धादिङ । धादिङको गजुरी गाउँपालिका आफ्नो सबै वडामा आधारभूत स्वास्थ्यकेन्द्र स्थापना गर्नुका साथै घरमा शून्य प्रसूति, विद्यालय स्वास्थ्य कार्यक्रम, एम्बुलेन्स सेवा सञ्चालन र पूर्वप्रसूति प्रतीक्षाघरजस्ता कार्यक्रममार्फत समुदायलाई स्वास्थ्य सेवामा सहयोग पु¥याएर जिल्लामै अब्बल बन्न सफल भएको छ ।
गाउँपालिकाले गजुरी बजारमा रहेको प्राथमिक स्वास्थ्यकेन्द्रलाई १५ बेडको अस्पताल बनाउन आवश्यक जग्गा व्यवस्थापन समिति गठन गरेर प्रक्रिया अघि बढाइसकेको छ । गाउँपालिकाको मातहतमा आएपछि गजुरी प्राथमिक स्वास्थ्यकेन्द्रमा नेपाल सरकारले तोकेको सेवाभन्दा थप सेवा विस्तार गरिएको पालिकाको दाबी छ । सेवा विस्तार गर्ने क्रममा डिजिटल एक्स–रे मेसिन, रगत जाँचका लागि हेमाटोलोजी एनालाइजर, १५ वर्षमुनिका बालबालिकालाई लगाउने १२ वटा खोप र गर्भवती महिलाहरुलाई लगाइने खोप चिस्याउन आवश्यक पर्ने डिफ्रिज सेवा पालिकाले व्यवस्थापन गरिदिएको छ ।
नागरिकलाई आवश्यक पर्ने आधारभूत स्वास्थ्य सेवा सुदृढ गर्दै अस्पतालको रुपमा प्राथमिक स्वास्थ्यकेन्द्रलाई विकास गर्न हरेक वर्ष नयाँ सेवाहरु विस्तार गर्दै लैजाने योजनाअनुसार साबिकका गाविसमा रहेका स्वास्थ्यचौकीहरुलाई स्तरोन्नतिसँगै एक÷एकवटा एम्बुलेन्स हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए ।
अध्यक्ष बस्नेतका अनुसार पालिकाभित्र रहेको एउटा प्राथमिक स्वास्थ्यकेन्द्र, दुईवटा स्वास्थ्यकेन्द्र र पाँचवटा आधारभूत स्वास्थ्यकेन्द्रबाट नागरिकले स्वास्थ्य सेवा पाइरहेका छन् । पृथ्वी राजमार्गको मलेखु, फुर्केखोलादेखि बेल्खुसम्मको भाग गजुरी गाउँपालिकामा पर्ने भएकाले राजमार्ग दुर्घटनामा परी घाइते भएकाहरुको उपचारमा पनि स्वास्थ्यकेन्द्रले सेवा दिनुपर्ने बाध्यता छ । पालिकाभित्रका कुनै पनि स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीलाई उपचारमा कमी हुन नदिन पालिका संवेदनशील रहेको स्वास्थ्य शाखा प्रमुख डाक्टर रामहरि रेग्मी बताउँछन् । पालिकाले पाँचवटा वडामा आधारभूत स्वास्थ्यकेन्द्र सञ्चालनमा ल्याई ती स्वास्थ्य संस्थालाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए ।
घरमा शून्य प्रसूति गराउन पूर्वप्रसूति प्रतीक्षाघर सञ्चालन र आर्थिक अवस्था कमजोर परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिएर नवजात शिशु तथा आमाको स्वास्थ्यमा विशेष ध्यान दिएको र गर्भवतीहरुको नियमित खोपका अलावा ग्रामीण अल्ट्रासाउन्ड गराउने व्यवस्था गरेको पालिका उपाध्यक्ष सीता ढुङ्गाना बताउँछिन् ।
बागमती प्रदेश सरकारअन्तर्गत रहेको स्वास्थ्य कार्यालय धादिङको आर्थिक सहयोगमा एक्स–रे मेसिन, हेमाटोलोजी एनालाइजर र खोप चिस्याउन डिफ्रिज खरिद गरेको स्वास्थ्य संयोजक डाक्टर रेग्मीले बताए । प्राथमिक स्वास्थ्यकेन्द्रमा पोस्ट मार्टम सेवा, मर्चिङ फ्रीज सेवा थप गरिएको गजुरी प्राथमिक स्वास्थ्यकेन्द्रका प्रमुख डाक्टर खगेन्द्र श्रेष्ठले बताए ।
प्राथमिक स्वास्थ्यकेन्द्र राजमार्ग क्षेत्रमा रहेकाले सडक दुर्घटनाका घाइतेहरुको जुनसुकै बेला उपचार गर्नुपर्ने हुन्छ । त्यसका लागि रगत परीक्षण र एक्स–रे सेवा अतिआवश्यक हुन्छ । अब आवश्यकता पूरा भएको र एक जना स्टाफलाई तालिम गराएर काम गर्ने जिम्मेवारी पनि तोकिएको भन्दै एक्स–रे मेसिन चलाउने प्राविधिक जनशक्तिको दरबन्दी भए काममा अझ सरलता हुने डाक्टर श्रेष्ठले बताए ।
केन्द्रबाट सेवा लिनेहरुमध्ये ४० प्रतिशत मानिसहरु गाउँपालिकाबाहिरका रहेका छन् । गाउँपालिकाले १५ बेडको अस्पताल सञ्चालन गर्न पाउने व्यवस्थाअनुसार अस्पताल बनाउन जग्गा खोज्ने काम भइरहेको गजुरी–१ का वडा अध्यक्ष एवं प्राथमिक स्वास्थ्यकेन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पण्डितले बताए ।
गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा काम गर्ने प्राविधिक र अप्राविधिक गरी ४५ जना कर्मचारी रहेका छन् । गाउँपालिका स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षक र सिनियर अनमी कार्यरत छन् । प्राथमिक स्वास्थ्यकेन्द्रमा तीन मेडिकल अधिकृतसहित १४ जना स्वास्थ्यकर्मी र तीन सहयोगी कर्मचारी छन् । यसैगरी, किराञ्चोक स्वास्थ्यचौकीमा अहेबको नेतृत्वमा चार र सी अहेबको नेतृत्वमा छ जना स्वास्थ्यकर्मीहरु छन् भने एक÷एक जना सहयोगी कर्मचारी छन् ।
पाँचवटा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा अहेबको नेतृत्वमा अनमी र कार्यालय सहयोगी कर्मचारीसहित तीन÷तीन जना रहेका छन् । डोलभञ्ज्याङ माध्यमिक विद्यालयमा एक जना नर्सले सेवा दिइरहेकी छन् । गाउँपालिकाले २२ जना करार सेवामा स्वास्थ्यकर्मी र सहयोगी कर्मचारी राखेको छ भने संघीय सरकारले दुई जना मेडिकल अधिकृत करारमा पठाएको छ । बागमती प्रदेश सरकारले विद्यालय नर्स कार्यक्रमबाट एक जना नर्स करारमा पठाएको छ ।
Discussion about this post