सिद्धिको डाँडामा मौरीका घार : फस्टाउँदै मौरीपालन, सुधारिँदै जीवनस्तर

अन‌ि यो पनि

रत्ननगर । कालिका नगरपालिका वडा नं–१० र ११ अन्तर्गत पर्ने सिद्धिका अधिकांश युवाहरुले अहिले चिउरीलाई आधार बनाएर मौरीपालन सुरू गरेका छन् । जिल्लाभित्र र बाहिरका मौरीपालक किसानहरुले चिउरीको महका लागि सिद्धिमा घार राख्न थालेपछि यहाँका युवाहरुले त्यसैको सिको गर्दै व्यावसायिकरुपमा मौरीपालन सुरू गरेका हुन् । सिद्धिमा तरकारीखेती, बाख्रापालनपछि चिउरीकै कारण पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाएको छ ।

गत वर्ष २० घारबाट मौरीपालन सुरू गरेका वडा नं–११ का किरण चेपाङले वृद्धि गरी ४० घार बनाएका छन् । एक वर्षमा उनले मौरीपालनबाटै ४ लाख ५० हजार रूपैयाँ कमाउन सफल भएका छन् । उनले पैसासँगै थप २० वटा मौरीको घार पनि बढाएका छन् । ‘गाउँमै चिउरीको बोट छ’, उनले भने, ‘घार बाहिर लैजान पर्दैन, बजारमा चिउरीको महको माग पनि बढी छ ।’ उनले मौरीपालनबाट सोचेजति कमाइ गरेको र आर्थिक अवस्था पनि सुधार हुँदै गएको बताए ।

वडा नं–१० का गोपीराम प्रजाले पनि मौरीपालनमा रामै्र सफलता हात पारेका छन् । २० घार मौरीबाट सुरू गरेका उनले १५ घार बढाएर ३५ घार बनाउन सफल भएका छन् । ‘मह बेचेर पैसा पनि कमाएको छु’, उनले भने, ‘बिस्तारै बिस्तारै घारको संख्या पनि बढाउँदै छु ।’ ज्याला मजदुरी गरेर जीवननिर्वाह गर्दै आएका गोपीरामको परिवारमा एक वर्षभित्र खुुसी छाएको छ । मौरीपालनबाट राम्रो आम्दानी हुन थालेपछि मीठोमसिनो खान र राम्रो लुगा लगाउन पाएको उनले बताए ।

गत वर्ष सपना भिलेज सोसल इम्प्याक्ट सौराहाले दिएको २० घार मौरीले किरण र गोपीरामसहित १० जना युवाले सुरू गरेको मौरीपालन व्यवसाय सफलतातर्फ उन्मुख छ । सिद्धिमा मौरीपालनको सम्भावना देखेर गत वर्ष इम्प्याक्टले १० जना युवालाई तालिमसहित २०÷२० मौरीको घार प्रदान गरेको थियो । १० जना युवाले व्यावसायिकरुपमा सुरू गरेको मौरीपालन व्यवसाय फस्टाउँदै गएपछि इम्प्याक्टले बिहीबार सिद्धिका थप ६ जना युवालाई व्यावसायिक बनाउन मौरीको घार प्रदान गरेको छ । इम्प्याक्टले सञ्चालन गरेको प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजनाले तीन जना चेपाङ युवा, दुई जना तामाङ र एक जना सुनार युवालाई बिहीबार २०÷२० मौरीसहितको घार प्रदान गरेको हो ।
पाँच घार सम्बन्धित किसानले खरिद गर्नुपर्ने गरी २० घर मौरी प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । वडा नं–१० का नरबहादुर तामाङ, कविराज तामाङ, सूर्यबहादुर सुनार तथा वडा नं–११ का प्रदीप चेपाङ, मित्रलाल चेपाङ र बुद्धिबहादुर चेपाङलाई जनही २०÷२० घार प्रदान गरिएको हो ।
रत्ननगर–४ मा रहेका मौरीपालक किसान सूर्य मानन्धरको फर्ममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, रत्ननगरका मेयर नारायण वन र इम्प्याक्टका अध्यक्ष गिरीले ६ जना युवाहरुलाई मौरीको घार हस्तान्तरण गरेका थिए । सो अवसरमा कालिकाका मेयर श्रेष्ठले सिद्धिका युवाहरुलाई व्यावसायिक बनाउन सपना भिलेजसँग सहकार्य गरी मौरीसहितको घार प्रदान गरिएको भन्दै उपलब्धि हासिल गर्ने गरी मौरीपालन व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले लापर्बाही गरे कारबाहीस्वरुप जायजेथाबाट असुल गर्ने बताए ।
रत्ननगरका मेयर वनले स्थानीय सरकार र सपना भिलेजको सहकार्यमा भएको विपन्न वर्ग उत्थान कार्यक्रम उदाहरणीय रहेको भन्दै मौरीपालनबाट चेपाङ समुदायको आर्थिक अवस्था सुधार हुनेमा विश्वास व्यक्त गरे । इम्याक्टका अध्यक्ष गिरीले बिहीबार १३ लाख ८० हजार मूल्यबराबरको १२० वटा मौरीको घार वितरण गरिएको जानकारी दिए । त्यसमा ३ लाख रूपैयाँ कालिका नगरपालिकाले लगानी गरेको छ । स्थानीय सरकार, किसान र सपना भिलेजको त्रिपक्षीय लगानीमा व्यावसायिकरुपमा मौरीपालन गर्ने गरी मौरीसहितको घार प्रदान गरिएको उनले बताए ।
अहिले मौरीको घार प्राप्त गरेका युवाहरुले तीन वर्षभित्र २० घार मौरी फिर्ता गर्नुपर्ने हुन्छ । पहिलो र दोस्रो वर्ष पाँच–पाँच घार र तेस्रो वर्ष १० घार मौरी फिर्ता गर्नुपर्ने र फिर्ता गर्न नसके क्षतिपूर्ति तिर्नुपर्ने गरी त्रिपक्षीय सहमति गरिएको इम्प्याक्टका म्यानेजर अनिल अर्यालले जानकारी दिए । गत वर्ष सपना भिलेजले सिद्धिका १० जना युवाहरुलाई २०० घार वितरण गरेको थियो ।
इम्प्याक्टका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका वडा नं–६ का वडाध्यक्ष विनोद रेग्मी, वडा नं–१० का वडाध्यक्ष दिलबहादुर गुरूङलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा इम्प्याक्टका म्यानेजर मीनराज सापकोटाले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।

प्रतिकृया

मुख्य समाचार

प्रकाशनको एक वर्षपछि सार्वजनिक भयो ‘अजिब मान्छे’

चितवन । गत वर्ष नै प्रकाशन भएको पुस्तक ‘अजिब मान्छे’ शनिबार सार्वजनिक गरिएको छ। लेखक सीताराम कोइरालाको पाँचौँ कृतिको...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया