शैलु दिदी ( कथा)

अन‌ि यो पनि

पेशल आचार्य

‘अन्ततः शैलु दिदी गुमनाम मृत्यु मरिन् ।’
शम्भुले आँखामा गहभरि आँसु पार्दै भने । मलाई शैलु दिदीको मृत्युको खबरमा एकप्रकारको नमीठो पीडा त अघिदेखि छँदै थियो, फेरि शम्भुको शोकमग्न भावमुद्रा देख्दा असाध्यै दुःख लागेर आयो ।
शम्भु मेरो हितैषी मित्र हो ।
हुन त, उसको शैलु दिदीसँग रगतको नाता छैन । उसका घरभरि आफ्नै दिदीबहिनीको ताँती छ ।
शम्भुलाई शैलु दिदीको असामयिक निधनले निकै बिथोल्यो ।

उसको आफ्नै सानो भए पनि घरपरिवार छ । ऊ कसैको लोग्ने हो, कसैको पिता र कसैको पुत्र हो । राजधानीको रैथाने शम्भुलाई एकसरो लाउन–खान पनि अभाव छैन । उसका साथीसँगीहरु पनि निकै छन् । तिनीहरु सहरमा आ–आफ्नो पेसामा रमेका छन् । जमेका छन् ।
ऊ पनि सहरमा रमेको थियो । उसले उसको भनाइअनुसार नै चाहेजति पढ्न सकेन रे ! त्यतिखेर पनि काठमाडौँमा घरैपिच्छे प्लस टु र टोलैपिच्छे क्याम्पसहरु थिए ।

‘शिक्षालय भएर के गर्नु मानिसलाई पढ्न नआएपछि कसको के लाग्छ र ?’ शम्भुले मलाई फेरि भन्यो ।
उसका बा सहरमा मजदुर थिए । आफूले नसकेपछि उसका बाले शम्भुलाई धेरै पढाएर वकिल बनाउने सपना उनको मुटुको अन्तरकुन्तरमा राखेका थिए । तर, शम्भुले आशातीतरुपमा पढाइमा प्रगति गर्न नसकेपछि उनले एकदिन विरक्त हुँदै भनेका थिए, ‘हाम्रो मुद्दाको यस्तो झन्झटले गर्दा शम्भुलाई मैले वकिल भएर कालो कोटमा रमाउने मानिस देखेको थिएँ ।’ त्यो दिन उसले बाबुको मुखमा मलिन भाव पढेको थियो । के गर्नु इच्छा नभएर होइन भएरै पनि उसले उसको बाबुले भनेजति गरी वकिल पढ्न सकेन ।
उसलाई आज शैलु दिदीको मृत्युको खबरले उसको दिवंगत बाबुको सपनाको पत्र फेरि नयाँ बनाएर कलेजोमा तिखो गरी प्रहार गरिरहेछ ।

बाबुले उसको आँखाबाट संसार हेर्ने कोसिस गरेका थिए । ऊ शैलु दिदीको सहयोगबाट आफ्नो छोराको इन्जिनियर बन्ने सपना देखिरहेको छ । तर, दुवै सपनाका महलहरुमा नराम्ररी हुरी आयो र ती सिसाझैँ फुटे । उसका बाका सपना त तुहिए तुहिए, अब उसको सपनामा पनि नराम्ररी तुषारो प¥यो ।
शम्भुले मलाई भन्यो, ‘उसको शैलु दिदीसँग भेट त्यस्तै पचपन्न सालमा मित्रपार्कनेर भएको रहेछ ।’ शैलु दिदी त्यतिखेर मन्त्री हुनुहुन्थ्यो ।

उसले शैलु दिदीसँग भएको अप्रत्याशित भेटबारे बताएको थियो, ‘पचपन्न सालतिरको कुरा हो । म एक जना साथीसँग मित्रपार्कतिर जाँदै थिए । मित्रपार्कबाट एउटा झन्डावाल गाडी निस्कँदै थियो । गाडीभित्रकी महिलालाई देखेर मैले साथीलाई सोधेँ । ‘उहाँ शैलजा आचार्य होइन ?’ उसले ‘हो’ भन्यो । मैले सोधेँ, ‘म उहाँलाई नमस्ते गर्न सक्छु नि ?’ साथीले टाउको हल्लाएपछि सुरक्षाकर्मीहरुलाई पन्छाउँदै नजिकै गएर ‘मन्त्रीज्यू, नमस्कार’ भनेँ ।

उहाँले पनि ‘नमस्कार’ भन्नुभयो । त्यसबेला उहाँ उपप्रधानमन्त्री हुनुहुन्थ्यो । पार्टीका नेता र मन्त्रीहरुले साधारण मान्छेसँग कुरै गर्दैनन्, नमस्ते नै फर्काउँदैनन् भन्ने सुनेको थिएँ तर शैलजालाई मैले सुनेँभन्दा बेग्लै पाएँ । उहाँको नाम मैले रेडियो र टिभीमा धेरै पहिलेदेखि सुन्दै आएको हुँ । उहाँ कस्ती मान्छे हुनुहोला भन्ने खुल्दुली पनि थियो तर त्यस दिनपछि म उहाँको प्रशंसक बनेँ ।’ यति भनिसक्दा पनि शम्भुका आँखाका डिलहरु फेरि त्यस्तै चौवन्न–पचपन्न सालतिरको च्छो रोल्पा हिमतालझैँ फुट्न फुट्न खोज्दै थिए । तर, यसपटक पनि उसले ती सहानुभूतिका अश्रुरसलाई बल गरेर आँखैमा दबायो । दुःखित भावले होला उसले त्यतिखेर आफ्ना दुवै ओठ दाँतले टोकेको थियो ।
००० ०००

शम्भुले फेरि अर्को दिन बतायो, ‘उपप्रधानमन्त्रीबाट हटेपछि उहाँको ड्राइभर मेरो काकाका छोरा लक्ष्मण हुनुहुन्थ्यो । उहाँलाई दिदीले अन्तै जागिर लगाइदिनु भएछ, तर मलाई थाहा थिएन । त्यतिबेला म मेरै ट्याक्सी चलाउँथे । मलाई आफ्नै संसारमा फुर्सद थिएन । मैले उहाँलाई बिसेर्को थिएँ । सहरमा यस्ता कति मानिसहरु छन् । तिनीहरुसँगको भेटलाई सधैँ सम्झिरहन पनि त सकिँदैन ।’

उसले फेरि बतायो, ‘पचपन्न सालकै मंसिरको अन्तिम हप्तातिरको एकदिन लक्ष्मण दाइले मलाई बिहानै आफ्नो घर बोलाउनुभयो । म गएपछि उहाँले ‘दिदीको घरमा जाऊँ’ भन्नुभयो । दिदीलाई ड्राइभर चाहिएको रहेछ । मलाई दिदीको घर गएपछि मात्र थाहा भयो । दाइले मलाई उहाँलाई चिनाउँदै भन्नुभयो, ‘यो मेरो भाइ हो, अब यसले गाडी चलाउँछ ।’
यसरी म दिदीको घर र गाडीसम्म पुगेको थिएँ ।

मैले काम गर्न थालेकै अर्को दिन दिदीले मलाई ‘हामी बीस–पच्चीस दिनलाई बाहिर जाँदै छौँ’ भन्नुभयो । मैले आफू काठमाडौँबाहिर नगएको कुरा उहाँलाई बताएँ । पछि थाहा भयो, उहाँ जिल्ला भ्रमणमा जान लाग्नुभएको रहेछ । अर्कै ड्राइभरले दिदीलाई जिल्लाबाहिर लग्यो ।

कार्यक्रम सकेपछि उहाँ फेरि राजधानी फर्कनुभयो । म बिहान सबेरै जान्थेँ र राति गाडीलाई थन्क्याइवरि घर फर्कन्थेँ । एकदिन दिदीले भन्नुभयो, ‘तिमीलाई अप्ठ्यारो भए यहीँ बस ।’ पछि म दिदीको घरमा त्यहीँ बसेँ ।
यसरी म त्यो घरको सदस्यझैँ भएको थिएँ । दिदी कम बोल्नुहुन्थ्यो । एकदिन उहाँले मलाई आफ्ना बारेमा सबै सोध्नुभयो, मैले नढाँटी भनिदिएँ, ‘मेरो बिहे भैसकेको छ । दुई जना छोराछोरी छन् ।’ दिदी असाध्यै हक्की र स्वाभिमानी खालकी मानिस हुनुहुँदो रहेछ । काम गर्दागर्दै मैले उहाँलाई चिनेँ । नेपालको राजनीतिमा यस्ती हक्की, स्पष्टवक्ता र निडर मानिस त्यसमा पनि महिला नेतृ मैले देखेको छैन । मेरो चुरोट खाने बानी थाहा पाएर उहाँकी आमा इन्दिराले मलाई निकै नराम्रो मान्नुभयो, तर दिदीले नै ‘खानेभए खाऊ तर पछाडिको कोठामा ढोका लगाएर खाऊ’ भन्दा उहाँकी आमाले उहाँलाई एकपटक गाली पनि गर्नुभयो । त्यो गालीले मलाई नराम्रो चोट पु¥याएपछि मैले चुरोटै खान छाडिदिएँ । मलाई निकै दिनसम्म पनि मेरा लागि शैलु दिदीले गाली खाएको कताकता मन परेन ।
००० ०००

दिनहरु त्यसरी नै बिते जसरी रत्नपार्कमा गुडेका र ट्राफिक जाममा परेका गाडीहरु रोकिँदै हिँड्दै गुड्ने गर्छन् । मैले दिदीलाई राम्ररी नै सेवा गरेको थिएँ । एकपटक दिदीकी आमा नराम्ररी बिरामी पर्नुभयो । त्यसबेलामा मैले मेरो मिसेजलाई उहाँकी आमाको हेरचाहमा पठाइदिएँ । यसरी मेरो मिसेज पनि त्यस घरकी सदस्य भएकी थिई । कहिलेकाहीँ मेरा छोराछोरीहरु पनि दिदीको घरमा जान्थे । त्यति ठूलो पद पाएकी भए पनि मेरा छोराछोरीसँग दिदी निकै मजाले गफिनुहुन्थ्यो ।

मलाई राम्रो लाग्थ्यो । मेरो छोराको पढाइ राम्रो भएकाले एकपटक दिदीले नै कुरा उप्काउनुभयो, ‘यसलाई राम्ररी एसएलसी पास गराऊ । म आफ्नै खर्चले इन्जिनियर पढाइदिन्छु ।’ यसो भन्दा त्यसबेला दिदीका आँखामा मैले भरोसाको भाव पढेको थिएँ ।

आज उहाँ असमयमै हामीलाई चटक्क छाडेर जानुहुँदा हामीलाई आफ्नै अभिभावक गुमाएझैँ लागिरहेछ । कतिपय मानिसहरु त उहाँको प्रगति देखेर डाह गर्थे । खासगरी, आफ्नै राजनीतिक पार्टीका सहकर्मीहरुलाई उहाँको भ्रष्टाचारविरोधी प्रवृत्ति उतिसाह्रो निको लागेको थिएन ।
एकपटक दिदीले मलाई भन्नुभएको थियो, ‘अब म सानुबाबुलाई भनेर भारतको राजदूतमा जान्छु ।’
‘शम्भु, तिमी पनि मसँग जानुपर्छ ।’ दिदीले त्यसोभन्दा मैले केही पनि प्रतिक्रिया जनाइनँ । पछि मैले सुस्तरी भनेको थिएँ, ‘म त जान्न होला दिदी, तर हजुरलाई सेवा गर्न मेरी मिसेजचाहिँ पठाउँछु ।’
दिदीले केही भन्नुभएन । खालि सुनिरहनुभयो, मात्र ।

एकप्रकारले उहाँ निकै हठी पनि हो । उहाँ आफ्नो तर्कमा अडिनुहुन्थ्यो । कसैले उहाँको अन्तरमनको आवाजलाई सुनेन भने उहाँ जस्तोसुकै निर्णय लिन पनि पछि पर्नु हुन्नथ्यो । जलस्रोत मन्त्री हुँदाको घटना रमाइलो छ । दिदी देशका ठूला बिजुली प्रोजेक्टको विरोधी हुनुहुन्थ्यो । उहाँ यस्ता विदेशी आयोजना गरिब देशले थेग्न नसक्ने भएकाले हामीले थोरै लगानीमा हुने साना जलविद्युत्मा लगानी गर्नुपर्छ भन्नुहुन्थ्यो । म त त्यस्ता नीतिगत कुरा बुझ्दिनथेँ तर बुझ्ने मानिसहरुले भनेको सुनेको छु । दिदीकै अडानका कारण साना जलविद्युत् नीति त्यतिखेरको सरकारले बाध्य भएर पारित गराएको थियो रे !

अलिअघि उहाँ कृषिमन्त्री हुँदा पनि मलको व्यापारमा हुने घोटालाको विरूद्धमा राम्रै गरी जमेर विरोधमा लाग्नुभएको थियो, तर सरकार नै माफियाहरुलाई संरक्षण दिने भएकाले दिदी त्यसपटक पनि असफल हुनुभएको थियो रे !
मुख्य कुरो त दिदी आफूलाई कसैले महिला भनेर कठैबरा भनी सान्त्वना दिएको एकरत्ति पनि मन पराउनु हुन्नथ्यो । उहाँ आफू महिला भएर कसैको पनि माया पाउनकै लागि मोरमोलाहिजा गर्न चाहनु हुन्नथ्यो । एक दशकको मेरो सेवामा उहाँले मलाई निकै शिक्षा दिएर जानुभएको छ । आफू जुनसुकै कार्यक्रममा जाँदा पनि उहाँ पहिला हामी सवारी चालकलाई खानापिनाको व्यवस्था गराएर मात्र आफू खानुहुन्थ्यो ।

उहाँ जे हुनुहुन्थ्यो त्यो छवि बाहिर देखिन्थेन । बाहिर देखिएको व्यक्तित्व आन्तरिकरुपमा भित्र उहाँको थिएन । कहिलेकाहीँ मलाई उहाँको यस्तो विरोधाभाषपूर्ण व्यक्तित्व निकै गूढ लाग्थ्यो । तर, मसँग त्यस्तो प्रवृत्तिको विश्लेषण गर्ने क्षमता थिएन । आखिर म एउटा सामान्य चालक न थिएँ ।
एकपटक म निकै बिरामी भएँ । मसँग औषधि गर्ने पैसा पनि थिएन । दिदीले नै त्यसबखत मलाई ओम नर्सिङ होममा लगेर उपचार गरी निको पार्नुभयो । एकप्रकारले भन्ने हो भने हाम्रो त उहाँ अभिभावक नै हुनुहुन्थ्यो ।
आज उहाँ बित्नुभएको भन्ने कुरा यो मनले स्वीकार्नै चाहिरहेको छैन ।

हुन त, धेरै मानिसहरु उहाँको मृत्युबाट भित्रभित्र खुसी पनि भैरहेका होलान् । अझ खासगरी कोइराला परिवारका लागि उहाँ बाटाको काँडा नै हुनुभएको ठान्थे, तिनीहरु । मेरो सोचमा दिदी त्यस्ती खालकी पटक्कै हुनुहुन्थेन । आफ्नो उन्नति आफैँ गर्ने स्वाभावकी र चाकरी–चाप्लुसी नगर्ने भएकैले उहाँ नेपाली राजनीतिको पछिल्लो समयमा निकै पाखा लगाइनुभयो । यो उहाँको जीवनको अर्कै पाटो हुन सक्छ ।

आज सबैभन्दा चिन्ता मलाई र मेरो छोरा सुयशलाई परेको छ । ऊ अहिले एसएलसी डिस्टिङ्सन स्थानमा पास भएर बाह्र कक्षा पढ्दै छ । उसको एउटा सफल इन्जिनियर हुने सपना अब कहिल्यै पूरा नहुने भएको छ । म उसलाई उसले भनेको विषय पढाउन सक्दिनँ । उसले त्यही कुरा बुझेकाले हिजोआज ऊ निकै स्याडो मुडमा छ । दिदी मरेको दिन ऊ त्यसरी भक्कानिएर रोला भन्ने मैले सोचेकै थिइनँ । उसका बाउआमा हामी छँदै थियौँ । उसको त त्यही सपना चुँडिएको थियो तर उसले देखाएको चिन्ता र उत्तेजनाले मलाई पनि त्यसदिन भित्रैदेखि हुँडलो मच्चाइदियो । म पनि गहभरि आँसु पारेर झोक्राइरहेँ ।
००० ०००
आर्यघाटमा उहाँको चिता जलिरहँदा मेरा मनमा अनेकौँ भावहरुले पिङ खलिरहेका थिए । यो हाम्रो समाज कस्तो जगमा उभिएको होला ? एउटा स्वाभिमानी मानिसलाई आफ्ना अन्तरआत्माको आवाज सुनेर काम गर्न पनि दिँदैन । अनि कसरी हुन्छ यहाँको सामाजिक उन्नति ! म सामान्य चालक भए पनि उहाँको करिबन एक दशकको संगतले गर्दा यस्ता कुराहरु पनि सोच्न सक्ने भैसकेको रहेछु ।
सम्झेँ । गहिरिएर सोचेँ ।

दिदी गम्भीरताकी धनी हुनुहुन्थ्यो । लामो यात्रामा गएका बेला या जिल्ला भ्रमणमा निस्केका बेला उहाँ प्रायः गाडीको अगाडिको सिटमा बस्नुहुन्थ्यो । म आराम गरेरै पछाडिको सिटमा बस्न अनुरोध गर्थें तर उहाँ भन्नुहुन्थ्यो, ‘अगाडिको सिटमा बस्ने मानिस निदायो भने चालकलाई पनि निद्रा लाग्छ । त्यसैले, तिमीलाई ननिदाउने बनाउन म अगाडि बसेकी हुँ ।’ म दिदीको यस्तो कुरालाई काट्न पनि सक्दिनथेँ । हो, हामी चालकलाई त्यस्तो फिलिङ हुन्छ पनि ।

‘आज मेँ उपर, आसमा निचे’ भन्ने हिन्दी गीत दिदीलाई निकै मन पथ्र्यो । यतिमात्र कहाँ हो र उहाँ हिन्दीका मुकेश, किशोरकुमार र मन्नाडेका उदासी भरिएका गीतलाई दोहो¥याई तेहे¥याई सुन्नुहुन्थ्यो । उहाँले आफूले सांसद् हुँदा पाएको सुविधाको पैसाबाट ललितपुरको भैँसेपाटीमा चार कोठाको घर बनाउन सुरू गर्नुभएको थियो, तर त्यो पूरा हुन नसकेपछि आफ्नी बहिनी मधुलिकाकी छोरीका नाममा नामसारी गरिदिनुभएको थियो ।

निकै अघि उहाँका भाइबुहारीले उहाँलाई आमाले दिएको अंशमा झमेला थप्न अंश मुद्दासमेत दिएका थिए । त्यसपछि दिदी ट्रेड युनियनका नेता लक्ष्मण बस्नेतले मित्रपार्कमा दिनुभएको एउटा घरको फ्ल्याटमा शरणार्थीजस्तै भएर बस्न लाग्नुभयो । उहाँले आमा इन्दिरालाई पाल्नुभएको थियो । बीचमा उहाँ एउटा अघोर पन्थी बाबाबाट दीक्षा लिएर पोखरामा अघोर आश्रम बनाउन पनि कम्मर कसेर जुट्नुभएको थियो । त्यो काम पनि पैसाको अभावमा त्यत्तिकै तुहियो । दिदीले आफ्ना लागिभन्दा सामान्य मान्छे र दुःखीलाई बढवा दिनुभएको कुरो कांग्रेसको राजनीति गर्नेहरुलाई पचेन । यसरी दिदी गुमनाम हुन पुग्नुभयो ।

उहाँको मृत्युको कारण उहाँको आफ्नै स्वाभिमान रहेछ ।
मैले चालक भएर बुझेको गुह्य यही हो ।
शम्भुले यसरी शैलु दिदीका व्यक्तिगत र सामाजिक इच्छाहरुको लामो फेहरिस्त मेरासामु प्रस्तुत गर्दा कसोकसो मेरा आँखामा पनि फुटेको सप्तकोसीको बाँधझैँ टिलपिल टिलपिल आँसु छचल्किरहेका थिए ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

रत्ननगर र कालिकाका सुकुम्बासीलाई गैरसरकारी संस्थाको राहत

चितवन ०८ असार । अ ड्रप अफ लाइफ हङकङले कम्युनिटि रिसोर्स सेन्टर नेपाल (सिआरसिएन)को समन्वय र नेवाज मल्टिप्रपोज सोसाइटीको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया