमैत्री हुनेमा ढुक्क रहन पत्रकारहरुलाई आश्वस्त पार्नुभयो ।
सोही अवसरमा महासंघका तर्फबाट अध्यक्ष हरिप्रसाद पोखरेलले सभासद पोखरेललाई महासंघको तर्फबाट प्रेसमैत्री संविधान लेखनका लागि भन्दै डायरी र कलम हस्तान्तरण गर्नुभएको थियो ।
भेटघाट कार्यक्रममा प्रेस चौतारी चितवनका अध्यक्ष शालिग्राम नेपाल, प्रेस युनियनका अध्यक्ष नारायण अधिकारी, क्रान्तिकारी पत्रकार संघका उपाध्यक्ष प्रकाश ज्ञवाली, नेपाल पत्रकार महासंघका सचिव कृष्णचन्द्र भट्टराईले नेपाल पत्रकार महासंघलाई सहयोग गर्नुभएकोमा सभासद् पोखरेलप्रति आभार प्रकट गरेका थिए । उनीहरुले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा समेत गरेका थिए ।
कार्यक्रम अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष दीपेन्द्र बडुवालले स्वागत गर्दै महासंघका समस्याका बारेमा प्रकाश पार्नुभएको थियो ।
Discussion about this post