भरतपुर । भरतपुर नगरपालिकामा सरसफाइ र यातायात व्यवस्थापन कार्यक्रम निक्कै प्रभावकारी देखिएको छ ।
ट्राफिक व्यवस्थापन नहुँदा सधैँ अस्तव्यस्त हुने यहाँको नारायणगढ बजार अहिले फेरिएको छ । यस्तै सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति पनि नगरपालिकाको सक्रियतामा कम हुँदै गएको छ ।
यस्तै नगरपालिकाले सार्वजनिक स्थानमा सञ्चालन हुँदै आएको अव्यवस्थित फुटपाथ व्यवसायलाई बजार क्षेत्रमा निषेध गरी निश्चित स्थान तोकेपछि नगरपालिका क्षेत्रको मुहार नै फेरिँदै गएको नगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो ।
यहाँको बजार क्षेत्रमा अहिले प्रहरी, नगरपालिका र यातायात व्यवसायीको संयुक्त पहलमा पार्किङ स्थान तोकेर व्यवस्थापन गरिएको छ । नगरपालिकाले अहिले जथाभावी फोहर फाल्नेविरुद्ध कारबाही अभियानसमेत सुरु गरेको छ ।
भरतपुरका सडक तथा गल्लीगल्लीमा फोहरको थुप्रो देखिने र दुर्गन्ध फैलने गरेको पाइएपछि नगरपालिकाले यस्तो अभियान थालेको हो । अहिले नगरपालिकाले कर्मचारी टोली नै खटाएर फोहर फाल्नेलाई कारबाही थालेको भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत सापकोटाले जानकारी दिनुभयो । छड्के जाँचसमेत गर्ने गरेको नगरपालिकाले जनाएको छ ।
अभियानअन्तर्गत आजसम्म करिब १०० जनालाई कारबाही गरिएको र उनीहरूबाट रु एक लाख १७ हजार राजस्व सङ्कलन गरिएको सापकोटाले बताउनुभयो । स्थानीयले गरेको अपराधको प्रकृतिअनुसार एक हजारदेखि पाँच हजारसम्म जरिवाना लिने गरिएको नगरपालिकाले जनाएको छ ।
Discussion about this post