भ्रम अनि यथार्थतामा हामी ( कविता)

अन‌ि यो पनि

हामी कस्ता कस्ता कुरामा
भुलिरहेका छौँ
हामी कता कता कुनामा
डुलिरहेका छौँ
मुटु जस्तोसुकै होस्
तर बनावटी किरिम
नाटकीय पिरिमबिना
बाँच्नै नसक्ने गरी
आफ्नो अस्तित्व के जान्दै नजानी
मुखौटामा झुमिरहेका छौँ ।

हिजो जसबिना बाँच्न सक्दैनथ्यौँ
आज चिन्न पनि कठिन मान्छौँ
हिजो जो आफ्नो अभिन्न थियो
आज भिन्न अनि अभीष्ट ठान्छौँ
जीवन त्यस्तो बडो के पो हो र
मात्र एक यथार्थ भोगाइको
तमसुक हो, पुर्जा हो
जो एउटा आवरण ढाकेर राम्रा हुन
भ्रममै वाचा भाकेर हाम्रा हुन
दौडिरहेका छौँ, दौडिरहेका छौँ ।

स्नान गर्दा, आफूलाई महसुस गर्दा
आफूलाई नियाल्नु एक्लै हुँदा
अरुको जस्तो छ मेरो त्यस्तै त हो
अरु जो छ म त्यही त हो
चारखुट्टेको जुनी पाएर पनि
दुई खुट्टामा उभिएको
यहीमात्रै त फरक हो
तैपनि किन केको
साह्रो घमण्ड छ हामीमा
त्यस्तो के पो छ र !
फगत एक जन्तुजस्तै देखिने त हो ।

तैपनि सोह्र श्रृङ्गार गरीकन
दुनियाँका झूटा प्रशंसा पाउँदा
किन मख्ख छौँ
आफैँले आफैँलाई मपाइँ भनीकन
बेतुकीय पारामा हुँदा दङदङ
आफूभित्रको दानव खोज्नेतिर
त्यसको अस्तित्व स्वाह होम्नेतिर
खोजी गर्ने कहिले कि यस्तै हो
जुनिभरमात्रै देखावटी मुस्कान
अन्तरआत्माको लहु ठुस्कान
बनाई सारा अस्तित्व दुष्काम ।

के गर्व गर्छौ हे मनुष्य !
हामीमात्रै अस्तित्वका खानी होइनौँ
हामी नभए पनि धरती फुल्न छाड्दैन
हामी नभए पनि सूर्य झुल्कन छाड्दैन
खोली बगिरहन्छ, आकास हेरिरहन्छ
हामी एक नहुँदैमा वा कोही पनि नहुँदैमा
संसार रोकिँदैन
दुई पैसा कमाउँदैमा, आइफोन समाउँदैमा
हाम्रो जीवन सफल भएको नठानौँ
जिन्दगी अलग हो, त्याग तिम्रो अभिमान !

सोचलाई सलामी गरौँ
देहत्यागपछि मलामी गरौँ
बाचुञ्जेली जीवन रमाइलो गरौँ
राम्रो गरौँ सकभर राम्रो गरौँ
नसके नराम्रो कसैको नगरौँ
हाम्रो आवरण चाउरी पर्ने दिन आउँछ
हाम्रो विवरण कौडी पर्ने दिन आउँछ
रुप र बैँसको धूपमा ऐना धेरै नहेर
त्यो पनि एकदिन बेकार हुने दिन आउँछ
सन्ततिले छिःछिः
अनि धिक्कार गर्ने दिन आउँछ ।

राम्रो लाउँदैमा राम्रो भइँदैन
मीठो खाँदैमा स्वस्थ भइँदैन
चार प्रहर ठुस्केर
बिनायात्रामै जिन्दगी फालिदिँदा
जन्मेको अर्थ रहँदैन
सोचको खेती गर्दा सोच थपिन्छ
बिना सोचको खेती गर्दा बोझ थपिन्छ
फरक बन्ने बहानामा आफ्नोपन त्यागेर
मौन रहने बहनामा कठपुतली बनेर
जिन्दगीको उद्देश्य भेटिँदैन
तसर्थ, बाँचौँ विचारको खेती गरेर ।

 

प्रतिकृया

मुख्य समाचार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई राहत दिन माग

रत्ननगर । सोमबार जंगलमा निउरो टिन गएकी रत्ननगर-५ मगरटोलकी गीता अधिकारीको बाघको आक्रमणबाट निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया