भरतपुर । बढ्दो गर्मीसँगै पोखरीमा माछा मर्न थालेपछि चितवनका किसान चिन्तित भएका छन् । पछिल्लो केही हप्तादेखि यहाँ बढेको गर्मीले पश्चिम चितवनका विभिन्न माछा पोखरीमा माछा मर्न थालेपछि किसान चिन्तित भएका हुन् । चितवनमा केही महिनादेखि राम्ररी पानी पर्न सकेको छैन । अहिले यहाँको तापक्रमसमेत ४० डिग्रीभन्दा माथि छ ।
चितवनको दिव्यनगर, शुक्रनगर क्षेत्रमा पोखरीमै माछा मर्न थालेको गुनासो आएकाले विशेष ध्यान दिन सार्वजनिक सूचना नै जारी गरेर कृषकलाई सचेत गराएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजाराम अधिकारीले बताउनुभयो ।
घोल भएको क्षेत्रमा पानीको निकास नहुँदा पानी तातेर यस्तो समस्या आएको उहाँको भनाइ छ । ‘यो समयमा माछाले दाना कम खान्छन्, विचार गरेर दाना दिनुपर्छ, फ्रेस पानी बनाउनुपर्छ, स्टक बढी भए घटाउने गर्नुपर्छ’ अधिकारीले भन्नुभयो । त्यो गरिएन भने अक्सिजनको अभावमा माछा मर्न सक्छन् ।
जिल्लामा यो वर्ष सरकारी सहयोगसहित करिब १५० हेक्टर क्षेत्रमा माछापालन विस्तार भएको छ । चितवनमा ३०० हेक्टरभन्दा बढीमा माछापालन सुरू भएको कृषि कार्यालयले जनाएको छ । चितवनको माडी गोपालनगरलाई माछाको पकेट क्षेत्र मानिन्छ ।
Discussion about this post