ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

घलेगाउँको सुन्दरताभित्र कैद हुँदा–

by चितवन पोष्ट
२०७१ जेष्ठ १०, शनिबार ०२:१५ गते
in विचार, साहित्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नवराज तिमिल्सिना

नयाँ वर्ष २०७१ सालले भर्खर खुट्टा टेकेको थियो । गत वैशाख ११ गते हाम्रो ग्रामीण पर्यटकीय क्षेत्र लमजुङको घलेगाउँ जाने निर्णय भयो । पोहोर सालझैँ यसपालि पनि भ्रमणका साथसाथै निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रम लामजुङको श्री घले त्रिकन्या प्राथमिक विद्यालयमा राखिएको थियो । आवश्यक जनशक्ति र औषधिसहित हामी जान तयार भयौँ ।
लायन्स क्लब अफ भरतपुर हाइटको आयोजना रहेको यस कार्यक्रममा लायन दाजुहरु गुरूप्रसाद अधिकारी, प्रभाकर पण्डित, टंकमणि काफ्ले, भरत दवाडी, किरण अधिकारी, सञ्जय रेग्मी, वामदेव शर्मा, राजु कार्की, उहाँहरुका जीवनसंगिनीलगायत लायन डा. देजकुमार गौतम, मारिया गौतम, लायन डा. अमर श्रेष्ठ, डा. जेनी श्रेष्ठ, डा. मिसेल ढकाल एवं अन्य मित्रहरुको सहभागिता थियो ।
सम्पूर्ण तयारीका साथ गत ११ गते बिहान ९ बजे नारायणगढबाट त्यसतर्फ प्रस्थान ग¥यौँ । नारायणगढबाट मुग्लिन हुँदै बेसीसहर ९७ किमी र त्यहाँबाट लगभग २७ किमी लमजुङको उत्तरतर्फ घलेगाउँ पर्दथ्यो ।
हाम्रा ३ सुमो (गाडी) हरु आफ्नै रफ्तारमा हुँइकिँदै थिए । ड्राइभर भाइ गाडी कुदाउन व्यस्त थिए । गाडीमा बजेको म्युजिकले हामीलाई रमाइलो बनाउँदै थियो । करिब पौने १० बजे हामी मुग्लिन पुग्यौँ ।
सबै साथीहरु मुग्लिन पुगेपछि हामी केही नास्ताको लागि शाकाहारी होटलमा पस्यौँ । सायद, भोक लागेरै होला– तरकारी, रोटी र पापड खुबै मीठो भयो ।
त्यसपछि मुग्लिनबाट लमजुङको बेसीसहरतर्फ हाम्रा गाडीहरु मोडिए । हामीले ठाउँठाउँमा स्थानीय तथा नाम चलेका बजार हेर्दै गयौँ । आँबुखैरेनी, डुम्रे बजार, सेरा बजार आदि पहाडको काखमा बसेका बजार राम्रा थिए । करिब दिउँसोको १ बजे बेसीसहर पुगियो ।
हाम्रो खानाको बन्दोबस्त बेसीसहरको पर्यटकीय होटल दी गेट वे हिमालयमा थियो । त्यहीँ सबैले खाना खायौँ । लगभग ४ घन्टाको लामो यात्राका कारण हामीलाई थकानको अनुभूति पनि थियो । केहीबेर आराम ग¥यौँ, र २ बजे त्यहाँबाट घलेगाउँ प्रस्थान ग¥यौँ ।
अघिसम्म चिल्लो र पिच बाटोमा हुइँकिएका गाडीहरु ग्रामीण धुलाम्य बाटोमा गुड्न बाध्य थिए । धूलोले पछि आउने गाडीलाई कुइरोमा छोडेको थियो । कहिले भित्तातिर त कहिले छेउतिर कोल्टिँदै गाडी बिस्तारै उकालो चढ्दै थियो ।
जति अगाडि बढ्दै थियौँ, त्यति नै नौलो ठाउँ, डाँडापाखा र घुमाउरो बाटो हामीले नियालिरहेका थियौँ । वसन्त ऋतुको आगमनले डाँडापाखामा हरियाली छाएको थियो । बटुवाहरु आफ्नो गन्तव्यमा पुग्न कदम चाल्दै थिए । पारि डिलमा सेती गाई चर्दै थिई, बाच्छो पछिपछि लाग्दै थियो । नौलो ठाउँको यात्राले गर्दा सायद हाम्रा थकानहरु लुक्न बाध्य थिए ।
डाँडाको उचाइलाई फेरो मार्दै गाडीहरु अगाडि बढ्दै गए । हामी घलेगाउँ जाने बाटोमा भेटिएका मानिसहरुलाई सोध्दै अघि बढ्दथ्यौँ । हाम्रा गाडीहरु कहिले वल्लो त कहिले पल्लो डाँडाको खोँचमा छेल पार्दै देखिन्थ्यो । यी दृश्यले मलाई लुकामारी खेलझैँ भान हुन्थ्यो ।
बाटोमा ढकमक्क फुलेका लालीगुराँस, काफल र ऐसेलु देख्न मन लोभिँदै थियो । पहेँलो फलेको ऐसेलुले बाल्यकालमा ऐसेलुको झाङमा घन्टौँ हराएको याद पुनर्जिवित गरायो । गाडीहरु अघि बढ्दै गए । करिब बेलुकाको ५ बजे घलेगाउँ पुग्यौँ । स्व. सिपाही पूर्ण सुब्बाको स्मृतिमा निर्माण गरिएको घलेगाउँको स्वागत गेट हाम्रो सामु देखिन्थ्यो । डाँडाका उचाइमा सम्पूर्ण थकानलाई भुलाउँदै चिसो हावाले हामीलाई स्पर्श गरिरहेको थियो । निरन्तर बहिरहेको स्वच्छ हावाको मज्जा पनि छुट्टै हुँदोरहेछ । मलाई लाग्यो, गर्मी क्षेत्रमा पिल्सिएका र लोडसेडिङले आक्रान्त परेका हामी यस्तो ठाउँमा बस्ने हो भने आयु लम्बिँदो हो ।
वास्तवमा घलेगाउँ हाम्रो गौरव हो, देशको पहिचान हो । सारा घलेगाउँबासीको पहिचान हो । आन्तरिक तथा विदेशी पर्यटकको ओइरो लाग्ने यो क्षेत्र लमजुङको उत्तरकन्या गाविसमा अवस्थित छ । समुद्री सतहबाट २१०० मिटर उचाइमा रहेको यो पदमार्गबाट घनपोखरा, बसगाउँ, पाखिकोट र भुजुङ पुगिन्छ । यी ठाउँहरु पनि पर्यटकीय गन्तव्यस्थल हुन् । वरिपरि हरियाली, यहाँबाट देखिने अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु हिमालचुली, बुद्ध हिमाल हेर्न लायक छ । झुपुक्क रहेका घरहरु, जस्ताले छाइएका अधिकांश छानाहरु, ढुंगा बिच्छ्याइएका बाटाहरु, चिया बगान र गुरूङ संग्रहालय घलेगाउँको विशेषता हो । सार्क राष्ट्रकै ग्रामीण पर्यटकीय नमुना गाउँका रुपमा मान्यता प्राप्त ग्रामीण पर्यटन क्षेत्र रहेको यहाँ आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रत्येक घरमा होमस्टेको व्यवस्था रहेको छ ।
घलेगाउँ पर्यटन समितिका सचिव दीर्घसिंह घलेलगायत आमा समूहका दिदीबहिनीहरुले हाम्रो स्वागत गर्नुभयो । आकाशबाट पानी दर्किन थाल्यो । हामीलाई जाडो र चिसो भएझैँ लागिरहेको थियो । घलेगाउँका दिदीबहिनीहरुले चियाको साथसाथै सेल रोटी र तरकारी ल्याउनुभयो । सिस्नोको तरकारीको पहिलो पटक स्वाद चाखियो ।
हाम्रो बासस्थानका लागि यस गाउँका ११६ घरधुरीमध्ये केही घरमा हामी बाँडिएर बस्यौँ, जुन पारिवारिक वातावरणीय रुपमा उदाहरणीय छ ।
संयोग नै मान्नुपर्छ, त्यसदिन घलेगाउँ जाने चितवनबाट १२० भन्दाबढी थिए । हामी पुगेपश्चात् देउराली बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु तथा सप्तगण्डकी बहुमुखी क्याम्पसका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति थियो ।
भोलिपल्ट बिहान सूर्योदयसँगै घामका रश्मीहरु टाढा फैलिँदै थिए । घरवाली दिदी चिया तयार पार्दै हुनुहुन्थ्यो । हाम्रो टोलीका साथीहरु उठ्यौँ । नित्य कर्मपछि चिया पिई हामी अवलोकनका लागि निस्क्यौँ । हामीभन्दा पहिला पुगेका साथीहरु फोटो खिचाउन तल्लीन थिए । हामीले पनि फोटो खिच्यौँ ।
बिहान १० बजेबाट बिरामी जाँच तथा निःशुल्क औषधि वितरण कार्यक्रम सुरू भयो, श्री घले त्रिकन्या प्राथमिक विद्यालयमा । बिरामीहरुको भीड बढ्दै गयो । साथीहरु नाम टिप्न व्यस्त हुनुहुन्थ्यो । डाक्टरहरु बिरामी चेक गर्दै हुनुहुन्थ्यो । बिरामीहरु छिटो जँचाउन ढोका र झ्यालतिर पनि भीडभाड गर्दै थिए ।
नाक, कान, घाँटी, पेट रोग, हाडजोर्नीका बिरामीलगायत आँखाका बिरामीहरुको उपस्थिति उच्च थियो । प्रायःजसो बूढाबूढीमा आँखाको समस्या धेरै थियो । हामीले धूलो र धूवाँको कारणले आँखाको संक्रमण उच्च भएको ठहर ग¥यौँ । गाउँघरमा हातमुख जोर्न सुधारिएको चुल्हो राख्न सकेमा मोतीविन्दु वा अन्य आँखाको रोगमा कमी आउने थियो । अधिकांश बिरामीलाई औषधि दियौँ भने जटिल प्रकारका अप्रेसन र आँखा नदेख्ने बिरामीलाई भरतपुर आँखा अस्पताल वा आफूलाई पायक पर्ने ठाउँमा जाने सल्लाह दियौँ ।
गाउँका युवापुस्ता विदेश पलायन, रोजगारी र उच्च शिक्षाका लागि पढ्न सहर पस्नाले गाउँमा बूढाबूढी मात्र थिग्रिएका थिए । गाउँमा युवाको खाँचो देखिन्थ्यो । गाउँका युवा गाउँमै आएर व्यवस्थित रुपमा लागिपर्ने हो भने विदेशिने युवाहरु अरबको खाडीमा पस्नुपर्ने थिएन । घुम्न आउने पर्यटकहरुलाई सेवा, सुविधा र मनोरञ्जनका थप उपाय अपनाउन सके गाउँमा थप आम्दानी हुने देखिन्थ्यो । करिब २ सय बिरामीहरुको स्वास्थ्य परीक्षण भयो । हामी आफू बसेका घरतिर लाग्यौँ ।
बिदाइको कार्यक्रम पहिले आफू बसेको घर र दोस्रो सामुदायिक भवनबाट हुँदोरहेछ । दाजु वामदेव शर्मा, किरण अधिकारी, डा. मिसेल ढकाल र म घर पुग्यौँ । आ–आफ्ना झोलासहित हामी आँगनीमा निस्क्यौँ । आफ्नो संस्कृतिअनुसार घरभेटी पार्वती दिदीले पनि चरेसको थालमा अक्षता, पाती र माला लगाइदिनुभयो । यो सब दृश्यले गर्दा मलाई दसैँतिहारको झल्को आइरहेको थियो । हामी दिदीसँग बिदा भयौँ अनि सामुदायिक भवनतर्फ उक्लियौँ । यसरी नै हाम्रा साथीहरुलाई पनि अन्य घरका दिदीबहिनीले बिदाइ गर्नुभएको रहेछ ।
अघिल्लो दिन सांस्कृतिक कार्यक्रम गर्न समयले साथ दिएन । हामी छुट्टिने बेलामा भए पनि थोरै समय कार्यक्रम गर्ने जमर्को ग¥यौँ । आमा समूहका आमा, दिदीबहिनी र हामी सबै भेला भयौँ । आमा समूहका दिदीबहिनीहरुले फेरि अक्षता, पाती लगाइदिनुभयो । अनि, घलेगाउँका दिदीबहिनीहरु गाउन थाल्नुभयो । हामीहरु स्वरमा स्वर मिलाउँदै नाच्न थाल्यौँ । निभ्न लागेको बत्तीको उज्यालो चहकिलो हुन्छ भनेझैँ छुट्टिने बेलामा हाम्रो कार्यक्रम बेजोड रमाइलो भयो ।
अन्तिममा हामीलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दियौँ । उहाँहरु फेरि पाल्नुहोला भन्दै हुनुहुन्थ्यो । साथीहरु बिदाइका हात हल्लाउँदै थिए । उपस्थित घलेगाउँबासी दिदीबहिनीका हातहरु पनि हल्लिँदै थिए । मलाई भने छुट्टिन गाह्रो हुँदै थियो । मनमा गाँठो परेझैँ लामो सास तान्दै थिएँ । मैले सोचेँ, थोरै समयको आत्मीयता पनि गहिरो सम्बन्ध हुँदोरहेछ । आफ्नो परिवारबाट कोही छुटेझैँ लाग्दै थियो । एकाएक साथीहरुका मुहार पनि मलिन देखिन्थे । अनि, हामीहरु बिदा भयौँ र आफ्नो गन्तव्यमा लाग्यौँ । घलेगाउँ सम्झनाको मानसपटलमा अहिले पनि झल्किरहेछ र निरन्तर आइरहेछ ।

Related Posts

ती दिनहरु सिक्किम भ्रमणको सम्झना

ती दिनहरु सिक्किम भ्रमणको सम्झना

राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

Chitwan Post

गजल

Discussion about this post

अन‌ि यो पनि

बाइपास रोडमा शंकास्पद बस्तु फेला
समाज

बाइपास रोडमा शंकास्पद बस्तु फेला

भरतपुर । भरतपुर–११ को बाइपास रोडमा शंकास्पद बस्तु फेला परेको छ । भरतपुर आँखा अस्पताल अगाडि शंकास्पद बस्तु भेटिएको हो...

Read more
Chitwan Post

अज्ञात समूहद्धारा ट्रकमाथि ढुंगा प्रहार

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In