भरतपुर । बढ्दो स्तन क्यान्सर न्यूनीकरणका लागि लायन्स क्लबले स्तन क्यान्सरबारे सचेतनमूलक कार्यक्रम सम्पन्न गरेको छ । मानवीय तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेका लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिले शनिबार भरतपुर १० र ११ मा स्तन क्यान्सरबारे चेतनामूलक कार्यक्रम गरेका हो ।
अक्टोबर महिनालाई संसारभर नै स्तन क्यान्सरबारे सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष २१ लाखभन्दा बढी स्तन क्यान्सरका नयाँ बिरामी थपिन्छन् भने यसका कारण ६ लाख बढीको मुत्यु हुने गरेको छ ।
नेपालमा स्तन क्यान्सरका हरेक वर्ष २ हजार १०० बढी नयाँ बिरामी थपिने गरेको पाइएको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका सर्जन डा. गंगा सापकोटाले जानकारी दिए ।
वातावरणीय प्रभाव र खानपानका कारण अधिकांशमा क्यान्सर सुुरू हुने उनको भनाइ छ । उनका अनुसार नियमित परीक्षण गरेमा ९० प्रतिशत क्यान्सर पत्ता लगाउन सकिने र सुुरूको चरणमा उपचार गर्न सके क्यान्सर निको पनि हुने गर्दछ ।
१२ वर्षभन्दा कम उमेरमा महिनाबारी सुुरू भएका, लामो समयसम्म महिनाबारी भइरहेमा, पहिलो सन्तान ढिलो गरी जन्माएमा, बच्चालाई कम स्तनपान गराएमा स्तन क्यान्सरको सम्भावना बढी हुने डा. सापकोटाले बताए । मदिरा तथा धूमपान गर्ने महिलाहरुमा अझ बढी स्तन क्यान्सरको सम्भावना हुने डा. सापकोटा बताउँछन् ।
डा. सापकोटाका अनुसार क्सान्सरबारे सामान्य ख्याल राखेमा पहिलो चरणमा स्वयम् व्यक्तिले पत्ता लगाउन सक्ने र यसलाई रोक्न सकिन्छ । महिनावारी भएको ५ दिनभित्रमा स्तनको स्वरुप परिवर्तन भएमा, स्तनको मुन्टोबाट रातो कालो पानी बगेमा, स्तनको मुन्टोको आकार बदलिएमा वा गडेको पाइएमा, स्तनको छालामा घाउ आएमा वा स्तन तथा काखीमा गाठागुठी आएमा स्वास्थ्यकर्मीहरुसँग तुरून्त भेट्न पनि उनले आग्रह गरे । यस्ता समस्या पुरूषमा समेत देखिन सक्ने उनको भनाइ छ । तर, सबै गाठागुठी क्यान्सर भने नहुने उनले बताए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी २ का सिनियर लायन्सहरु, एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रभाकर पण्डित, एरिया सचिव पूर्णप्रसाद शर्मा, आयोजक क्लबका पदाधिकारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
Discussion about this post