“नेपालको भाषानीति र योजना आधार” पुस्तकभित्र के छ ?

अन‌ि यो पनि

एउटा अहम् सवाललाई हेरौँ– आज हामी जसरी अधिकारको माग राखिरहेका छौँ के त्यसरी नै मातृभाषाको उन्नयनका लागि माग गर्दै छौँ ? के भाषा र पहिचानका लागि पनि मूर्त रूपमा हामी कटिबद्ध भएका छौँ ? हाम्रो मुलुकले भाषिक गरिमालाई कसरी माया गर्दै छ ? वास्तवमा भाषाको संरक्षण, संवद्र्धन र विकास गर्ने संवैधानिक प्रावधानलाई व्यावहारिक रूप प्रदान गर्न प्रभावकारी भाषानीति र योजना चाहिन्छ । मातृभाषाको विकास तथा भाषिक अधिकारका तमाम सवाललाई हिँडाउने आधारविना यो विषय गन्तव्यमा नै भौँतारिने सम्भाव्यता रहन्छ । भाषिक सम्पदासँग सम्बन्धित विषय त्यति धेरै चाखलाग्दो बनिरहेको छैन । कतै यो भूललाई हृदयङ्गम गरेर भोलिका पुस्ताले हामीलाई औँला उठाउने स्थिति सिर्जना त हुने होइन !

भाषाका विषयमा नवीन रङ लिएर आएको “नेपालको भाषानीति र योजना आधार” हातमा प¥यो । जब यो पुस्तक हातमा लाग्यो तब मनमा विभिन्न भावहरू तरङ्गित भएर आए । साहित्यिक पुस्तकका बारेमा त सोचिन्थ्यो नै तर यसले पनि सोच्न विवस बनायो । बहुभाषिक समुदायमा भाषा, भाषाको महत्ता र विकास अनि नेपालको नीतिगत तहमा हुनुपर्ने जिम्मेवारीलाई संविधानतः बोध गर्नु अहिलेको आवश्यकता हो । यदि नेपालले बहुभाषिक गरिमासँग गर्व गर्ने बाटोलाई गुमाउँदै गयो भने त्यसको परिणाम कति दुःखद होला । यो गम्भीर विषय पनि त हो ।

त्रिभुवन विश्वविद्यालयका प्रा.डा. राजेन्द्रप्रसाद पौडेल र आदर्श बहुमुखी क्याम्पसका रमेश भट्टराई ‘सहृदयी’ ले लेख्नुभएको यस पुस्तकलाई इन्टेलेक्चुअल्ज बुक प्यालेस कीर्तिपुरले बजारमा ल्याएको छ ।

यसलाई पढेपछि लाग्यो ः सङ्घीय पद्धतिमा माध्यम भाषा र मातृभाषाको रक्षार्थ हाम्रो देश सचेत हुनु नितान्त आवश्यक हुन्छ । नेपालले बहुभाषिक गरिमाका लागि अर्थात् भाषिक राष्ट्रवादलाई कायम राख्ने गरी भाषानीति र योजनालाई तर्जुमा गर्नु पर्दैन र !

यस पुस्तकको बाहिरी पृष्ठमा लेखिएको नामबाटै थाहा हुन्छ यो एउटा नवीन विषय सन्दर्भमा लेखिएको पुस्तक हो । त्यसो त यो साहित्यिक पुस्तक नभएर भाषिक विषयमा लेखिएको एउटा सन्दर्भ सामग्री हो । हाम्रो देशले नीति, ऐन, कानुन तथा संविधानतः भाषाको संरक्षण, संवद्र्धन र विकास गर्न पहल नगर्ने हो भने कुसुन्डा भाषा जसरी भाषिक गरिमा लोप हुने खतरालाई यस पुस्तकमा सुझाइएको छ । नेपालमा ओह्रालो गतिमा लागेका भाषाको रक्षा नगर्दाको परिणाम के होला ? अनि, यिनलाई जोगाउने दायित्व कसको हो ?

जहाँ पैसा कमाइ हुँदैन त्यसलाई मान्छेले वास्तै गर्दैन । तथापि, भाषाको मूल्य पैसाभन्दा मास्तिर पहिचानका सन्दर्भमा निहित हुन्छ । नेपालको बहुभाषिक समाजलाई एउटै मालामा गाँस्ने आधारका बारेमा सोच्ने हो भने हाम्रो मुलुकले प्रभावकारी भाषानीति र योजनाका तहमा ठोस कदम चाल्नु आवश्यक छ । भाषाको महत्तालाई कति मानिसले बोध गर्लान् ? भाषा जोगाउनु भनेको मुलुकको गरिमा र स्वाभिमानको रक्षा गर्नु हो । भाषिक गरिमालाई हरेक नागरिकले हृदयबाट मनन गर्ने परिवेशलाई राज्यले तय गर्नुपर्छ । यसर्थ १२९ वटा भाषाको धनी हाम्रो मुलुकले बहुभाषिक गरिमालाई सोच्नुपर्छ । यद्यपि यो पुस्तकले १२९ भाषामध्ये थुप्रै विदेशी भाषालाई मातृभाषाकै कित्तामा राख्नुलाई त्रुटि भएको भनेर ठहर गरेको छ । विदेशी भाषाको प्रभावमा परेर नेपाली भाषा र मातृभाषाको गरिमा धराशायी भएका तथ्यलाई यस पुस्तकले उजागर गरेको पाएँ ।

आठवटा एकाइमा पृथक्–पृथक् सन्दर्भलाई गाँसिएको यस पुस्तकमा उठाइएको सन्दर्भलाई नेपालले हलुका रूपमा लिनु हुँदैन । यो त भाषिक सम्पदा रक्षा गर्नुपर्ने सवाल हो । हामीले गर्व गर्ने आधार नै ढल्दै गयो भने हामी कति कुरूप होऊँला ? यो विचारणीय विषय पनि त हो । पुस्तकको एकाइ पाँचमा भाषा आयोगको स्थापना, कार्य र आवश्यकताका विषयले स्थान पाउनु अभैm नवीन कार्य हो । नेपालको सङ्घीय पद्धति अनुरूप मातृभाषाको रक्षार्थ भाषावेत्ता र सरोकारहरू एकै छानामुनि बस्नलाई अभिप्रेरित गरिएको यस पुस्तकले भाषा आयोग, तथ्याङ्क विभाग, नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा अनुसन्धान केन्द्रहरू, प्रादेशिक निकाय तथा स्थानीय सरकार लगायत भाषाका सरोकारवालालाई झक्झक्याउन खोजेको देखिन्छ । भाषाका अध्येता, भाषिक विषयमा चिन्ता र चासो राख्ने वा सरोकार राख्ने तमाम वर्गका लागि यो पुस्तक लाभदायक रहेको छ ।
लेखकद्वारा उठाइएको विषयले विकेन्द्रीकरणको विकास र समृद्धिका लागि नेपालको नीति र योजनामा एउटा अर्को नयाँ आधार प्रदान गरेको प्रतीत हुन्छ । समृद्ध नेपाल र सुखी नेपालीका लागि भाषा र संस्कृतिको महत्ता पनि गाँसिन्छ । समाज भाषामा बाँधिन्छ तसर्थ भाषिक उन्नयनका लागि मातृभाषाका सबै समुदायहरू एकढिक्का भएर एकै लक्ष्यमा कटिबद्ध हुन पनि यो पुस्तकले सुझाएको छ । अनि लाग्यो यो एउटा नवीन सोचको थालनी भएको छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा दर्शनाचार्यमा अध्ययनरत छिन् ।)

पुनश्च :
पुस्तक : नेपालको भाषानीति र योजना आधार
लेखक: प्रा.डा. राजेन्द्रप्रसाद पौडेल र रमेश भट्टराई ‘सहृदयी’
प्रकाशक : इन्टेलेक्चुअल्ज बुक प्यालेस, कीर्तिपुर
पृष्ठ : २८३
मूल्य : ४२५ रुपैयाँ

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया