विराटनगर । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जनताको करबाट चलेका राष्ट्रसेवक कर्मचारीहरू पूर्णरुपमा निष्पक्ष एवम् पेसाप्रति समर्पित रहनुपर्ने बताउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै गृहमन्त्री गौतमले वद्मासी गर्ने कार्यालय प्रमुख तथा कर्मचारीलाई कुनै पनि हालतमा नछोडिने बताउनुभयो ।
‘देश अहिले गम्भीर परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा कर्मचारी इमान्दार, अनुशासित तथा पारदर्शी भई काम गर्नुपर्छ’– उहाँले भन्नुभयो ।
आफूले प्रहरी प्रशासनमा कुनै हस्तक्षेप नगरेको उल्लेख गर्दै प्रहरीमा भएको समस्या समाधान र प्रहरीको मनोवल उच्च पार्न नयाँ प्रहरी नियमावली ल्याएको गृहमन्त्रीले स्पष्ट गर्नुभयो ।
उहाँले वर्तमान सरकारले तोकिएको समयमा नयाँ संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय निकायको निर्वाचन गराउनु पनि अत्यन्त जरुरी छ भन्नुभयो ।
शान्ति सुरक्षाको कार्य अत्यन्त सफल भएको र गुण्डागर्दी नियन्त्रणमा आएको उल्लेख गर्दै उहाँले सरकारी निकायले उच्च मनोवलका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । रासस
Discussion about this post