खैरहनी । पूर्वी चितवनको खैरहनीमा आइतबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । स्मारिका महिला बचत तथा ऋण सहकारी संस्था, भरतपुर आँखा अस्पताल र सामुदायिक स्वास्थ्य केन्द्र खैरहनीको संयुक्त आयोजनामा सो शिविर सञ्चालन भएको हो ।
शिविरमा ५ सय सर्वसाधारणको आँखा परीक्षण गरिएको स्मारिका महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला रोकाले जानकारी दिनुभयो । आँखा परीक्षण गराएका मध्ये २८ जनामा मोतियाविन्दुको समस्या देखिएको र उनीहरुलाई भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रियाको व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ ।
साविकको खैरहनी गाविसका सचिव भागिरथ रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम शर्मा विशिष्ट अतिथि रहनुभएको थियो । भरतपुर आँखा अस्पतालका चिकित्सक गोपाल भण्डारीको नेतृत्वमा आएको चिकित्सकहरुको समूहले सर्वसाधारणको आँखा परीक्षण गरेको थियो ।
Discussion about this post