नवलपरासी । सरकारले गैंडाकोट गाविसलाई नगरपालिका घोषणा गरेपछि स्थानीयमा खुसियाली छाएको छ । कार्यकारी प्रमुख गोविन्द सिग्देलले गैंडाकोट नगरपालिकाको विधिवत् उद्घाटन गर्नुभएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्को वैशाख २५ गतेको निर्णयानुसार नवलपरासीको गैंडाकोट, मुकुन्दपुर र अमरापुरीका गाविसहरुलाई गाभेर गैंडाकोट नगरपालिका घोषणा गरिएको हो । नगरपालिकाका सम्पूर्ण कार्यहरु सुरु भएपछि गैंडाकोटका युवाहरु उत्साहित भएका छन् ।
स्थानीय निकायका पदाधिकारी र स्थानीय बासिन्दाको उपस्थितिमा नगरपालिका उद्घाटन कार्यक्रममा कार्यकारी प्रमुख सिग्देलले नगरपालिका अनुमति–पत्र वडा प्रमुखहरुलाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रथम सेवाग्राही नन्दलाल गौतमलाई धन्यवाद दिइएको थियो ।
यस्तै, गैंडाकोट गाविसका १ देखि ९ वडाका लागि कृष्णप्रसाद शर्मा, १० देखि १३ वडाका लागि मुकुन्दपुर गाविसका भेषराज पौडेल र १४ देखि १७ वडाका लागि वडाप्रमुख वेदप्रसाद पौडेललाई वडा प्रमुख नियुक्ति गरिएको थियो ।
यसैबीच, गैंडाकोट ८ का भोजराज अर्याल सानो कामका लागि पनि कावासोती पुग्नुपर्ने समस्याबाट मुक्ति पाएकोमा खुसी व्यक्त गर्दै नगरपालिका घर नजिकै आएपछि धेरै सुविधा भएकोमा खुसी लागेको बताउनुहुन्छ । गैंडाकोट २ का अर्का युवा पशुपति पाण्डे पनि नगरपालिका घोषणा भएपछि सेवाग्राहीलाई सजिलो भएको बताउँछन् । गाविस हुँदा सानोतिनो कामका लागि पनि धेरै दिन कुर्नुपर्ने झण्झटबाट मुक्ति मिलेको उहाँको भनाइ छ ।
–सजनी लामा (प्रशिक्षार्थी)
Discussion about this post