उपनिर्वाचनको उम्मेद्वारी दर्ता आज
बसन्त पराजुली
भरतपुर । असार ८ गते हुन गइरहेको संविधानसभाको उपनिर्वाचनका लागि आज आइतबार उम्मेद्वारी दर्ता हँुदैछ । प्रधानमन्त्री सुशील कोइरालाले छाडेको चितवन क्षेत्र नम्बर ४ मा हुने उपनिर्वाचनका लागि उम्मेद्वारी दर्ता गराउने तयारी समेत पूरा भएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
‘हामीले निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराउनका लागि अन्तिम तयारी पूरा गरिसकेका छांै’, सहायक निर्वाचन अधिकृत विद्याराज पौडेलले भने, ‘उम्मेद्वारी दिन चाहनेले शनिबारबाटै उम्मेद्वारीको फाराम लिने काम सुरू गरिसकेका छन् ।’
सहकारी डिभिजन कार्यालयमा स्थापना भएको निर्वाचनको कार्यालयमा आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएको छ । उम्मेद्वारी दर्ताका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय पजातन्त्र पार्टी नेपाललगायतका पार्टीले उम्मेद्वारी दर्ताको फाराम बुझिसकेका छन् । अन्य दल तथा स्वतन्त्र उम्मेद्वारहरुले आइतबारै फाराम लिएर उम्मेद्वारी दर्ता गराउन समेत सक्ने बताइएको छ ।
गएको संविधानसभाको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी भन्दा १० हजार भन्दा बढी अन्तर अर्थात् २१ हजार भन्दा बढी मतले कांग्रेसका सुशील कोइराला यो क्षेत्रबाट निर्वाचित भएका थिए । उनले सो क्षेत्र छाडेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । यो क्षेत्रमा कांग्रेसले पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरेलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।
यता, नेकपा एमालेले यसअघिकै उम्मेद्वार दिलकुमारी रावल ‘पार्वती’लाई नै यस पटक पनि उम्मेद्वार बनाउँदैछ । एकीकृत नेकपा माओवादीले भने यो पटक खुसीराम पाख्रिनलाई उम्मेद्वार बनाउने तयारी गरिरहेको छ । यसअघिका उम्मेद्वार चित्रबहादुर श्रेष्ठको उम्मेद्वारीमा चासो नदेखिएपछि पाख्रिनलाई माओवादीले अघि सार्ने तयारी गरेको हो । यद्यपि यो समाचार तयार पार्ने बेलासम्म माओवादीको औपचारिक निर्णय भने भइसकेको छैन । एकीकृत माओवादी नेता घनश्याम दाहाल ‘अविनाश’ले भने आफ्नो पार्टीको उम्मेद्वारी केन्द्रीय सचिवालयले टुङ्गो लगाउने जानकारी दिए ।
चितवन क्षेत्र नम्बर ४ मा अब हुने निर्वाचनका लागि ६५ हजार २९९ मतदाता सहभागी हँुदै छन् । यो क्षेत्रमा गएको संविधानसभाको निर्वाचनमा ६० हजार मात्रै मतदाता रहेका थिए ।
भरतपुर नगरपालिकाको ७, ८, ९, १३ र १४ गरी ५ वटा वडा, हालै चित्रवन नगरपालिका बनेको गुञ्जनगर र शारदानगर सहितका ७ गाविस रहेका छन् । यो क्षेत्रका अन्य गाविसहरुमा पटिहानी, शिवनगर, फूलबारी, मंगलपुर र गीतानगर रहेका छन् । निर्वाचनका लागि यो क्षेत्रमा ३१ स्थानमा ८१ मतदान केन्द्र तय गरिएको छ ।
तामझाम नगर्न जिल्ला निर्वाचनको आग्रह
भरतपुर । निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४ चितवनले शनिबार एक सूचना जारी गरी उम्मेद्वारी दर्ता गर्दा भड्किलो नबनाउन सबैमा आग्रह गरेको छ । मुख्य निर्वाचन अधिकृत विनोदमोेहन आचार्यद्वारा जारी सूचनामा निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराउन आउँदा कुनै पनि उम्मेद्वारले मोटरसाइकल ¥याली, बाजागाजा, तामझाम प्रदर्शन नगर्न सबैमा आग्रह गरेको हो ।
यता, प्रमुख दलहरुले पनि उम्मेद्वारी दर्तामा तामझाम नहुने बताएका छन् । ‘हामी साढे १२ बजे नारायणगढको कमलनगर स्थित पार्टी कार्यालयमा जम्मा हुन्छौं । कार्यकर्ताका माझ उम्मेद्वारलाई निर्वाचन कार्यालयमा लगेर १ बजे उम्मेद्वारी दर्ता गछांै’, कांग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले बताए । आफूहरुको उम्मेद्वारी दर्तामा कुनै तडकभडक नहुने पनि उनले जनाए ।
यस्तै एमालेले पनि पार्टी कार्यालयमै जम्मा भएर चौबीसकोठीमा सभा गरी उम्मेद्वारी दर्ता गराउने तयारी गरिरहेको छ । ‘११ बजे पार्टी कार्यालयमा जम्मा भएर चौबीसकोठी पुगी सभा गर्छौं’, एमाले अध्यक्ष जगन्नाथ थपलियाले भने, ‘सभापछि मात्रै उम्मेद्वारी दर्ता गर्ने छौं ।’
एकीकृत माओवादीले पनि पार्टी कार्यालयमै कार्यकर्ता जम्मा गरेर उम्मेद्वारी दर्ता गर्ने तयारी गरिरहेको छ । ‘हाम्रो उम्मेद्वारी शालीन र संयमित हुनेछ’, एमाओवादी नेता घनश्याम दाहाल अविनाशले बताए ।
Discussion about this post