केशव अधिकारी
तिप्लिङ (धादिङ) । धादिङ जिल्लाको उच्च हिमाली भेग तिप्लिङ र सेर्तुङमा महिनौंदेखि खडेरी परेका कारण खेतबारीमा लगाएको आलु मर्न थालेको छ ।
डेढ महिनादेखि जिल्लाको हिमाली बस्तीमा पानी परेको छैन । अत्यधिक घामले माटो सुख्खा हुँदै गएपछि आलुका बोट पात झरेर मर्न थालेको तिप्लिङ गाविस वडा नम्बर ९ लिङजोका कृषक ढालबहादुर तामाङले बताए । गत वर्ष मौसम राम्रो भएका कारण १२ मुरी आलु फलाएकोमा यो वर्ष भने बीउ पनि मासिने अवस्थामा पुगेको ढालबहादुर बताउँछन् ।
तिप्लिङ गाविसमा समुद्री सतहबाट २४ सयदेखि २८ सय मिटर उचाईसम्मका गाउँवस्तीमा आलुखेती हुने गरेको छ । लगातारको खडेरीका कारण यो वर्ष आलु धेरै कम फल्ने गाउँवासीको अनुमान छ । ‘गएको वर्ष आलु राम्रै फलेको थियो, यो वर्ष बीउ रोपेको दुई मुरी पनि फल्लाजस्तो छैन’, स्थानीय चन्द्र तामाङले बताए ।
धादिङ जिल्लाको विकटमा रहेको बस्ती भएका कारण समयमै मल बीउ तथा कृषि प्राविधिकहरु गाउँमा नपाउने समस्या एकातिर छ भने अर्कोतिर समयमै पानी नपरेका कारण तिप्लिङ गाविसको मुख्य बाली आलुखेती निकै संकटमा परेको चन्द्रको भनाइ छ ।
गरिबी निवारण कोषद्वारा तिप्लिङ गाविसमा संचालित गरिबी निवारण कार्यक्रमका सामाजिक परिचालक समेत रहेका चन्द्रका अनुसार गाविसको अधिकांश बस्तीमा पानी परेको छैन, आलुको बोट सुक्दै गएको छ । ‘आलुको बोटमा यतिबेला दाना लाग्ने बेला हो । यतिबेला आलुलाई चिस्यान चाहिन्थ्यो’, चन्द्रले भने, ‘अबको साता दस दिनसम्म पनि पानी नपरे आलुखेतीले तिप्लिङवासीलाई डुबाएर छाड्नेछ ।
जिल्लाको तिप्लिङ गाविसका गाउँबस्तीमा उत्पादित आलु छिमेकी गाविस सेर्तुङ, झार्लाङ, लापासम्म डोकोमा बोकेर बिक्री गरी आएको नगदले चामल किन्नुका साथै घर खर्च धान्ने गरेको गाउँवासी बताउँछन् ।
जिल्लाको एक हजार ६४३ हेक्टर क्षेत्रमा आलुखेती हुने गरेको छ । अघिल्लो वर्ष २३ हजार ५ सय १३ मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्राविधिक ध्रुव आचार्यले जानकारी दिए । जिल्लाको हिमाली भेगमा मुख्य बालीका रुपमा आलुखेती हुने गरेपनि अन्य भागमा समेत मौसमी आलुखेती हुँदै आइरहेको आचार्यले बताए ।
हिमाली भेगमा यही अवस्था रहे यो वर्ष निकै कम परिणाममा आलु फल्ने र यसबाट स्थानीयवासीको खाद्य सुरक्षामा संकट आउने खाद्य अधिकार जिल्ला संजाल धादिङका अध्यक्ष गोकर्ण रुपाखेती बताउँछन् । रुपाखेतीको नेतृत्वमा चार दिनअघि संचारकर्मीहरु सहितको टोलीले तिप्लिङ गाविसको विभिन्न स्थानको स्थलगत भ्रमण समेत गरेको छ ।
Discussion about this post